बैतडीका आठ स्थानीय तहमा सक्रिय संक्रमित छैनन्
बैतडी : बैतडीका ८ स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिका बाहेकका ८ ओटा स्थानीय तहमा तत्कालका लागि सक्रिय संक्रमित नरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
जिल्लाको मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका र पाटन नगरपालिकामा कोरोनाका सक्रिय संक्रमित नरहेका उनले बताए ।
यस्तै डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कोरोना सक्रिय संक्रमित शुन्य रहेका छन्।
जिल्लामा अहिले सम्म ७ हजार ७०९ जनाको कोरोना परीक्षण हुँदा ६३६ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये ६३१ जनाले कोरोना जितेका छन् भने २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिकामा २ र दोगडाकेदार गाउँपालिकामा १ जना गरी अहिले तीन जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।