प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको देशव्यापी प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको देशव्यापी प्रदर्शन

काठमाडौं : नेपाली कांग्रेसले शनिबार प्रतिनिधिसभा विघटनको विरोध गर्दै सबै स्थानीय तहमा प्रदर्शन गरेको छ। यसअघि कांग्रेसले सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवाले देशव्यापी प्रदर्शनले सरकारको कदमविरुद्ध आमनागरिकको भावना अभिव्यक्त भएको दाबी गरेका छन्। ‘केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद् विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचारविरुद्ध देशव्यापी रूपमा भएको शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिव्यक्त गरेको छ’, देउवाले प्रेस विज्ञप्तिमा भनेका छन्।

कांग्रेसले माघ ८ गते ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्दै छ। सभापति देउवाले शनिबार साँझ विज्ञप्ति जारी गर्दै विरोध प्रदर्शनलाई थप व्यापक र प्रभावकारी बनाउन आग्रह गरेका छन्।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्रीको कदमविरुद्ध पार्टीले सशक्त आन्दोलन गर्ने चेतावनी दिए। नेता सिंहले कांग्रेस नेतृत्वमा संविधान बनेको उल्लेख गर्दै संविधानको रक्षा गर्ने दायित्व पनि कांग्रेसकै काँधमा भएको बताए।  वसन्तपुरमा आयोजित कार्यक्रममा उनले भने, ‘कांग्रेसको नेतृत्वमा संविधान जारी भएको हो। संसद्बाट निर्वाचित प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछन् भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन।’

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय जागरण अभियानको निरन्तरताका रूपमा कांग्रेस जनताबीच आएको बताए। डा. महतले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए।

अर्का नेता गगनकुमार थापाले प्रतिनिधिसभा विघटन कदम असंवैधानिक मात्रै नभएर अनधिकृत भएको दोहोर्‍याए। ‘हाम्रो संविधानले बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार दिएकै छैन’, महांकाल गाउँपालिकामा आयोजित कार्यक्रममा उनले भने, ‘यो हामीले नजानेर लेखेको होइन, जानेरै लेखेको हो। ०४७ सालमा प्रधानमन्त्रीले चाहेको बेलामा संसद् विघटन गर्ने अधिकार दिइएको थियो। त्यतिबेला पटक–पटक संसद् विघटन गरिए। ती पनि गलत थिए तर त्यो संविधानमै व्यवस्था थियो।’ 

‘कांग्रेस दोधारे बन्नु हुन्न’

 नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रको रक्षा कांग्रेसको एजेन्डा रहेको बताएका छन्। पहिला सिद्धान्त जोगाएर मात्रै चुनावमा जाने नेता पौडेलले बताए।
नेता पौडेलले शनिबार भरतपुर महानगरपालिकामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस दोधारे चरित्रमा लाग्न नहुने बताए।

पहिला संविधान जोगाए त्यसपछिको निर्वाचनले कांग्रेसलाई सरकारको नेतृत्वमा जनताले पुर्‍याउने दाबी उनको थियो। ‘संविधानविरोधी कार्यको शिरोधार्य  गरेर चुनावमा जान्छौं भन्नु मोही माग्ने ढुंग्रो लुकाउने काम  हो’, उनले  भने, ‘लोकतन्त्र र संविधान बचाउनुपर्छ भने प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ। योभन्दा अर्को विकल्प छैन।’ 

उनले सत्ताको दुविधा र लोभलालचमा लाग्न नहुने धारणा व्यक्त गरे। ‘कुनै पनि सत्ताको लोभ र सांसद बन्ने लोभ अहिले गर्न जरुरी छैन’, उनले भने, ‘खेतै रहेन भने के खेती आउँछ ? पहिला खेत बचाऔं, खेत बचे अर्कोपटक बाली आउँछ। यो कुरा कांग्रेसले बुझ्न आवश्यक छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.