चिसोमा परालको भर
जनकपुरधाम : सानो गुजमुज्ज परेको परालको एउटा झुपडी छ। रातभर चल्ने चिसो बतास र ओसले पराल पनि ओसिलो हुन्छ। त्यसमाथि च्यातिएका प्लास्टिकका बोरा ओछ्याएर जेनतेन शीतलहरमा रात काट्छन्, २८ वर्षीय भदैया सदा (मुसहर)।
जनकपुरधाम उपमहानगरपालिका–१४ मुसहरीका झन्डै ५० घरपरिवारको समस्या यस्तै छ। पाँच दिनदेखि घाम झुल्किएको छैन। बाक्लो हुस्सु र चिसो हावाको कहालीलाग्दो समयमा छ। यो पीडा गरिबलाई खपिनसक्नु छ। आगो ताप्न उनीहरूसँग न दाउरा छ न राति ओढेर सुत्नलाई सिरक। परालै ओछ्यान र सिरक बनाएर सुत्छन्, उनीहरू।
परालको घुर अनि परालै बालेर खाना पकाउँछन्, मुसहर परिवार। धनुषाको उपमहानगरपालिका–१४ स्थित मुसहरी टोलमा एकाधबाहेक अधिकांश घरपरिवारमा पनि सिरक छैन। नजिकै प्रदेश २ सरकारको कार्यालय छ। मन्त्रीहरूलाई कम्बल, सिरक, ब्ल्यांकेट, हिटर न्यायो त कति हो कति। तर, विडम्बना मन्त्रीको क्वार्टर नजिकैको बस्तीमा ओछ्यान र कम्बल छैन।
परिवारका ज्येष्ठ सदस्यले शीतलहर छल्न परालमै सुत्ने र परालकै चटाई ओढ्छन्। ‘१२ जनाको परिवारमा तीनओटा ओछ्यान र दुईओटा कम्बल मात्र छन्। कसरी खान्छौं, कसरी सुत्छौं, त्यो हामीलाई नै थाहा छैन,’ राजेन्द्र सदाले भने, ‘आर्थिक अवस्था कमजोर भएकाले बच्चाहरू लुगलुग काँप्छन्। हेरेर बस्नुपर्छ। आफू कमजोर भइयो कोसँग माग्ने ? चोरी गर्नु भएन। सरकारले हामीलाई दिँदैन,’ झन्डै ५० वटा गुजमुज्ज परेको झुप्रो घरहरूको बस्तीका ज्येष्ठ सदस्य सदाले दु :खेसो पोख्दै भने, ‘आगो ताप्न काठ, दाउरा पनि छैन। पराल तापेर गुजारा गर्नुपर्छ। त्यो पनि आफ्नो खेतबारीमा छैन, मालिकसँग मागेर ल्याउँदै काम चलाउँदै गरेको छुँ।’ चमार, डोम, मुसहर समुदायको बसोबास रहेको बस्तीमा कपडा नभएर थरथर काम्दैै गरेको उनीहरू घरको झुप्रामा पराल नै ओछ्याउने, परालकै सुकुलमा सुत्ने र ओढ्ने गरेका छन्। उनले भने, ‘आर्थिक अवस्था कमजोर छ, दाउरा किनेर सधैं खाना पकाउन सकिँदैन, परालकै सहारामा खाना पकाउनुपर्छ। जाडो महिना आयो भने फेरि त्यही पराललाई ओछ्यान बनाउनुपर्छ।’
परालको सुकुल ओछ्याएको देखाउँदै सानो बच्चा च्यापेकी मरनीदेवी सदाले भनिन्, ‘घर मे कुछो न है, रात मे पुवारके चटाई ओढके सुतै छियै, बड जाढ् लगै छै, लोक कहैछै, सरकार गाउँगाउँमे अलै त हमरा सभके कहाँ किछो देलकै ?, सदाले भनिन्, ‘सहरबजारतिर कम्बल बाँडेको सुनिन्छ, तर यहाँ कोही आउँदैन, अस्ति पनि जनकपुरमा कम्बल बाँडियो तर हामीसम्म त्यो आइपुग्दैन, हामीलाई कसले हेर्दिने ?’ मरनीदेवी सदा चार छोराछोरीसँगै झुपडीमा परालकै ओछ्यानमा शीतलहर काट्दै छिन्। छोराछोरीका लागि न्यानो लुगा जोहो गर्न पाए सजिलो हुने बताउँछिन्, उनी।
सोही बस्तीकी अर्की महिला शिवो सदायले जाडोयाममा पराल नै आफूहरूको सिरक र डस्ना भएको बताइन्। उनले मालिक (गिरहत)को खेतमा धान काट्नुभन्दा पहिले नै पराल दिनुपर्छ भन्ने सर्तमा धान काट्न गएको सुनाइन्। ‘अलिकति घाम लाग्यो भने, फूलबारी पसेर आँपको स्याउला र थोरबहुत दाउरा ल्याए घुर ताप्ने र खाना पकाउँछु।
दाउर पनि निकै महँगो पर्छ। खानु कि दाउरा किन्नु,’ उनले भनिन्। उनका आफ्नो खेत पनि छैन। अर्काको खेतबाट मागेर ल्याएको पराललाई जाडोमा ओढ्ने–ओेछ्याउने बनाएर जाडो छल्ने प्रयास गर्छिन्, उनी। उनीसँगै रहेका पुलकित सदाले थपे, ‘हामी गरिबलाई केही हुने होइन। शीत छल्न मुस्किल छ,’ बाँसले बनेको फुसको घर देखाउँदै उनले भने, ‘वर्षौंदेखि हाम्रो घर यस्तै छ, न छाप्रो न कुनै सहारा नै।’ विपन्न र दीनहीन दलित समुदायहरू मुसहरी टोलमा बसेको धेरै भयो। तर, कसैको आँखा परेको छैन, त्यहाँ। न गतिलो ओत छ न आङ ढाक्ने कपडा नै। काम पाएको दिन चुल्हो बल्छ नत्र भोकै सुत्ने गरेको अभीशप्त रहेको मुखिया सदाले बताए।
स्थानीय बोर्डिङ स्कुल सञ्चालन गरेर पढाउँदै आएका सञ्जीव महराले सरकारले विपन्न समुदायको सहयोगमा चासो नलिएको बताउँछन्। ‘कठ्यांग्रिदो चिसोमा कम्तीमा मुसहर बस्तीमा दाउरा र कम्बल वितरण गर्न सरकारले चासो देखाउनुपर्छ,’ महराले भने। सरकारको अभियान पनि सहर केन्द्रित छ। गाउँटोल र विपन्न परिवारलाई कसैले नहेरेको स्थानीयको गुनासो छ।
देशको सातै प्रदेशमध्ये सबैभन्दा उच्च गरिबीदर प्रदेश २ मा छ। प्रदेश नीति आयोगका अनुसार प्रदेशको सबैभन्दा बढी बहुआयामिक गरिबीदर झन्डै ४८ प्रतिशत छ। समग्र नेपालको २८.६ प्रतिशत बहुआयामिक गरिबी रहेकोमा प्रदेश २ मा मात्र झन्डै ४८ प्रतिशत गरिबी छ। बहुआयामिक गरिबी भन्नाले हरेक दृष्टिकोणबाट पछि परेको समूहलाई जनाउँछ। बस्ने, खाने, लगाउनेदेखि बिरामी हुँदा उपचारसम्म गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबको सूचीमा राखिन्छ।
यस्तै, आर्थिक गरिबी दर प्रदेशमा २७.७ प्रतिशत छ। यो पनि समग्र नेपालको भन्दा बढी हो। समग्र नेपालको आर्थिक गरिबी २५.२ प्रतिशत रहेकोमा प्रदेश २ सातै प्रदेशमा तेस्रो नम्बरमा छ। यो प्रदेश मानव विकास सूचकांकमा भने सातै प्रदेशको तल्लो पुछारमा छ। नेपालमा ०.४९० मानव विकास सूचकांकको दर रहे पनि प्रदेश २ को ०.४२१ प्रतिशत छ।