अन्तरदेशीय पाइप लाइनमा दुलो पारेर इन्धन चोरी !

अन्तरदेशीय पाइप लाइनमा दुलो पारेर इन्धन चोरी  !

काठमाडौं : भारतबाट नेपालमा इन्धन आयात गर्दै आएको दक्षिण एशियाको पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमा दुलो पारी इन्धन चोरी भएको छ। 

बिहारको पटनादेखि सिवान र मोतिहारी भएर बाराको अमलेखगञ्ज क्षेत्रीय डिपोसम्म आइपुगेको उक्त पाइपलाइनअन्तर्गत सिवान क्षेत्रमा दुलो पारी इन्धन चोरी भएको हो। 

अमलेखगञ्ज डिपो प्रमुख तथा पेट्रोलियम पाइपलाइन आयोजना प्रमुख भरत रेग्मीकाअनुसार भारतीय क्षेत्रमा ओछ्याइएको करिब १० इन्च व्यास भएको पाइप लाइनमा ड्रिल मेसिनबाट दुलो बनाएर अर्को पाइप जोेडी डिजेल चोरी भएको हो।

रक्सौंल नाकादेखि करिब १०० किलोमिटर टाढा सिवानको लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँस्थित पाइपलाइनमा यस्तो दुलो बनाएर इन्धन चोरी भएको हो। यो घटना बुधबार नै भएको बताइएको छ। 

रेग्मीकाअनुसार बुधबार नै अमलेखगञ्ज डिपोमा पाइपलाइनबाट आउने डिजेलको प्रेसर निक्कै कम थियो। मोतिहारी–सिबान खण्डको पाइपलाइनमा पनि प्रेसर निक्कै कम भेटिएपछि कम्प्युटरको सहयोगमा उक्त प्राविधिक गडबढीबारे अध्ययन गरिएको थियो। प्रेसर कम हुनुमा पाइपलाइन लिक हुनु, दुलो पर्नुलगायतका प्राविधिक समस्याका कारण हुने गर्छ। 

‘पाइपलाइनमा प्रेसर निक्कै कम देखिएपछि सबैतिर खोजबिन गर्न सुरु भयो,’ रेग्मीले भने, ‘हामीले इण्डियन आयल कर्पोरेशनका अधिकारीलाई पनि पाइपलाइनमा प्रेसर निक्कै तल झरेको जानकारी गरायौं, यो सूचनाको आधारमा उनीहरु भारततर्फ खोजबीन गर्ने क्रममा सिबानको एउटा खेतमुनी रहेको पाइपलाइनमा दुलो पारी इन्धन चोरी भएको प्रमाण फेला पारेका थिए।’ 

दुलो पारिएको पाइपलाइनमा अर्को सानो व्यास भएको पाइप जोडिएको थियो। जसबाट डिजेल बाहिर निस्केर खेतभरी फैलिएको थियो। भारतीय प्राविधिक टोलीले तत्कालै दुलो भएको स्थानमा सुधार गरी पूर्ववत् रुपमा इन्धन आपूर्तिलाई निरन्तरता दिएका छन्।

पाइपलाइनबाट पूर्ववत् रुपमा प्रति घण्टा अढाई लाख लिटर डिजेल आयात भइरहेको रेग्मीले जानकारी दिए। पाइपलाइनमार्फत आउने इन्धनको परिमाण रक्सौल र अमलेखगञ्जमा जडान गरिएको फ्लो मिटरबाट जाँच गरी प्राप्त परिमाणको भुक्तानी निगमले इण्डियन आयल कर्पोरेशनलाई दिँदै आएको छ।

पाइपलाइनमा ड्रिल मेसिनबाट दुलो बनाएर इन्धन चोरी भएको भारतमा पहिलो घटना भएको भारतीय अखबार नवभारत टाइम्सले जनाएको छ। 

दुलो बनाएर इन्धन चोरी हुँदा इण्डियन आयल कर्पोरेशनलाई करोडौं मूल्यबराबरको घाटा भएको उक्त अखवारले उल्लेख गरेको छ। इन्धन चोरी गर्ने गिरोहले ठूलो चोरी गर्ने उद्देश्य राखे पनि समयमै घटना बाहिर आएको थियो।

भारतीय अखबारकाअनुसार जमिनभन्दा  करिब ४ फिट तल गाडिएको पाइपलाइनमा दुलो बनाएर जोडिएको अर्को पाइपलाई पनि माटोले छोपेर राखिएको थियो। जोडिएको पाइपबाट इन्धन लिक नहुने उद्देश्यले चोरी गर्ने गिरोहले त्यसमा स्वचालित लक सिस्टम पनि जडान गरेका थिए।

सन् २०१९ सेप्टेम्बर १० तारिखका दिन नेपालका प्रधानमन्त्री केपी ओली काठमाडौंबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट संयुक्त रुपमा रिमोट प्रयोग गरी यो पाइपलाइनबाट इन्धन आउने कामको उदघाट्न गरेका थिए। 

हाल यो पाइपलाइनबाट डिजेल आयात भइरहेको छ भने केही समयपछि पेट्रोल समेत आयात गर्ने गरी दु्रतगतिमा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.