आन्तरिक आकर्षणको शक्ति

आन्तरिक आकर्षणको शक्ति

देख्दा सानो कद भएकी युवती थिइन् सोमिया। आफ्नो अनुहार र शरीर उनैलाई त्यति सुन्दर लाग्दैनथ्यो। अरूसँग तुलना गर्न खोज्थिन् र हरेक पक्षबाट आफूलाई कमजोर र नराम्री देख्थिन्। पढाइ राम्रो भएका कारण मास्टर्स पास गरिन् र एउटा बैंकमा माथिल्लो पोस्टमै जागिर पाइन्। जब कार्यालय जान थालिन्, उनलाई लाग्थ्यो– म सबैबाट अपहेलित छु। मलाई कसैले वास्ता गर्दैनन्। मेरो कामको प्रशंसा गर्दैनन् र खासै महत्त्व पनि छैन। कामका क्रममा, खाजा खाने छुट्टीमा सबैजना एकअर्कासँग हाँसीमजाक गरेका छन्; कुराकानी गरेका छन् तर उनी आफूलाई एक्लो महसुस गर्थिन्। उनमा यस्तैयस्तै हीनताबोध बढ्दै थियो।

एक दिन खाजा खाने छुट्टीमा उनी कार्यालयबाट नजिकैको बजारतिर लागिन्। बाटोमा हिँड्दै थिइन्, एउटा पसलमा सानी नानीले आफ्नो शिरमा टोपी नाप्दै लगाएको; ऐना हेर्दै आफैं खुसी भएको र त्यो कुरा आमालाई बताउँदै गरेको दृश्य सिसाबाट परावर्तन भएर सडकको घामले उनको मस्तिष्कमा पुर्‍याइदियो। उनी अनायासै त्यही पसलभित्र पसिन्। २–३ वटा टोपी निकालिन्; आफ्नो शिरमा लगाइन् र ऐना हेरिन्। तीमध्ये एउटा टोपीमा उनी धेरै आकर्षक देखिइन्। नयाँपन, नयाँ सुन्दरता, नयाँ परिवर्तन महसुस गरिन्। सानी नानीले पनि आफ्नी आमालाई इशारा गर्दै भनिन्– आमा, यी दिदी कस्ती राम्री देखिनुभएको त्यो टोपीमा ! नानीकी आमाले सोमियालाई भनिन्– साँच्चै सुहायो तपाईंलाई। तपाईं धेरै राम्री देखिनुभएको छ। पसलेले थपे– यो टोपीको डिजाइन र रङ तपाईंलाई सुहायो।

सोमिया आफैंमा दंग परिन् र टोपी लिएर काउन्टरमा पैसा तिर्न गइन्। उनी पसलबाट निस्किन्। सडकवरपरका रूख, बिरुवा र फूलहरूको सुन्दरता उनलाई अर्कै लाग्यो। सबैतिरबाट सुवास फैलिरहेको महसुस भयो। त्यो सडक, प्रकृति, आकाशको बादल, चराचुरुंगीका चिर्बिर, मानिसहरू हिँडेको लय सबै उनलाई नयाँ र खुसीपन थपिएको महसुस भयो। सडकछेउकै एउटा कफी पसलमा उनका कार्यालयका कर्मचारी साथी कफी पिइरहेका थिए। उनले उठेर हात हल्लाए र भने– सोमिया, आज कत्ति राम्री देखिएकी तिमी; आऊ सँगै बसेर कफी पिऊ। उनले नाइँ भन्न सकिनन्। दुवै मिलेर कफी पिए। कार्यालयको गेटबाट छिर्दा पालेले ढोका खोल्दै अभिवादन गरेको, आफ्नो कोठामा जाँदै गर्दा वरपर देख्नेजति साथीले ‘हेलो, सोमिया !’ भन्दै हात हल्लाएकोमा उनलाई आश्चर्य लाग्यो।

आजको दिन मेरा लागि किन फरक भइरहेको छ ? उनी मनमनै दंग पर्न थालिन्। एकछिनपछि उनका हाकिम नजिक आए र भने– सोमिया, काम कस्तो भइरहेको छ; कस्तो अनुभव भइरहेको छ ? भोलि तिमीलाई लञ्चमा लैजान चाहन्छु म। सोमियालाई लागिरहेथ्यो– मैले यो सब के सुनिरहेको छु आज ? कसरी एकाएक यस्तो भइरहेछ ? कार्यालय छुट्टी भएपछि उनले घर फर्कनका लागि सडकमा ट्याक्सी रोकिन्। दुइटा ट्याक्सी अगाडि आएर रोकिए। ट्याक्सीचालकले समेत उनका बारेमा सोध्न थाले।

भित्र हराएको चिज घरबाहिर खोजेर अवश्य भेटिन्न, जहाँ हराएको छ त्यहीं खोज्न जरुरी छ।

कुराकानीका क्रममा तपाईं कस्तो राम्रो मान्छे म्याडम भन्न भ्याए। सोनिया घर पुगेर ढोकाको घन्टी बजाइन्। आमाले ढोका खोल्दै सोमिया...मात्र के भन्न भ्याउनुभएको थियो; सोमिया खुसीले उफ्रिन थालिन् र भनिन्– थाहा छ आमा, यो एउटा टोपीले आज मलाई कति सुन्दर र नयाँपन दिएको छ। यही टोपीका कारण आज म सबैका लागि सुन्दर र प्रेमल देखिएकी छु, सबैको माया र हेरचाह पाएकी छु। यो टोपी कस्तो राम्रो सुहाएको छ नि मलाई है आमा ? सोमिया..टोपी....खोइ, तिम्रो शिरमा टोपी त छैन त ? हँ..सोमियाले आफ्नो शिरमा छामिन्, साँच्चै टोपी छैन...। उनी सम्झिन थालिन्– ट्याक्सीमा खस्यो मेरो टोपी ? सम्झँदै जाँदा होइन, कफी पसलमा..त्यहाँ पनि होइन, कार्यालयकै टेबलमा... सम्झने प्रयास गरिन्.. अहँ त्यहाँ पनि होइन, टोपी पसलमै काउन्टरमा पैसा तिर्न जाँदा पर्सबाट पैसा झिक्ने क्रममा उनले टोपी काउन्टरको टेबलमा राखेकी थिइन् तर पैसा तिरेर हिँडिन्, टोपी उनले त्यहीं पसलमै छाडिन्। उनलाई याद भयो। तत्काल पसलबाट उनलाई फोन पनि आयो– म्याडम, हजुरले टोपी यहीं छाड्नुभएछ भोलि एकपटक आउनुस् न है ?

सोमिया आश्चर्यचकित भइन्, विनाटोपी दिनभर म हिँडें तर पनि मैले आफूले टोपी लगाएको छु भन्ने सोचें, त्यही टोपी पहिरेका कारण ममा थपिएको सुन्दरता र मैले सबैबाट पाएको प्रेम ? त्यो त मेरो बाहिरको टोपीले होइन रहेछ। मभित्रको सोच र मैले भित्रबाट पहिरेको टोपीका कारण मलाई यति धेरै खुसी, सुन्दरता र प्रेम दिएको थियो ? उनी आफैंमा बोधगम्य बनिन्। मेरो हीनताबोध, अरूप्रति हेर्ने दृष्टिकोण, मैले बनाएको कथा सबै बाहिरी धारणा रहेछ ? मैले आफ्नो अन्तरहृदयबाट दृष्टि लगाउन छाडेर बाहिरको सृष्टिको मूल्यांकन गर्ने गरेको रहेछु ? आफैंले आफैंलाई हीनताबोधमा पर्‍ुयाएको रहेछु ?

यस्तै स्मरणले उनलाई आकर्षण, प्रेम, प्रशंसा, सम्मान पहिले आफूले आफैंलाई दिनुपर्ने रहेछ भन्ने छर्लंग पारिदियो। अरूले के भन्छन् भन्ने कुरा पनि मैले नै सोचेर बसेको रहेछु ? शारीरिक आकर्षण, सुन्दरता त केही होइन रहेछ; जसले मलाई आफ्नो आत्मसम्मानबाट पछाडि धकेलेको रहेछ। स्वपहिचान, स्वबोध, आत्मसत्ता जान्न छाडेर म अरूलाई दोषी बनाइरहेको रहेछु ? आफैंसँग आन्तरिक संवाद गर्न छाडेर अरूले के भन्छन् भन्ने बहिर्मुखी दृष्टि र सोचमा अहिलेसम्मको जीवन बाँचेको रहेछु ?

वास्तवमा सोमियाको कथा मात्र होइन; सबै मनुष्यको कथा यस्तै नै छ। आफूलाई हेर्न, आफूले आफैंलाई बुझ्न छाडेर ९९ प्रतिशत समय र ऊर्जा संसारलाई बुझ्न र मूल्यांकन गर्नमा लगाएको हुन्छ मानिस। सुन्दरता, स्वास्थ्य, प्रेम, सम्मान बाहिर खोजेको छ, अरूबाट पाउनुपर्ने अपेक्षा राखेको छ। बाहिरको सत्ताप्रति लालायित छ, स्वसत्ताको बोध छैन। अस्तित्वले मलाई कति दिएको छ, मसँग के छ, मेरो आवश्यकता पूरा भएको छ/छैन या मेरा चाहनाले मलाई मृगतृष्णासरह कुदाइरहेको छ त्यो ख्याल गरेको हँुदैन। स्वयंभित्र रहेको आत्मसम्मान, अहोभाव, धन्यवाद भाव, प्रेम र पूर्णता बाहिर खोज्न हिँडेको छ। भित्र हराएको चिज घरबाहिर खोजेर अवश्य भेटिन्न, जहाँ हराएको छ त्यहीं खोज्न जरुरी छ। खोज के हुनुपथ्र्यो, किन खोज्ने र कहाँ खोज्ने थाहा नहुँदासम्म व्यक्ति अपूर्णता, बेखुसी र दुःखमै जीवन व्यतीत गरिरहेको हुन्छ। अब हामी यी विचार र नतिजाको स्रोत थाहा पाउन अन्तर्मुखी हुने प्रयास गर्ने कि ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.