नेपालमा खोप प्रयोगको अनुमति

नेपालमा खोप प्रयोगको अनुमति

काठमाडौं : औषधि व्यवस्था विभागले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ। अक्सफोर्ड/एस्ट्राजेनेकासँग मिलेर बनाएको उक्त खोप नेपालमा प्रयोगको अनुमति पाउने पहिलो बनेको छ। यही खोप भारतमा शनिबार लगाउन सुरु गरिँदै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न बाटो खुलेको बताए। ‘नेपालको लागि अनुमति पाएको यो पहिलो खोप हो। यससँगै प्रयोग गर्ने बाटो खुलेको छ। यो खुसीको कुरा हो’, प्रवक्ता डा. गौतमले भने, ‘भारतबाट खोप उपलब्ध भएपछि तुरुन्तै खोप दिने कार्य सुरु हुन्छ।’

यो खोप नेपालमा भण्डारण गर्न उपयुक्त रहेको उनले जनाए। उनका अनुसार यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेडमा भण्डारण गर्न सकिन्छ। यस्तै, झन्डै २० प्रतिशत नागरिकका लागि कोभिसिल्ड भण्डारण गर्न सकिने पूर्वाधार रहेको उनले बताए।

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार नेपालमा २ देखि ८ डिग्री र माइनस २० डिग्रीमा भण्डारण हुने खोपका लागि पूर्वाधार व्यवस्था छ। अहिलेको खोपलाई आपत्कालीन प्रयोगका लागि अस्थायी अनुमति दिइएकाले ससर्त भनिएको शाखा प्रमुख डा. गौतमले बताए।
मन्त्रिपरिषद्को गत कात्तिक २४ गते बसेको बैठकले आकस्मिक प्रयोगका लागि स्वीकृत भएको खोप खरिद गरी प्राथमिकताका आधारमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो। औषधि व्यवस्था विभागले खोप दर्ताका लागि आह्वान गरिसकेको छ। 

मन्त्रालयका प्रवक्ता डा. गौतमले एउटै मुलुक वा कम्पनीबाट मात्र खोप ल्याउने योजना नरहेको जानकारी दिए। ‘जताततै (अन्य मुलुकमा) प्रयास गरिएको छ। एउटै मुलुकबाट वा कम्पनीको मात्र खोप हुनेजस्तो छैन’, उनले भने, ‘कसैले सबै नागरिकलाई पुग्ने गरी दियो भने झन् राम्रोे। त्यसो हुन नसके  विभिन्न कम्पनीको भए पनि खोप लगाउनुपर्छ।’ एउटै कम्पनीको उत्पादनले सबै नेपालीलाई नपुग्ने भएकोले विभिन्न मुलुकबाट ल्याउने योजना रहेको उनले सुनाए।
 
दातृ निकायलाई आह्वान

सरकारले कोरोना खोपका लागि बनाएको कोषमा योगदान गर्न विदेशी एवं दातृ निकायलाई आह्वान गरेको छ। खोप खरिद गर्न ठूलो रकम आवश्यक भएकाले दातृ निकाय, विदेशी, विभिन्न व्यावसायिक एवं सामाजिक र परोपकारी संस्था एवं फिलान्थ्रोपिक एसोसियसनलाई खोप कोषमा योगदान गर्न मन्त्रालयले बुधबार आग्रह गरेको हो।

अर्थ मन्त्रालयले कोराना खोपका लागि आवश्यक बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ। सबै नागरिकलाई निःशुल्क खोप लगाउन ४८ अर्ब लाग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। डा. गौतमका अनुसार विदेशी संस्था, विकासे साझेदार संस्था, च्यारिटेबल संघसंस्थाले पनि आर्थिक सहयोग गर्न चाहेका छन्। दातृ निकाय र संस्थाले दिएको आर्थिक सहयोगपछि भएको अपुग सरकारले व्यहोर्ने भएको छ। डा. गौतमले भने, ‘आर्थिक सहयोग गर्न चाहने संस्था एवं व्यक्तिलाई जम्मा गर्न अनुरोध गरिएको हो।’

संस्थाहरूले  विगतदेखि सहयोग गर्दै आएको र कोरोना खोपको लागि पनि सहयोग गर्ने मौखिक प्रतिबद्धता व्यक्त भएको उनले सुनाए। ‘सहयोगका लागि हामीले अनुरोध गरेका हौं। जसले जति सहयोग गर्छ त्यो लिने हो। कति सहयोग गर्छन् भन्ने अहिले यकिन भइसकेको छैन’, उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.