संवैधानिक इजलासमा सवाल-जवाफ : प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने अधिवक्ताको जिकिर

संवैधानिक इजलासमा सवाल-जवाफ : प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने अधिवक्ताको जिकिर

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आइतबार संवैधानिक इजलासमा  सुनुवाइ सुरु भएको छ । 

रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएको दाबी गरेका छन् ।

त्यस्तै अधिवक्ता गिरिराज भट्टले विगतमा गिरिजाप्रसाद कोइरालाले आफूसँग भएको अधिकार प्रयोग गरेर तत्कालीन राजालाई विघटन सिफारिश गरिएपछि प्रतिनिधिसभा विघटन भए पनि अहिले नेपालको संविधानमा त्यो व्यवस्था नभएको जिकिर गरे । 

वरिष्ठ अधिवक्ता डा भीमार्जुन आचार्यले वर्तमान संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख नगरिएको दाबी गरेका छन् । 

अधिवक्ता आचार्यले पहिलो प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष पूरा भएको अवस्था र संविधान अनुसार सरकार गठन हुन सक्ने अवस्था नभएको खण्डमा मात्र प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने व्यवस्था संविधानमा भएको बताए । उनले अन्य अवस्थामा प्रतिनिधिसभा विघटन हुनै नसक्ने दाबी प्रस्तुत गरे । 

संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नै नदिएको जिकिर पटकपटक दोहोर्याए । अधिवक्ता आचार्यले प्रधानमन्त्रीलाई अधिकार नै नभएको दाबी गर्दै गर्दा बहसमा सहभागी न्यायाधीशले संविधानको धारा ७६ को कसले उपयोग गर्छ भन्दै प्रश्न गरेका थिए । संविधानको धारा राम्ररी पढ्नसमेत न्यायाधीशले आचार्यलाई सुझाए । 

बहसका क्रममा न्यायाधीश र अधिवक्ता आचार्यबीच सवालजवाफ भएको छ । न्यायाधीश सपना मल्ल प्रधानले अवस्थालाई आकलन गरेर संसद विघटन गर्न नसक्ने दाबी प्रस्तुत गरिन् । 

सुनुवाइका क्रममा अधिवक्ता आचार्य र संवैधानिक इजलासको नेतृत्व गरेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणबीच सवाल जवाफ भएको छ । अधिवक्ता आचार्यले प्रधानमन्त्रीलाई अधिकार नदिएको जिकिर गर्दा त्यसको जवाफमा प्रधानन्यायाधीश राणाले जवाफ दिएका हुन् । 

राणाले अधिवक्ता आचार्यलाई प्रश्न गर्दै भने, धारा ७६ को आधारमा प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँदैनन् र ? त्यसको जवाफमा अधिवक्ता आचार्यले काल्पनिक कुरा अदालतमा जान नमिल्ने बताए । संविधानमा भएका विकल्पको प्रयोग नै नगरी संसद विघटन भएको तर्क गर्न नमिल्ने आचार्यको भनाइ छ । प्रधानमन्त्रीले आफूसँग विकल्प नभएको जानकारी सदनलाई गराउनुपर्नेसमेत उनले बताएका छन् । 

पुस ११ देखि सर्वोच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो । 

प्रधानन्यायाधीश राणा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतबारदेखि विषयवस्तुमा प्रवेश गरेर बहस सुरु भएको हो । 

उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२, २९ गते हुँदै यही माघ २ गते संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको हो । रिट निवेदक १३ जनामध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भयो ।

गत १० पुस गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशअनुसार राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र  सभामुखले गत पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गरिसकेका छन् । 

अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिश र निर्णयको सक्कलप्रति राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने  तथा प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो ।

अदालतका सहयोगी (एमिकस क्युरी) मा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् । 

प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले  निवेदन दायर गरेका थिए । 

रिट निवेदनमा  निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ । 

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी,  दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर ओली, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र  अच्युतप्रसाद खरेलले निवेदन दायर गरेका थिए । 

 कानून व्यवसायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिश र सो सिफारिशका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिशका आधारमा भएगरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा, १३३ को उपधारा, २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.