सन्दीप लामिछाने बिग बासमा लगातार विकेटविहीन
काठमाडौं : नेपाली खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिगमा लगातार दोस्रो खेलमा पनि विकेटविहीन रहेका छन्। होबार्ट हुरिकेन्सबाट बिग बास लिग खेलिरहेका लामिछाने आज पनि सिड्नी थन्डर्सविरुद्धको खेलमा विकेट लिनबाट चुके। खेलको पाँचौँ ओभरमा बलिङ गर्न आउनुभएका उनले सो ओभरमा छ रन खर्चिए।
आफ्नो दोस्रो ओभरमा लामिछानेले विपक्षी खेलाडीलाई नौ रन दिए। तेस्रो ओभरमा उहाँले पाँच रन मात्र खर्चिए भने चौथो ओभरमा लामिछानेले आठ रन दिए। होबार्टका लागि उनले चार ओभर बलिङ गर्दै २८ रन खर्चिए।
यसअघि पर्थविरुद्धकै खेलमा लामिछाने विकेटविहीन रहेको थिए। उक्त खेलमा उनले विपक्षी खेलाडीलाई चार ओभरमा २३ रन दिए। अघिल्ला तीन खेलमा गरी हाल जारी बिग बासमा लामिछानेले चार विकेट लिए। लामिछाने आबद्ध होबार्ट आजको खेलमा विजयी भएको छ। योसँगै होबार्ट लिगको चौथो स्थानमा उक्लिएको छ। होबार्टले हालसम्म खेलेका ११ खेलमध्ये छ मा जीत तथा पाँचमा हार बेहोरेको छ। होबार्टले कूल २३ अङ्क जोडेको छ। -रासस
प्रतिक्रिया दिनुहोस !