रोचक : अनुभवको विश्वविद्यालय

रोचक : अनुभवको विश्वविद्यालय

यात्रा जतिसुकै लामो भए पनि सुरु गरेपछि अवश्य पुगिन्छ, विश्वास गर्ने यही हो। विश्वासले नै हो सबै काम चल्ने। यात्रा जसरी गरे पनि सुरु हुने पाइतालाबाटै हो। यात्राबिना कोही पनि र केही पनि अगाडि बढ्न सक्दैन। नचाहे पनि यात्रा भइरहेकै हुन्छ जीवनको। देखिएर वा नदेखिएर।

रसिलो यात्रा सबैले चाहन्छन् तर निरस यात्रामा पनि ज्यान फालेर लागेको देख्दा अचम्म लाग्छ, रोचक घिमिरेको। परिणामबिना मान्छे केही गर्नै खोज्दैन। अरूको त के कुरा, नबोल्ने भगवान्को पूजा गर्दा त माग राख्छौं हामी। तर उहाँ भने उमेर बिर्सेर लागिरहनुभएको छ साहित्यिक पत्रकारितामा। उहाँले गरेको ‘रचना’ यात्रालाई ‘रिवाइन्ड’ गरेर हेर्ने, सुन्ने वा पढ्ने हो भने सबै छर्लंगै देखिन्छ। राम्रो काम गरेछ भन्ने अपवादै मात्र हुनसक्ला। नाफा नहेरीकन जीवन नै दाउमा लगाइरहने मान्छेको प्रशंसा त जसले पनि गरिदिन्छ, फोकटमा। आफ्नो जाने केही होइन।

यात्रा कहालीलाग्दो छ तर रोचक दाइ भने फलामको छाती बनाएर ढुक्कले बस्नुभएको छ। खुसीले गरेकाले हिजो पनि रमाइरहनुभएको थियो र आज पनि। दुई हजार अठार सालको मंसिरदेखि सतहत्तर मंसिरसम्म साठी वर्षको बूढो ‘रचना’लाई रचना गरिरहनुभएको छ। जन्माएर, हुर्काएर अहिले बुढ्यौलीमा पनि स्याहार गरिरहनुभएको छ। रचनाको अन्धोभक्त भएर लागिरहेकाले असी वर्षे उमेर पनि बिर्सिरहनु भएको छ। ‘रचना’को भारी बोकेर कहिल्यै थाकें भन्नुभएको छैन। अग्रजसँग मित्रता, अनुजसँग हार्दिकता।

सधैंका ताजा र सबैका लागि ताजा। भंग गर्न नसकेको प्रतिज्ञाजस्तो, उमेर बिर्सेर किन लागिरहनुभएको छ। न कुनै हिसाब गर्न सकिन्छ न कुनै किताब निकाल्न सकिन्छ। न लगानी, न प्रतिफल। न समय, न परिश्रमको कुरा। सायद सन्तोषको यात्रा भनेको यस्तै पो हो कि ? आत्मसुखको अघि जसले जति टाउको फुटाले पनि केही लाग्दैन। मन खुसी भएपछि कुनै क्यालकुलेटरको अंकको अर्थ पनि रहँदैन। जोड, घटाउ, गुणन, भागातिर नलागेपछि दुःखको बीउ पनि लाग्न पाउँदैन। यो एक प्रकारको तपस्या नै हो, हिजोका ऋषिमुनिले गर्ने र आजको तपस्या रोचक र रोचकहरूले गर्ने।

रोचकको नाम पनि रचना, काम पनि रचना, परिचय पनि रचना र प्रतिष्ठा पनि रचना र त्याग पनि रचना भनेपछि जीवन पनि रचना नै हो। रोचक र रचनालाई बुझ्न सकियो भने सिंगो नेपालको साहित्यिक पत्रकारितालाई बुझ्न सकिन्छ। मोतीराम भट्टले सुरु गर्र्दाको नेपाली साहित्यिक पत्रकारिता र रोचकले गरिरहनुभएको साहित्यिक पत्रिकारितामा खासै भिन्न हुन सकेको छैन। नाम, काम, मिति, प्रविधिबाहेक अरू कुनै कुरामा पनि फरक हुन सकिरहेको छैन। मोतीराम पत्रिकामा जे गुनासा गर्थे, ऋद्धिबहादुर पनि त्यही दोहोर्‍याउँथे र अहिले रोचकहरू पनि त्यही आवाज उठाइरहेका छन्।

नेपालमा साहित्यिक पत्रकारिताको इतिहास र वर्तमान एकै बनेको छ। जसरी ‘रचना’ हिजो र आज बनेको छ। त्यसैले रोचक दाइ साहित्यिक पत्रकारिताका योद्धा र वर्तमानका प्रतिनिधि पनि। विज्ञापन छैन, व्यवस्थित वितरक छैन, भरपर्दो बिक्रेता छैन, सत्ता र सरकारको कहिल्यै सुदृष्टि पर्दैन। झोलाबाट दिए लिने, पसलबाट नकिन्ने। सिर्जना छाप्न खोज्ने धेरै तर पाठक बढ्दै नबढ्ने। हिजो जति, आज पनि त्यति नै छापिने। पुस्तक किन्न सक्ने तर पत्रिका किन्न नसक्ने। साहित्यिक पत्रिकामा कस्तो संस्कार बसेको छ समाजमा। साहित्यिक पत्रकारिताको सबैभन्दा ठूलो दुर्भाग्य नै हो यो। राजनीतिलाई सतीको सराप लागेजस्तैै कहिले मोक्ष नहुने सरापै लागेको हो कि साहित्यमा पनि ?

देश कहाँबाट कहाँ पुगिसक्यो। व्यवस्था नै पटकपटक परिवर्तन भइसक्यो। हिजो श्रीपेच लाउने एकजना थिए, अहिले सयौं। केही न केहीका कहाँबाट कहाँ पुगिसके। नभएको केही छैन। तर साहित्यिक पत्रकारिता भने जस्ताको तस्तै, जहींको तहीं। पत्रिका किनिरहनुभन्दा पत्रिका नै निकाल्न हौस्याउने भैरव अर्याल। ‘रचना’को न्वारन गर्ने पनि उनी नै। ‘रचना’को मुहूर्त नै दोष थियो भनौं भने यसैको मात्र कुरो होइन। सबै साहित्यिक पत्रिकाको नियति उस्तै। साहित्यिक पत्रकारिता भनेको संघर्षशील पत्रकारिताभन्दा हुने भइसक्यो अब।

‘रचना’लाई हेरेपछि नेपाली साहित्यिक पत्रकारितालाई बुझिन्छ भनेको त्यत्तिकै होइन। त्यसैले ‘रचना’ र रोचक साहित्यिक पत्रकारिताका लागि अनुभवका खानीजस्तै भएका छन्। जति खने पनि नरित्तिने। नेपाल मात्र होइन, दक्षिण एसिया र विश्वकै लागि अनुभव र अध्ययन केन्द्रजस्तै बनेका छन्। विद्वान्, पण्डित, साहित्यकार पिता सोमनाथ घिमिरे ‘व्यास’ले व्यास प्रेस चलाए। सोमव्यास पुस्तकालयको व्यवस्था गरे। छोराले पनि रोचक पुस्तक सदन स्थापना गरे। रोचक दाइ पढ्नुहुन्छ, खुब पढ्नुहुन्छ। पुस्तक किन्नुहुन्छ, पत्रिका किन्नुहुन्छ तर आपूm भने सित्तै बाँड्नुहुन्छ। नहोस् पनि कसरी ? उहाँ जन्मँदा खुसीले बाउले नाटक लेखेर मञ्चन गरेछन् र छपाएछन्।

जन्मँदा मात्र पनि सिर्जनात्मक काम हुने मान्छे। रोचक दाइ जन्मेकै अक्षर केलाउन, अक्षर मिलाउन, ‘रचना’ निकाल्न र साहित्यिक पत्रकारिता गर्नजस्तो लाग्छ। आँखा खोलेदेखि छायाँजस्तै बनेको छ भाषासाहित्य। ‘रचना’ रोचकको अभिलेख हो। उदाहरण हो। आदर्श हो। यतिको त्याग, समर्पण सितिमिति कसैमा हुुन सक्दैन। बाली नलाग्ने खेतमा बीउ छरिरहेजस्तो। नफुल्ने बिरुवामा पानी र मल लगाइरहेजस्तो।

लाग्छ, रोचक र रोचकहरू राजनीतिमा लागेका भए कत्रो पद पाइसक्थ्यो होला। जागिर गरेका भए पनि उपल्लो दर्जामा पुग्थ्यो होला। व्यापार गरेका भए गहनापोखरीको जस्तो घर जग्गा कति ठाउँमा जोडिन्थ्यो होला। तर रोचक भने जहीँको त्यहीँ। उहाँजस्तो शालीन मान्छे, कम बोल्ने ,सधैं हाँसिरहने मान्छे त देवता बन्न मात्र सुहाउला कि केटाकेटी। नत्र त टिक्न गाह्रो छ। यहाँ मुखले एउटा बोलेर आँखाले अर्कै संकेत गर्ने टिकेका छन्। कलमले एक थोक लेखेर अर्को थोक व्यवहार गर्न सक्ने बिकेका छन्। एउटा कुरा गरेर अर्को काम गर्नेेले चर्चा पाइरहेका छन्। पावर देखाउन सक्ने, पाखुरा देखाउन सक्नेहरू मात्र हुन् बिक्ने, टिक्ने र प्रतिष्ठा पाउने।

पञ्चायत, बहुदल, लोकतन्त्र, गणतन्त्र जे भने पनि रोचकहरूका लागि टुलुटुलु हेर्नेभन्दा विकल्प निस्केन। दुखिया क्षेत्रमा लागेर पनि दुःखी नहुने मान्छेलाई के भन्ने ? बाध्यता हुँदै होइन, पेसा बन्नै सक्दैन।

पञ्चायत, बहुदल, लोकतन्त्र, गणतन्त्र जे भने पनि रोचकहरूका लागि टुलुटुलु हेर्नेभन्दा विकल्प निस्केन। दुखिया क्षेत्रमा लागेर पनि दुःखी नहुने मान्छेलाई के भन्ने ? बाध्यता हुँदै होइन, पेसा बन्नै सक्दैन। मनखुसीका लागि यति ठूलो त्याग गर्नसक्ने मान्छेलाई के भन्ने ? त्यसैले भनेको हुँ ‘रचना’ र जीवनप्रतिको निष्ठा नै रोचकको जीवनको सर्वोच्चता हो। कसैले के भने र कसले के भन्ला भन्ने होइन। आत्मसुखमा गरेको काम गर्दाको सन्तोषको मापन कसैले गर्न सक्दैन।

नत्र किन विदेशमा सुविधासम्पन्न जीवन बिताइरहेकाहरू हाम्रा डाँडाकाँडा चढ्न आउँछन् ? अप्ठेरा गोरेटो र घोडेटोमा हिँड्न आउँछन् ? हिमाल चढ्न आउँछन् ? त्यो पनि त्यत्तिकै हो र ? लाखौं खर्च गरेर। जीउज्यानको जोखिम त छँदै छ। उपनामलाई नाम बनाएर चम्काउन जान्ने मान्छे। ‘रचना’को पहिलो अंकका लागि रचना माग्न जाँदा भनिदिने भाषाशास्त्री महानन्द सापकोटाको बोली पनि ढुंगाको जस्तै रहेछ। आत्माराम, घनानाथ, जीएन अनेक भएर रोचक बन्नुभएजस्तै अरूको पनि न्वारन गर्नुभएको छ। शंकरप्रसाद श्रेष्ठलाई शैलेन्द्र साकार, पुरुषोत्तम रिसाललाई पुरु रिसाल बनाइदिने सामथ्र्य पनि देखाउनुभएकै छ।

‘रचना’ नामको पत्रिकारूपी नाउँले कतिलाई नदी वारपार गरेको होला ? ‘रचना’ भएर पहिलो प्रकाशन हुने लेखक कति होलान् ? ‘रचना’ भएरै चर्चित र स्थापित हुने कति होलान् ? यी सबै अभिलेख सम्भव भएका होलान् वा सार्थक भएका होलान् ? कतिजना त फोटो फ्रेममा सजिइसकेका पनि होलान्। कति त अहिले पनि चम्किरहेका होलान् ? रचना र रोचकलाई सहज नहोला तर ती पात्रलाई त भारी नहुनुपर्ने होइन र ? कति होलान्, ‘रचना’लाई श्रेय दिने ?

खोला तरेपछि लौरोे बिर्सने हाम्रो जीवन दर्शन नै बनिसकेको छ। अन्यथा रचनायात्रालाई अलिअलि साथ दिने हात भइदिएका भए कस्तो हुन्थ्यो होला ? हिजो त भएन भएन। आज हुँदा पनि कसैलाई सम्झने फुर्सद छैन। यो  ‘रचना’को मात्र कुरा होइन, सबै साहित्यिक पत्रकारिताको अवस्था यही र यस्तै हो। साहित्यिक पत्रिका निकाल्नु भनेको लेखक जन्माउनु हो। हुर्काउनु र पाइला टेकाइदिनु हो। लेखकको अभिभावक बन्नु हो। पत्रिका निकाल्नुको अर्को पाटो भने लेखकको चाकडी गर्नु, गुनासो सुन्नु, गाली खानु, अप्ठेरोमा पर्नु र अपमान सहनु पनि हो। गाँस काट्नु त छँदै छ।

तर पनि रोचक दाइ ‘रचना’को एकनासको धुनमा लागिरहनुभयो। जीवनको साठी वर्ष एउटै क्षेत्रमा। सुन्दा पनि अचम्म। उतारचढाव, घमण्ड, ईष्र्या प्रतिस्पर्धा केही छैन, न आत्तिएको न मात्तिएको। एकनासले बगिरहेको छ नदीजस्तै निरन्तर। थाहा छैन ‘रचना’लाई कतिले दुःख दिएका होलान्, बिगार्न, रोक्न र भड्काउन खोजेका होलान् तर सकेनन्। दुःखमा पनि सुखमा पनि। घाममा पनि झरीमा पनि। अभावमा अप्ठेरोमा निष्ठामा अलिकति पनि बादल लागेको छैन। ‘रचना’ उदाहरण र रोचक आदर्श त्यत्तिकै कहाँ बनेका हुन् र ? नदेखिने मनको के कुरा गर्नु ? अमूर्त चित्रको व्याख्या जस्तै। मूर्त पनि छन् सहयात्रीहरू। भैरव हास्यव्यंग्यका आदर्श बने। क्षेत्रप्रताप मन्त्री नै भए। कञ्चन मदन पुरस्कार विजेता बने। वासुदेव प्रज्ञा हाँक्ने भए। भाउपन्थी प्राज्ञ भए। परशु सिडिओ भए। यस्ता हुनेहरू धेरै छन् तर रोचक भने नाममै सीमित भइरहे।

साहित्य र साहित्यकारलाई सम्मान नगर्ने कमै होलान्। त्यसैलाई समाजमा ल्याइदिने, चिनाइदिने, स्थापित गरिदिने साहित्यिक पत्रकार भने पर्दापछाडिको पछाडि नै। सधैं अरूका लागि माध्यम बनिदिनुपर्ने। उक्लनलाई भर्‍याङ बनिदिनुपर्ने। अँध्यारोमा कोचिएर अरूलाई उज्यालो बाँडिरहनुपर्ने। कस्तो दुःखी क्षेत्रको जिम्मेवारी हो यो ? तुलनात्मक रूपमा लेखक बन्न गाह्रो छैन यहाँ। लागिपरेपछि नहुने केही छैन। अहिले त झन् लेखनदास बढेको बढ्यै छन्। अहिले त जति खर्च गर्नसक्यो त्यति राम्रो लेखक। खर्चअनुसारको लेखक। खर्चअनुसारकै समीक्षा र चर्चा। अनि के चाहियो र ? जीवनभरि साहित्यको ‘स’ नपढ्ने, नचिन्ने, सर्जकलाई उडाउने पनि लेखक बनेर बाँचेका छन् र छिट्टै मरेका पनि छन्।

अहिले लेखक बन्न गाह्रो छैन किनभने लेखक चिनाउने पत्रिकाहरू जति नै दुःखी भए पनि धर्म छाड्दैनन्। सम्पादन गरिदिने सम्पादकहरू काम छाड्दैनन्। यस्ता सम्पादक बन्नु सजिलो हुँदै होइन। अरूको भावनाको अभिलेखलाई आत्मसात् गर्न सक्ने, सिर्जनालाई सुन्दर बनाइदिन सक्ने, बिनापारिश्रमिक पूरै श्रम लगाउन सक्ने रोचकहरू त औंलामा गन्न पनि पाइँदैन। अक्षरलाई प्रेम नगर्नेहरूले कल्पना पनि गर्न सक्दैनन्। लाग्छ यो रोचकहरूकै काम हो। त्यसैले त रोचक अर्थअनुसारकै रोचक बनेको छ। त्यसैले त रोचक अनुभवको विश्वविद्यालय बनेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.