मूल्यवृद्धि खुम्चियो
काठमाडौं : आम उपभोगमा आएको कमीका कारण यो वर्ष औसत मूल्यवृद्धि ३ प्रतिशतभन्दा कम देखिएको छ। साउनदेखि मंसिरसम्मको अवधिमा मूल्यवृद्धिको दर नेपाल राष्ट्र बैंकको अनुमानको आधा पनि नभएको देखिएको हो। यसले कोरोना महामारीको असरबाट बाहिर निस्कने कोसिस गरिरहेको अर्थतन्त्र अझै पनि पर्याप्त गतिशील हुन नसकेको देखिएको छ।
नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रका मुख्य सूचक दर्शाउने गरी प्रकाशन गरेको मासिक प्रतिवेदनले यस्तो देखाएको हो। माग घटेपछि विक्रेताबीच हुने प्रतिस्पर्धाले मूल्यवृद्धि कम हुनु, राष्ट्रिय उद्योग व्यवसायको सञ्चालन अवरुद्ध रहनु नै र आयात व्यापारमा समेत निरन्तर कमी आउनुले अर्थव्यवस्थाको गतिशीलता कमजोर भएको छ। केन्द्रीय बैंकले गत मंगलबार मात्रै कोरोना महामारीको असरबारे एक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनले ठूलो पुँजी लगानी गरिएका कम्पनीको पुनरुत्थान सन्तोषजनक भए पनि अधिकांश साना उद्योग व्यवसाय अझै महामारीको असरबाट बाहिर निस्कन कठिनाइ भोगिरहेको देखाएको थियो।
बुधबार प्रकाशित मासिक प्रतिवेदनले पनि गत साउनदेखि मंसिरबीचमा आयात व्यापार पोहोरभन्दा साढे ९ प्रतिशत घटेको देखाएको छ। अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नलगायत वस्तुको भाउ बढ्दासमेत आयातमा खर्चने रकम घट्नुको मतलव हामीले पोहोरभन्दा ज्यादै कम सामान मात्रै यो वर्ष भित्र्याउन सकेका छौं। हाम्रोजस्तो आयातित वस्तुमा निर्भर उपभोग बजारमा समेत आयात घट्नुले अर्थतन्त्रलाई निकै ठूलो समस्या खडा गरिदिन्छ। मूलतः आयात खुम्चिँदा अघिकांश थोक तथा खुद्रा व्यापारीको आम्दानी घट्छ। औद्योगिक कच्चापदार्थको आयात घट्दा एकातिर उद्योगको उत्पादन कम हुन्छ भने ती उद्योगमा काम गर्ने श्रमिक बेरोजगार हुन्छन् । व्यापारिक चक्र अवरुद्ध हुँदा पैसाको गतिशीलताबाट बढ्ने सम्पत्ति पनि बढ्न सक्तैन। यी सबै कुराले मुलुकको आर्थिक वृद्धिलाई प्रभाव पार्ने हुन्छ।
विगतमा मूल्यवृद्धि बढी भयो भनेर चिन्ता जनाउने अवस्था थियो भने अहिले मूल्यवृद्धि कम भयो भनेर चिन्ता गर्नुपर्ने अवस्था आएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । कोरोनाका कारण धेरै मानिसको आम्दानी घटेको र आय हुनेले पनि सेयर बजारमा लगानी गर्ने र बैंकमा पैसा सञ्चित गर्नेतिर आकर्षित भएको देखिएको छ। यसले अर्थतन्त्र चलायमान बनाउन कठिनाइ पर्ने र महामारीपछिको पुनरुत्थानमा धेरै समय लाग्न सक्ने देखिन्छ। गत साता विश्व बैंकले पनि दक्षिण एसियाका छिमेकी मुलुकभन्दा नेपाललाई आर्थिक पुनरुत्थानमा बढी समय खर्चनुपर्ने देखाएको थियो।
खुम्चियो नाफा
राष्ट्र बैंकको प्रतिवेदनले खुद्रा व्यापारीको नाफामा निकै ठूलो असर परेको देखाएको छ। यो वर्ष खुद्रा बजारको मूल्यवृद्धि (मुद्रास्फीति) २.९३ प्रतिशतमात्रै बढेको छ। जबकि थोक मुद्रास्फीति ७.४६ प्रतिशत बढेको छ। यसको मतलव गत वर्ष होलसेलमा एक सय रुपैयाँ तिर्नुपर्ने वस्तुलाई यो वर्ष १०७ रुपैयाँ ४६ पैसा तिर्नु परेको छ।
तर, खुद्रा पसलले पोहोर एक सय रुपैयाँमा बेचेको वस्तुबाट यो वर्ष १०३ रुपैयाँ पनि लिन सकेका छैनन्। यस्तो अवस्थाले खुद्रा व्यापारीको नाफा (मार्जिन) कम हुन जान्छ। एकातिर सामान नै कम विक्ने, त्यसमाथि पनि मार्जिन कम गर्नुपर्ने अवस्थाले खुद्रा व्यापार धराशायी हुन सक्ने अवस्था छ।