भूकम्प प्रतिरोधी घर निर्माणमा जोड दिन आवश्यक : गृहमन्त्री थापा
भक्तपुर : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भूकम्प आफैले नभई कमजोर भौतिक संरचनाको निर्माणले धनजनको क्षति हुँदै आएकाले भूकम्प प्रतिरोधी घर तथा भवन निर्माणमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
२३ औं भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका ८ बोडेस्थित कुमारी मन्दिर परिसरमा भएको राष्ट्रिय कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले उक्त आवश्यकता औंल्याएका हुन् ।
उनले भूकम्प प्रतिरोधी घरका नक्सामात्रै स्वीकृत गर्न नगरपालिका तथा गाउँपालिकालाई निर्देशनसमेत दिए ।
‘भूकम्पबाट हुने धनजनको क्षतिबाट जोगिने उपाय भनेकै भूकम्प प्रतिरोधी घर तथा भवन निर्माण गर्नु हो’, गृहमन्त्री थापाले भने, ‘त्यसैले हाम्रा नगरपालिका तथा गाउँपालिकाले भूकम्प प्रतिरोधी घरको नक्सामात्रै पास गर्नुपर्छ ।’
भूकम्प प्रतिरोधी घर तथा भवन निर्माणमा स्थानीय तह जिम्मेवार र कडा रुपमा प्रस्तुत हुनु जरुरी रहेकोमा गृहमन्त्री थापाले जोड दिए ।
उनले भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सम्पूर्ण निकाय र संघसंस्थाबीच आपसी सहकार्य, समन्वय र सहयोग हुनुपर्नेमा समेत जोड दिए ।
आपसी समन्वय, सहकार्य र सहयोगले मात्रै भूकम्पविरुद्ध दृढतापूर्वक लाग्न सकिने गृहमन्त्री थापाको भनाइ थियो ।
‘नेपालमा प्रत्येक ८० देखि १०० वर्षको बीचमा ठूला भूकम्प आइरहेकाले निरन्तर क्षति हुन नदिन हामी सदैव सचेत र तयारी अवस्थामा रहनुपर्छ’, उनले थपे, ‘भूकम्पबारे हामी सचेत र जागरुक भयौं भने यसबाट जोगिन सक्छौं । बढीभन्दा बढी क्षति हुनबाट बचाउन सक्छौं ।’
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्र्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २०७२ सालको भूकम्पले क्षति पुर्याएका करिब ८ लाख निजी आवासमध्ये हालसम्म ९१ प्रतिशत निर्माण पूरा भएको जानकारी दिए।
उनले भूकम्पपछि निजी आवास निर्माणले नेपालले पाएको उपलब्धि अन्तर्राट्रियस्तरमै उल्लेखनीय रहेको जिकिर गरे ।
भूकम्पले क्षति पु¥याए पनि नेपालले त्यसलाई अवसरको रुपमा सदुपयोग गर्न सफल भएको दावी गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको उपलब्धिलाई दस्तावेजीकरण गर्न ६० वटा अन्तर्राष्ट्रिय अनुसन्धानपत्रसमेत तयार भएको जानकारी दिए ।
‘भूकम्प प्रभावित २ सय ९९ वटा बस्ती स्थानान्तरण भएका छन्’, उनले भने, ‘एकसय ३० वटा एकीकृत बस्ती तयार भएका छन् । ४ हजार ६ सय २० वटा घर स्थानान्तरण भएर बनेका छन् ।’
२०७२ सालको भूकम्पपछि सरकारले निजी आवास निर्माण गर्न विकास गरेको तीन किस्तामा राहत उपलब्ध गराउने व्यवस्थाले बाढीपहिरो तथा भूमिहीनहरुलाई समेत आवासको लागि राहत दिने व्यवस्थाको सुनिश्चित गरेको उनको भनाइ थियो ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले २०७२ सालको भूकम्पलाई स्मरण गर्न धरहरासँगै भूकम्प संग्रहालय निर्माण गरिने जानकारी दिए ।
कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अर्जुन पोखरेलले नेपालमा भूकम्पले भन्दा गैरभूकम्पीय विपद्ले दुई गुणा बढी धनजनको क्षति पु¥याउँदै आएको स्पष्ट पारे ।
त्यसैले सरकारले विपद्बाट हुने जोखिम तथा क्षति न्यूनीकरणको कार्यलाई प्राथमिकता दिँदै आएको उनको भनाइ थियो ।
‘विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकारले स्वयंसेवक व्युरो निर्माण गर्ने अन्तिम तयारी गरेको छ’, कार्यकारी प्रमुख पोखरेलले भने, ‘नगरपालिका र गाउँपालिकाको वडास्तरसम्म व्युरो गठनको लागि कार्यविधि बनिसकेको छ । कार्यविधि पारित हुनेबित्तिकै वडास्तरसम्म व्युरो बिस्तार हुनेछ ।’
कार्यक्रममा गृहमन्त्री थापाले भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीको उद्घाटनसमेत गरेका थिए । त्यस्तै भ्रकम्पविरुद्ध दृढतापूवर्क लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
गृहमन्त्री थापालगायतले कार्यक्रमस्थलमै भूकम्प आउँदा घरभित्र रहेको अवस्थामा बच्ने उपाय ‘घुँडा टेकी गुडुल्की ओत लागी समात’ को अभ्याससमेत गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि भई आउने तय थियो तर उनी नआएपछि प्रधानमन्त्री ओलीले पठाएको लिखित सन्देश कार्यक्रममा बाचन गरेर सुनाइएको थियो ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवस भए पनि स्थानीय स्तरमा कार्यक्रमको संयोजन भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले गरेको थियो ।