संकटमा युवा नेतृत्व
राजनीतिक दलको उद्देश्य सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण हो भने नेतृत्व युवालाई दिनुपर्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी वैशाखमा दुई चरणको निर्वाचन मिति सार्वजनिक गरेका छन्। प्रधानमन्त्रीको कदम संवैधानिक कि राजनीतिक भन्ने बहसको विषय बनेको छ। सत्ता पक्ष र प्रतिपक्ष आआफ्नो अडानमा छन्। मुलुकको सबैभन्दा ठूलो पार्टी नेकपा दुई धारमा विभाजित छ भने प्रमुख प्रतिपक्ष कांग्रेस दोधारमा। देशमा चरम राजनीतिक अस्थिरता छाएको छ।
यद्यपि अहिलेका नेताहरूले कुनै ठोस निकास दिनेवाला छैनन्। ओलीको ठाउँमा, प्रचण्ड, शेरबहादुर देउवा वा माधव नेपाल जो आए पनि समस्या समाधान हुने होइन। नेपाली जनताले पटकपटक नेताहरूलाई सुध्रिने अवसर दिएकै हुन्। नेताहरूले एकपटक मात्र होइन पटकपटक मुलुकको प्रधानमन्त्री हुने सौभाग्य पनि पाए। आफू पदमा हुँदा केही नगर्ने तर पदबाट हटेपछि राष्ट्रवादी एवं क्रान्तिकारी हुने नेताहरूको बानी नै हो।
खोलो तर्यो लौरो बिर्सियो भन्ने नेपाली उखान चरितार्थ भएको छ नेपाली राजनीतिमा। चुनावताका लोकप्रिय नारा दिने सत्तामा पुगेपछि जनताको आदेश बिर्सने नेताहरूको रोग नै हो। नेपाली नेतामा नैतिकता, इमानदारी, सदाचारिता र जवाफदेहिता शून्य छ। राजनीतिक संस्कार नभएको हाम्रोजस्तो मुलुकमा राजनीतिलाई सही दिशामा ल्याउन कठिन परिरहेको छ। यस्तो अवस्था आशा जाग्ने भनेको युवा नेतृत्वप्रति नै हो। युवा नेतृत्वको विषय राजनीतिक पार्टीहरूमा उनीहरूको सहभागिता र नेतृत्व कस्तो छ त्यसमा निर्भर गर्छ।
विश्व इतिहास हेर्ने हो भने युगान्डाकी सांसद प्रोस्कोभिया ओरोमाइट सन् २०१३ मा सांसद निर्वाचित हुँदा १९ वर्षकी थिइन्। उनी अफ्रिका मात्र नभई संसारकै कान्छी सांसद बनिन्। त्यसैगरी ब्रिटिस स्कट मूलकी म्हारी ब्ल्याक सन् २०१५ मा सांसद जित्दा २० वर्षकी थिइन्। सन् १६६७ पछिको ब्रिटिस इतिहासमा उनी नै कान्छी सांसद हुन्। उनले झन्डै ५ सय वर्षको इतिहास तोडिन्।
सन् २००८ मा लेबर पार्टीबाट २८ वर्षको उमेरमा सांसद बनेकी ज्यासिन्डा आड्रन ३७ वर्षको उमेरमा पार्टी प्रमुख हँुदै २०१७ अगस्तमा न्युजिल्यान्डको तेस्रो महिला तथा त्यहाँको इतिहासमा सबभन्दा कम उमेरकी महिला प्रधानमन्त्री हुन सफल भइन। त्यस्तै फ्रान्सका युवा नेता इम्यानुएल माक्रों पहिलोपटक चुनाव जितेर राष्ट्रपति हुँदा ३९ वर्षका थिए। क्यानडाका जस्टिन टुडो ४४ वर्षको उमेरमा प्रधानमन्त्री बने उनी अहिले दोस्रो कार्यकाल समालिरहेका छन्। उनी अहिले संसारभर मानवअधिकार र सामाजिक सुरक्षाका विषयमा विश्वव्यापी चर्चामा रहेका छन्। भने युवा नेतृत्व र लोककल्याणकारी राज्यको गतिलो उदाहरण पेस गरेका छन्।
फिनल्यान्डमा सन्ना मरिन ३४ वर्षको उमेरमा प्रधानमन्त्री निर्वाचित भइन् भने आफ्नो क्याबिनेटमा ३५ वर्षमुनिका पाँचजना मन्त्री पनि नियुक्त गरिन्। फिनल्यान्डको इतिहासमा उनी सबैभन्दा कान्छी र तेस्रो महिला प्रधानमन्त्री हुन्। बेल्जियममा पनि ४२ वर्षका चार्सेस मिचेल प्रधानमन्त्री भई देशको नेतृत्व गरेका छन्। विश्वको सबैभन्दा कान्छा राष्ट्रप्रमुख भनेर चिनिने अस्ट्रियाका चान्सलर सेबस्टिन निर्वाचित हुँदा ३० वर्षका थिए। इटलीमा लुइजी डिमायो ३३ वर्षको उमेरमा उपप्रधानमन्त्री एवं विदेशमन्त्री भए।
इडिसन ब्रोसे २० वर्षमा पनामाका सांसद् भए। जोडन स्टिल सन् २०१७ मा सिनेटर हुँदा २२ वर्षका थिए। उनी अस्ट्रेलियाको संसद्का सबैभन्दा कान्छा र पहिलो अपांग सांसद हुन्। सन् २०१८ मा स्विडेनमा इबा हेयरमान सांसद निर्वाचित हुँदा २२ वर्षकी थिइन्। मलेसियामा वाइबी तुन सयद २५ वर्षको उमेरमा युवा तथा खेलकुद मन्त्री भए। उनी विश्वका सबैभन्दा कम उमेरमा मन्त्री हुने युवा हुन्। विश्व राजनीतिमा रकस्टार युवा नेता जस्टिन, चार्ली, इमानुअल, ज्यासिन्डा र सनानाजस्ता युवा नेताको खाँचो छ।
नेपालको राजनीतिक इतिहास नियाल्दा जंगबहादुर राणाले ३१ वर्षको उमेरमा मुलुकको प्रधानमन्त्री भई शासनको बागडोर समालेका थिए भने कांग्रेसका संस्थापक नेता बीपी कोइराला ४५ वर्षको उमेरमै प्रधानमन्त्री भएका थिए। वर्तमान पार्टी सभापति सभापति शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा ४८ वर्षका थिए। उनी चारपटक देशको प्रधानमन्त्री भए। अझै उनी प्रधानमन्त्री हुने दाउमा छन् भने पार्टी नेतृत्व छाड्ने मनस्थितिमा समेत छैनन्। ७० वर्षसम्म पनि नेतृत्वमै रहने हो भने युवाले कहिले अवसर पाउला ? कांग्रेस पार्टीमा दोस्रो पुस्ताका नेतासमेत ६० वर्षको हाराहारीमा छन्। तरुण दल र नेपाल विद्यार्थी संघको नेतृत्वको हालत पनि त्यस्तै छ।
नेपालको सबैभन्दा ठूलो पार्टी नेकपाले ७० वर्ष काटेपछि पार्टीको कार्यकारी पदमा चुनाव लड्न नपाउने व्यवस्था गरेको छ। जबकि जबजका जन्मदाता मदन भण्डारी ३८ वर्षको उमेरमा नै पार्टी महासचिव बनेका थिए भने माधव नेपाल ४० वर्षमा पार्टी महासचिव भइसकेका थिए। नेकपाका अध्यक्षद्वय प्रचण्ड र ओलीसमेत युवा उमेरमै पार्टीको महत्त्वपूर्ण पदमा पुगिसकेका थिए। दसबर्से संघर्ष गरी राष्ट्रिय राजनीतिको मूलधारमा आएका प्रचण्ड ३५ वर्षमा पार्टीको सर्वोच्च नेता भइसकेका थिए।
यद्यपि नेकपा पार्टीको स्थायी समिति र सचिवालयमा अहिले कुनै युवा छैनन्। राप्रपा र मधेसवादी दलमा पनि युवालाई प्राथामिकता दिएको देखिँदैन। वैकल्पिक राजनीतिक धारको नेतृत्व दाबी गर्ने विवेकशील साझा पार्टीमा युवा सहभागिता र नेतृत्व दुवै छ, तर यिनीहरू मूलधारको राजनीतिमा आउन सकेनन्। प्रत्यक्ष चुनावमा जित त हात पारेनन्; धरौटीसमेत बचाउन सकेनन्। क्रान्तिकारी धारको नेतृत्व गर्ने विप्लव नेतृत्व अझै मूलधारको राजनीतिक आउन सकेको छैन।
इतिहासदेखि वर्तमान कालखण्डमा नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ। युवा अवस्थामा पार्टी र सरकारको नेतृत्व गरी सत्ता र शक्तिमा पुगेपछि बाँचुञ्जेल पदमा रहिरहन खोज्नु। यसले नयाँ पुस्ताका लागि बाटो जाम गराइराखेको छ। राजनीतिमा युवा सहभागिता र नेतृत्व फरक कुरा हो।
देशमा नायक होइन; कार्यकर्ता मात्र जन्मिए। राजनीतिक पार्टीहरूमा हस्तक्षेपकारी भूमिका खेल्ने युवा पंक्ति छैन। युवा नेता पनि बूढा नेतापछि आफ्नो पालो कहिले आउला भनेर कुरेर बसेका छन्।
अहिले नेपालको राजनीतिकमा आलोचनात्मक चेत भएका युवा जमात निकै कम छ। देशमा नायक होइन कार्यकर्ता मात्र जन्मिए। राजनीतिक पार्टीहरूमा हस्तक्षेपकारी भूमिका खेल्ने युवा पंक्ति छैन। युवा नेता पनि बूढा नेतापछि आफ्नो पालो कहिले आउला भनेर कुरेर बसेका छन्। राजनीतिमा रचनात्मक बहस शून्यप्रायः छ। राजनीतिमा एक किसिमको सिन्डिकेट हाबी छ। क्षमताभन्दा उमेर र पार्टीमा योगदान गरेको आधारमा पद बाँडिन्छ। पछिल्लो चरणमा त राजनीति व्यापारीका हातमा पुगेको छ टिकट किनबेचका लागि। नेपालमा मौलाउँदै गरेको राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणले स्वच्छ छवी भएको व्यक्ति भेट्न गाह्रो छ। पढेलेखेका युवा जमात राजनीतिबाट विस्तारै टाढा हुँदै गएका छन्।
हामीकहाँ तीन किसिमका युवा जमात छ। एक किसिमका युवा जो दैनिक गुजारा र परिवारको भरणपोषणकै लागि काममा व्यस्त छ। दोस्रो मध्यमार्गी युवा कोही अवसरको खोजीमा बिदेसिएका छन् त कोही देशमै सम्भावनाको खोजी गर्दैछन्। तेस्रो उच्च वर्गाीय केही युवा कि ठूला बिजनेसमा सहभागी छन् कि विदेश पलायन भएका छन्। आफ्नो वर्तमान र भविष्य दुवै संकटमा देखेर पलायन हुने युवाबाट के आशा गर्न सकिएला ? नेपाल बनाउने नेपालीले नै हो। कोही अमेरिका र युरोपबाट आएर बनाइदिने होइन। हाम्रो सोचाइ र व्यवहार परिर्वतन नभएसम्म राजनीति परिर्वतन हुने कोरा कल्पना मात्र हुनेछ।
राजनीतिक दलमा सहभागी युवा पनि वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्न सकेका छैनन्। युवाले विकल्प प्रस्तुत गर्न नसक्दा हजुरबुवा उमेरका नेताबाट शासित हुनुपरेको छ। त्यसैले अब एकपटक सबै राजनीतिक पार्टीमा रहेका एवं स्वतन्त्र युवा मिलेर वैकल्पिक नयाँ राजनीतिक धारको नेतृत्व गर्ने बेला आएको छ। नेतृत्वको खडेरी परेका बेला युवा विकल्पसहित प्रस्तुत हुन अब ढिलाइ गर्नु हुँदैन। नेपालको राजनीतिक प्रणालीमा एक व्यक्ति एक पद एकपटक भन्ने अवधारणा लागू गर्न सके मात्र युवा नेतृत्वले अवसर पाउँछ।
राजनीतिमा युवालाई आकर्षण र सहभागी गर्न सके लोकलन्त्र बलियो हुन्छ। विकासका विभिन्न मुद्दामा युवाको विशेष प्रभाव र भूमिका रहन्छ। साथै युवाको उपस्थितिले राजनीतिक स्थितिमा पुरातनवादी मनोवृत्ति परिर्वतन गर्न सक्छन्। युवालाई प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता, क्रियाशीलता र सहभागिताले राजनीतिलाई नयाँ आयाम दिन सक्छ। विश्वभर युवा परिचालन एक पक्ष महत्वपूर्ण छ सरकारलाई सही दिशानिर्देश दिन तथा लोकतन्त्रको संस्थागत विकास गर्न। हामीकहाँ राजनीतिमा युवा सहभागिता बहस परम्परागत छ। राजनीतिक दलले युवालाई नेतृत्व प्रदान गर्नेभन्दा मतदाता र कार्यकर्ताका रूपमा थप भूमिका केन्द्रित गर्न चाहन्छन्।
लोकतन्त्र संस्थागत गर्न राजनीतिक दलमा पनि आन्तरिक लोकतन्त्रको विकास गर्न जरुरी छ। सहभागितात्मक निर्णय प्रक्रिया, आर्थिक पारदर्शिता, जवाफदेहिता र नागरिकप्रति उत्तरदायी शासन व्यवस्था लोकतन्त्रका आधार स्तम्भ हुन्। विधिको शासन, लोककल्याणकारी राज्य व्यवस्था, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र रोजगारजस्ता नागरिकका आधारभूत आवश्यकतामा राज्यलाई जिम्मेवार युवाले दबाब दिनुपर्छ। मुलुकको समृद्धिका लागि राज्यको नीति निर्माण र नेतृत्व तहमा युवाको समान र सार्थक सहभागिता आजको आवश्यकता हो।
युवा सहभागिताले राजनीतिलाई सही दिशानिर्देश गर्न टेवा पुर्याउँछ। युवा भविष्यका कर्णधार मात्र होइनन्; वर्तमानका साझेदार पनि हुन् भन्ने हेक्का राख्नुपर्छ। राजनीतिक दलले युवालाई परिचालन मात्र होइन; उनीहरूलाई उचित अवसर र जिम्मेवारीसमेत दिनुपर्छ। जनसंख्याका आधारमा राज्यका हरेक तहमा युवाको प्रतिनिधित्व र पहुँच सुनिश्चित गर्न खबरदारी आवश्यक छ। हाम्रा मान्छेभन्दा पनि राम्रा मान्छेले अवसर पाउने व्यवस्था मिलाउनुपर्छ। नेतृत्व राम्रो भए मात्र नीति राम्रो बन्छ र कार्यान्वयन पनि सहज हुन्छ। राजनीतिलाई सही दिशानिर्देश गर्न दूरदृष्टि, सक्षम नेतृत्व र कुशल व्यवस्थापकको आवश्यकता पर्छ।
नेपालमा नीतिको भन्दा नेतृत्वको समस्या छ। नेतृत्वको अकर्मण्यता, दूरदृष्टि र स्पष्ट भिजन नहुँदा देश विकास हुन सकेन। मधेसी, पहाडी, दलित जनजाति आदिका नाममा युवालाई विभाजन मात्र गरियो। विविधतामा एकता भनेजस्तै भूगोलको विविधताले जोडेको हाम्रो देश भावनात्मक एकताले जोड्न सकेन। युवालाई विभिन्न वाद र विचारमा विभक्त गरी नेताहरूले आफ्नो राजनीतिक फाइदाका लागि उपयोग गरिरहे। हामी युवा पनि परिचालित भइरह्यौं। आन्दोलन गर्यौं र त्यसको प्रतिफल कहिल्यै पाइनौं। देशमा गणतन्त्र आयो र शासन व्यवस्था परिवर्तन त भयो तर नागरिकको जीवनस्तरमा परिर्वतन आएन। नेताहरूको जीवनशैलीमा परिवर्तन आयो; आलिशान बंगाला भए तर युवा आफ्नो जीविकाकै लागि बिदेसिनुपर्यो। दलित अझै अछूत हुनुपर्ने, मधेसी हेपिनुपर्ने, महिला बलात्कृत हुनुपर्ने, शक्तिमा हुनेहरूले सधैं रजाइँ गर्ने स्थिति भयो। आम सर्वसाधारण नागरिकले राज्यको अनुभूति गर्न सकेनन्। त्यसैले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न युवाले नेतृत्व गर्नुपर्छ।
—सुवेदी युवा अधिकारकर्मी हुन्।