इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प : एउटै सहरका ३५ जनाको मृत्यु

इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प : एउटै सहरका ३५ जनाको मृत्यु

जकार्ता : इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट मजिना सहरमा ३५ जनाको मृत्यु भएको छ । सयौं घाइते भएका छन् भने कैयौं भग्नावशेषमा च्यापिएका छन् । इन्डोनेसियाली अधिकारीले भूकम्प अझै आउनसक्ने र सुनामी पनि आउनसक्ने चेतावनी दिएका छन् ।

इन्डोनेसियाको पूर्वी टापु सुलावेसीमा ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो । शक्तिशाली भूकम्पपछि पनि दर्जनौं परकम्प गएका अमेरिकी समाचार एजेन्सी रोयटर्सले जनाएको छ । सुलावेसीस्थित सहर मजिनाबाट करिब ६ किलोमिटर उत्तरपूर्वमा भूकम्पको केन्द्रविन्दु रहेको छ । केन्द्रविन्दु जमिनको सतहबाट १० किलोमिटर मात्र मुनि रहेको छ ।  

स्थानीय समयअनुसार राति करिब डेढ बजे भूकम्प गएपछि हजारौं स्थानीय घरबाट भागेर अग्ला ठाउँतिर गएका थिए । भूकम्प र परकम्पबाट ३ सयभन्दा बढी घर भत्किएका छन् । एउटा अस्पताल धुलोपीठो भएको छ भने प्रान्तीय गभर्नरको कार्यालयको भग्नावशेषमा अनेकौं मानिस च्यापिएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

'ईश्वरलाई लाखौंलाख धन्यवाद छ, हामी बाँच्यौं,' त्यही क्षेत्रका बासिन्दा २६ बर्से सुक्री इफेन्डीले भने, 'तर अझै परकम्प गइरहेका छन् ।' पश्चिम सुलावेसीको विपद् व्यवस्थापन समितिका अध्यक्ष डार्नो मजिदका अनुसार मजिनाको छिमेकी जिल्ला मामुजुमा धेरैको मृत्यु भएको आशंका छ । उनका अनुसार मामुजुमा उद्धारकर्मी पुगेपछि मात्र  मृतकको संख्या एकिन हुनेछ ।

शक्तिशाली भूकम्पका कारण सुलावेसीमा ३ वटा पहिरो गएको छ भने विद्युत आपूर्ति र सञ्चार अवरुद्ध भएको छ । प्रान्तीय राजधानी जोड्ने पुल भत्किएका छन् ।

राष्ट्रिय विपद व्यवस्थापन समितिले मजिनामा ६ सय ३७ जना र मामुजुमा २४ जना घाइते भएको प्रारम्भीक विवरण दिएको छ । इन्डोनेसियाको मौसम तथा भूगर्भ विभाग बिएमकेजीका प्रमुख द्विकोरिता कर्णावतीका अनुसार अझै परकम्पहरू जाने छन् । 

उनका अनुसार अर्को शक्तिशाली भूकम्प जानसक्ने र भूकम्प गएमा सुनामी आउन सक्नेछ । उनले यसअघि बिहीबार ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको बताइन् । शुक्रबारको भूकम्पपछि कम्तिमा पनि २६ परकम्प गएको उनले जानकारी दिइन् ।

स्थानीय मोटरसाइकलमा अग्ला ठाउँतिर भागिरहेका अनेकौं भिडियो सामाजिक सञ्जालमा राखिएका छन् । एउटा भिडियोमा भने भग्नावशेषमा च्यापिएकी एक बालिकालाई हातले नै भग्नावशेष हटाएर बाहिर निकाल्न प्रयास गरिरहेको देखिन्छ । विपद व्यवस्थापन समितिका अनुसार करिब १५ हजार स्थानीय घर छाडेर भागेका छन् । यसबाट कोरोना संक्रमणको समेत त्रास बढाएको समितिले जनाएको छ ।

इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले मृतकप्रति समवेदना व्यक्त  गरेका छन् । उनले स्थानीयसँग नआत्तिन र प्रशासनलाई उद्धार तथा खोजीमा जुट्न आग्रह गरेका छन् ।

प्रशासनका लागि भूकम्पग्रस्त भूभागमा फेरि सञ्चार सम्पर्क कायम गर्न, खाद्यान्नसहित विस्थापितलाई औषधि, टेन्टलगायत सामग्री आपूर्ति गर्न र पुलहरू पुनर्निर्माण गर्न तत्कालको चुनौती भएको पश्चिम सुलावेसीको प्रान्तीय सरकारका प्रवक्ता सफरुद्धिनले बताए ।

'प्यासिफिक रिङ अफ फायर' भनिने प्रशान्त महासागरको अत्यन्त सक्रिय भूकम्पीय क्षेत्रमा पर्ने इन्डोनेसियामा नियमितजस्तै भूकम्प गइरहन्छन् । सन् २०१८ मा पनि त्यहाँ ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसको प्रभावले सुलावेसीकै पलु सहरमा आएको सुनामीले हजारौंको ज्यान लिएको थियो ।

सन् २००४ मा सुमात्राको उत्तरी भूभागमा ९ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पपछि इन्डोनेसिया, श्रीलंका, भारत, थाइल्यान्ड र छेउछाउका ९ देशको तटीय भूभागमा आएको सुनामीमा २ लाख ३० हजारभन्दा बढीको मृत्यु भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.