भक्तपुर तलेजुमा २ जना पुजारी नाइके रिक्त !

भक्तपुर तलेजुमा २ जना पुजारी नाइके रिक्त !

भक्तपुर : भक्तपुरको तलेजुमा दुईजना पुजारी नाइके रिक्त रहेका छन्। यहाँ एक मूल नाइकेसहित चार जना पुजारी नाइकेको दरबन्दीको व्यवस्था छ। जसमध्ये तलेजुमा दैनिक नित्यपूजासँगै अन्य पर्वमा पुजारीको काम गर्ने राजोपाध्याय र कर्माचार्यतर्फका दुईजना पुजारी नाइकेको पद रिक्त रहेको हो।

रिक्त दुई पुजारी नाइकेमध्ये कर्माचार्य नाइके भने १५ वर्षदेखि रिक्त रहँदै आएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए। उनका अनुसार गुठी संस्थानले पुजारी नाइकेमा नियुक्ति दिएका फत्तेबहादुर कर्माचार्यको २०६२ साल भाद्र १५ गते निधन भएको थियो। उनको मृत्युपछि हालसम्म उनको ठाउँमा नयाँ पुजारी नाइके नियुक्ति हुन नसकेको मूल नाइके जोशी बताउँछन्।

त्यस्तै राजोपाध्यायतर्फबाट पुजारी नाइके रहेका उत्तमाङ्गराज राजोपाध्यायको २०७७ साल असार ११ गते निधन भएपछि उनको ठाउँमा पनि नयाँ पुजारी नाइके नियुक्त हुन सकेको छैन।

भक्तपुर तलेजुमा ४ जना पुजारी नाइकेमध्ये हाल जोशीतर्फका नरेन्द्रप्रसाद र कर्माचार्यतर्फका सिद्धिवीरमात्रै रहेका छन्। चार पुजारी नाइकेमध्ये पनि गुठी संस्थानले जोशी नाइकेलाई तलेजुको मूल नाइकेको जिम्मेवारी दिँदै आएको छ। जसअनुसार मूल नाइके जोशीले भक्तपुर तलेजुका ५ सय ३८ रकमीहरुको तर्फबाट प्रशासनिक नेतृत्व गर्दै आएका छन्।

गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले भने भक्तपुर तलेजुमा दुईजना पुजारी नाइके रिक्त रहेको जानकारी नै नभएको प्रतिक्रिया दिए।
तर पहिलेदेखि प्रक्रिया पुर्‍याएर पूर्ति हुँदै आएको पुजारी नाइकेमध्ये केही पद रिक्त हुनेबित्तिकै स्वाभाविक रुपमा पूर्ति हुनुपर्ने उनी स्पष्ट पार्छन्।
उनले पुजारी नाइकेहरु रिक्त भएकै कारण तलेजुमा गर्नुपर्ने दैनिक नित्य पूजाआजा तथा जात्रापात्रा रोकिएको कुनै गुनासो नआएको बताए।

प्रमुख कर्माचार्यका अनुसार अहिलेसम्म गुठीमा पुजारी नाइके उत्तमाङ्गराज र फत्तेबहादुरकै नाउँमा लगत रहेको छ। लगतवाला बाबु बुढो भएको वा अशक्त भएको कारण छोराले गुठीबाट दिइने खान्की वा आयस्ता बुझेर आवश्यक कार्य गर्दै आएकाले पनि गुठी संस्थानलाई पुजारी नाइके रिक्त रहेकोबारे जानकारी नभएको हुनसक्ने उनको भनाइ थियो।

‘तलेजुमा अहिलेसम्म वंश परम्परा चल्दै आएको छ’, प्रमुख कर्माचार्यले भने, ‘जसअनुसार बाबुको नाउँमा लगत रहे पनि छोराले खान्की बुझ्दै आएका छन्। तलेजुमा कुनै विवाद नभइकन गुठी संस्थानसम्म आइपुग्दैन।’

गुठीको लगतअनुसार पुजारी नाइके उत्तमाङ्गराजले पाउने खान्की उनका जेठा छोरा प्रज्ञेशराजले बुझ्दै आएका छन्। त्यस्तै फत्तेबहादुरले पाउने खान्की उनका कान्छो भतिजा महेशले बुझ्दै आएका छन्।

भक्तपुर तलेजुको विगत हेर्दा पुजारी नाइकेहरु वंश परम्पराअनुसार नै नियुक्त हुँदै आएका छन्। जसअनुसार २०६२ सालमा दिवंगत फत्तेबहादुरसँगै उनका जेठा दाजु गणेशबहादुर र कान्छो भाइ सूर्यबहादुरलाई तलेजुमा काम गर्ने गरी पुजारी नाइकेको नियुक्ति दिइएको थियो। तत्कालीन गुरु पुरोहित जनकराज पण्डितले उनीहरुका पिता जीतबहादुरको निधनपछि ३ छोराहरुलाई पुजारी नाइकेको जिम्मेवारी दिएको देखिन्छ। उनीहरुको नियुक्तिसम्बन्धी कागजात हेर्दा उनीहरुका पिता जीतबहादुरको निधन २०१७ साल माघ २१ गते भएको थियो। पिता जीतबहादुरको निधनलगत्तै २०१७ सालकै फागुन ७ गते जेठा छोरा गणेशबहादुरको नाउँमा लगत हुने गरी ३ छोराहरुलाई पुजारी नाइकेको जिम्मेवारी दिइएको थियो।

तलेजुको परम्पराअनुसार मूल नाइकेले पुजारी नाइकेमा नियुक्ति दिन गुठी संस्थानमा सिफारिस गर्ने गरिन्छ। यसरी आएको सिफारिसको आधारमा गुठी संस्थान केन्द्रीय कार्यालयले पुजारी नाइकेमा नियुक्ति दिने प्रचलन रहँदै आएको छ। यसरी नियुक्ति पाउने पुजारी नाइकेहरुले तलेजुबाट अनिवार्य दीक्षा लिनुपर्ने प्रचलन रहँदै आएको छ।

वंश परम्पराअनुसार जोशीतर्फका पुजारी नाइके नरेन्द्रप्रसाद पिता ईश्वरीप्रसादको ठाउँमा आउँदा कर्माचार्यतर्फ रत्नवीरको ठाउँमा सिद्धिवीर पुजारी नाइके बनेको देखिन्छ। त्यस्तै राजोपाध्यायतर्फ पिता एकछत्रराजको ठाउँमा उत्तमाङ्गराज आएका थिए। अहिले उत्तमाङ्गराजको निधनपछि उनका दुई छोरा प्रज्ञेशराज र मिलनले तलेजुमा काम गर्दै आएको तलेजु स्रोतले जानकारी दियो।

उक्त स्रोतअनुसार फत्तेबहादुरको मृत्युपछि उनका छोरा पद्मलोचनसँगै भतिजाहरु मधुसूदन र महेशले तलेजुमा काम गर्दै आएका छन्। मधुसूदन र महेश सूर्यबहादुर कर्माचार्यका छोराहरु हुन्।

प्रज्ञेश र मिलनले बाबु छँदै तलेजुमा आवश्यकताअनुसार बाबु उत्तमाङ्गराजलाई सहयोग पनि गर्दै आएका थिए। सोहीअनुसार उनीहरु नयाँ पुजारी नाइकेको लागि स्वाभाविक रुपमा दावेदार भएको बताइन्छ।

प्रज्ञेशले बुबाको निधन भएको वर्षदिन नै पूरा नभएकाले पुजारी नाइके नियुक्तिको प्रक्रियामा आफूहरु नगएको सुनाए।‘भक्तपुर तलेजुमा केही विषयमा विवाद भएकाले अहिल्यै पुजारी नाइके नियुक्तिको लागि प्रक्रियामा गएका छैनौं’, उनले भने, ‘उक्त विवाद समाधान नभए हामी तलेजुमै नजान पनि सक्छौं।’

उता फत्तेबहादुरका छोरा पद्मलोचनले भने केही वर्षअघि गुठी संस्थान भक्तपुरमा आफूलाई पुजारी नाइके बनाउन निवेदन नै दिएका थिए। तर प्रक्रिया पुर्‍याएर नआएको भन्दै गुठीले उक्त निवेदनको कुनै जवाफ दिएको छैन। गुठीबाट फत्तेबहादुरको खान्की बुझ्दै आएका भतिजा महेशले पनि आफूलाई पुजारी नाइके बनाउन माग गर्दै आएको तलेजु स्रोतले बतायो।

करिब ९० वर्षअघि पुजारी नाइके बन्ने विषयमै कर्माचार्यहरुबीच विवाद भएपछि एकजनाको ठाउँमा दुईजना पुजारी नाइके बनाइएको भक्तपुर तलेजु स्रोत बताउँछ। नत्र भक्तपुर तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य समुदायका ३ जनामात्रै पुजारी नाइके थिए। पहिले एकजनाले मात्रै पाउँदै आएको खान्की कर्माचार्यतर्फ २ जना पुजारी नाइके भएलगत्तै उक्त खान्की पनि दुई भागमा बाँडिएको थियो।

भक्तपुर तलेजु स्रोतका अनुसार रिक्त पुजारी नाइकेमा धेरैजनाको दावी र एकापसमा विवाद रहेकाले सर्वसम्मत नहुँदासम्म नयाँ नियुक्ति हुने सम्भावना छैन। गुठी संस्थानले भने तलेजुका मूल नाइकेबाट प्रक्रिया पुर्‍याएर सिफारिस भएपछि मात्रै नियुक्ति प्रक्रिया पूरा गरिने जनाएको छ।

के के गर्छन् पुजारी नाइकेले ?

तलेजुमा रिक्त राजोपाध्याय र कर्माचार्य पुजारी नाइकेले आफ्नो जिम्मेवारीअनुसार दैनिक नित्य पूजा गर्छन्। राजोपाध्याय पुजारी नाइकेले मात्रै दैनिक नित्यपूजासँगै करिब ८० वटा पर्वपूजा र ३० वटा थापूजामा पुजारीको काम सम्पन्न गर्ने मूल नाइके जोशीले जानकारी दिए।

करिब ८० वटा पर्वपूजामा सबैभन्दा बढी वडा दसैंमा १५ दिन, प्रत्येक बढी चतुर्दशी र संक्रान्तिमा १२-१२ दिन भोकभोकै बसेर पूजा सम्पन्न गर्नुपर्छ। राजोपाध्याय पुजारी नाइकेले वडा दसैंमा प्रतिपदादेखि दशमीसम्म तलेजुमा ४ वेद पाठ गर्नुपर्छ। दसैंको सप्तमी र दशमीको दिन हुने तुलजा यात्रामा तलेजु भवानीको प्रतीक खड्ग बोक्नुपर्छ। विजया दशमीकै दिन हुने पायो जात्रामा समेत राजोपाध्याय पुजारी नाइकेले खड्ग बोकेर भक्तपुर नगर परिक्रमामा सहभागी हुनुपर्छ।
तिहार पर्वअन्तर्गत लक्ष्मी पूजा र म्हःपूजामा समेत उनले निराहार व्रत बसी तलेजुमा पूजाआजा गर्नुपर्छ।

त्यस्तै बिस्का जात्राको क्रममा द्यः क्वहाँबिज्याइगु, द्यः थहाँबिज्याइगु, लिंगो उठाउने र ढाल्ने गरी ४ दिन तलेजुको प्रतीक खड्ग समाएर राजोपाध्याय पुजारी नाइके भैरवनाथको रथमा सवार हुनुपर्छ।

यसैगरी  धन्छा (दमणारोहण) पूजा, होम पवित्रारोहण र पवित्रारोहणका अवसरमा २-२ दिन उनले निराहार पुजारीको काम गर्नुपर्ने मूल नाइके जोशी बताउँछन्।
राजोपाध्याय पुजारी नाइकेले जस्तै कर्माचार्य नाइकेले पनि दैनिक नित्यपूजासँगै ३० वटा थापूजामा पुजारीको काम गर्छन्। प्रत्येक थापूजामा २ दिन सहभागी हुनुपर्ने भक्तपुर तलेजुले जनाएको छ।

त्यस्तै बडा दसैंमा १५ दिन २ जना कर्माचार्य पुजारी नाइकेले आलोपालो आफ्नो जिम्मेवारी पुरा गर्ने गर्दै आएका छन्। बिस्का जात्राको अवसरमा द्वेमाजु देवीको पूजासहित ३ दिन र पिचास चतुर्दशीमा २ दिन उनीहरुले पुजारीको काम गर्छन्। त्यस्तै पवित्रारोहणको दिन हुने ३० वटा पूजामा पनि कर्माचार्य पुजारी नाइकेहरुले पुजारीको काम सम्पन्न गर्छन्।

तत्कालीन मूलपुरोहित जनकराज पण्डितको नाउँमा जारी भक्तपुर तलेजुमा कर्माचार्य पुजारी नाइके नियुक्तिसम्बन्धी कागजपत्र। तस्बिर सौजन्य : नरेन्द्रप्रसाद जोशी।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.