काठमाडौंबाट दैनिक चार मोटरसाइकल चोरी : चोरी हुनेमा पल्सर धेरै

काठमाडौंबाट दैनिक चार मोटरसाइकल चोरी : चोरी हुनेमा पल्सर धेरै

काठमाडौं : पछिल्ला दिनमा काठमाडौं उपत्यकाबाट दैनिक चारदेखि पाँच वटासम्म मोटरसाइकल चोरी हुने गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखामा दैनिक आउने उजुरीले यो तथ्यलाई पुष्टी गरेको छ। 

विशेष गरी वजाज कम्पनीको पल्सर मोटरसाइकल धेरै चोरी हुने गरेको महाशाखाले जनाएको छ। मंसिर महिनामा मात्रै उपत्यकाबाट एक सय ४३ वटा मोटरसाइकल चोरी भएको उजुरी महाशाखामा परेको थियो। चोरी भएका मोटरसाइकल मध्ये एक सय ११ वटा पल्सर मोटरसाइकल थिए। 

महाशाखाका अनुसार पुसमा एक सय ४७ वटा मोटरसाइकल चोरी भएको उजुरी परेका थिए। जसमध्ये एक सय १७ वटा पल्सर मोटरसाइकल चोरी भएका थिए। 

महाशाखाका अनुसार कार्तिकमा एक सय ११ वटा मोटरसाइकल चोरी भएका थिए। जसमध्ये ९३ वटा पल्सर चोरी भएका थिए। पल्सरपछि यमाहा कम्पनीका एफजेड, डुक, रोयल इन्फिल्ड, होण्डा कम्पनीका डिओ स्कुटर र साइन मोटरसाइकल चोरी हुने गरेको महाशाखामा आएका उजुरीले देखाउँछ। 

चोरी अनुपातमा भेटिने संख्या भने कमै देखिन्छ। महाशाखाले कार्तिकमा २९ वटा, मंसिरमा ३९ वटा र पुसमा ४४ वटा मोटरसाइकल भेटिएको जनाएको छ। यो वर्षको पुससम्म महाशाखाले एक सय १७ वटा मोटरसाइकल धनीलाई बुझाएको छ। चोरीमा संलग्न ३१ जना मानिस पक्राउ गरी मुद्दा चलाएको जानकारी महशाखा प्रमुख एसएसपी जनक भट्टराईले दिए। 
उनका अनुसार विशेष गरी अस्पतालका पार्किङबाट धेरै मोटरसाइकल चोरी हुँदै आएका छन्। यीसँगै ठूला डिपार्टमेन्ट स्टोरका पार्किङ, महानगरले नै ठाउँ छुट्याइदिएका सडक पार्किङ र घरको कम्पाउन्ड भित्रैबाट पनि मोटरसाइकल चोरी हुने गरेको महाशाखाले जनाएको छ। 

महाशाखा प्रमुख भट्टराईले भने,‘हामीले चोरीमा संलग्न गिरोहलाई पक्राउ गरिरहेकै छौं। चोरी हुन पनि छाडेको छैन। पछिल्ला दिनमा संकास्पद स्थानमा निगरानी बढाएपछि उजुरी आउने संख्या कम छ।’ 
 
पल्सर नै किन ? 

उपत्यकाबाट चोरी भएका मोटरसाइकल मध्ये २२० सीसीका पल्सर मोटरसाइकल धेरै चोरी हुनुका पछाडि दुई तीन वटा कारण छन्। महाशाखाका अनुसार पल्सर मोटरसाइकलको इन्जिनमार्फत पानी तान्ने मोटरको राम्रो काम गर्ने भएकाले गिरोहले चोरी गरी सस्तोमा बिक्री गर्दै आएका छन्। 

तीव्र गतिमा हुइकिने भएकाले पनि विशेष गरी पहाडी जिल्लामा चोरीका मोटरसाइकल धेरै बिक्री हुँदै आएको पक्राउ परेका अभियुक्तले प्रहरीलाई बयान दिएका छन्। काठमाडौंबाट चोरी भएको मोटरसाइकल, मकवानपुर, दोलखा, रामेछाप, चितवन लगायतका जिल्लामा नम्बर प्लेट फेलेर गिरोहले कौडीको भाउमा बिक्री गर्दै आएका छन्। ‘चोरको निशानामा पल्सर नै बढी छन्, यसको गति बढी, धेरै संख्यामा गुड्ने भएकाले र पार्टपूर्जासमेत बिक्री हुने भएपछि चोरको रोजाइमा पल्सर पर्ने गरेको हो।,

महाशाखाको इन्टलिजेन्स शाखाका एक ट्राफिक प्रहरीले भने,‘फलामे सानो हुकमार्फत सजिलै पल्सरको ताला फोड्न मिल्ने र चोरेपछि तीव्र गतिमा हुइँकिएर बेपत्ता पार्न सजिलो हुने भएकाले पनि चोरले पल्सर रोज्ने गरेको देखिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.