नेपालमा नयाँ कोरोना

नेपालमा नयाँ कोरोना

काठमाडौं : कोरोना भाइरसको नयाँ प्रजाति/भेरियन्ट संक्रमण नेपालमा पनि देखिएको छ। आनुवंशिक गुण परिवर्तन गरेको नयाँ भाइरसबाट एक महिलासहित तीन जना संक्रमित भएका हुन्। उनीहरू केही समयअघि नयाँ भाइरसको उद्गमस्थल बेलायतबाट स्वदेश फर्किएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा आरटी पीसीआर नेगेटिभ भइसकेको जानकारी दिए। ६७ वर्षीय पुरुष पोजिटिभ नै रहे पनि लक्षण नदेखिएको प्रवक्ता डा. गौतमको भनाइ छ।

बेलायतबाट फर्किएका नेपालीलाई निगरानीमा राखी ६ वटा नमुनाको परीक्षण गरिएको थियो। तीमध्ये तीनवटा नमुनामा एस जिन टार्गेट नेगेटिभ देखिएको थियो। भाइरसको नयाँ प्रजाति हो/होइन भन्ने पुष्टि गर्न विश्व स्वास्थ्य संगठनको सहयोगमा पुस २७ गते हङकङस्थित प्रयोगशालामा पठाइएको थियो।

‘उक्त नमुनाको नतिजा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई इमेलमार्फत २०७७ माघ ५ गते प्राप्त भएको र तीन जनामा (२८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुष)मा नयाँ प्रजातिको भाइरसको संक्रमण भएको पुष्टि भएको छ’, मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ। यीमध्ये दुई जना बेलायत नै फर्किसकेको पाइएको छ।

लक्षणहरू
-थकाइ लाग्ने
-टाउको/घाँटी/जिउ दुख्ने
-ज्वरो आउने
-खोकी लाग्ने
-नाक बन्द हुने
-गन्ध थाहा नपाउने
-निमोनिया हुने
-श्वास फेर्न गाह्रो हुने

प्रवक्ता डा. गौतमले बेलायतबाट फर्किएकामध्ये ६ जनामा कोरोना पोजिटिभ देखिएकामा तीन जनामा नयाँ भाइरस पाइएको खुलाए। ‘कोरोना पोजिटिभ ६ जनामा देखिएको हो। जसमध्ये तीन जनामा नयाँ भेरियन्टको कोरोना भाइरस पुष्टि भएको हो’, उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘तीन जनामध्ये दुई जना (२८ वर्षीया महिला र ३२ वर्षीया पुरुष) हिजै बेलायत फर्किसकेका छन्।’ नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएका ६७ वर्षीय पुरुष घरमै आइसोलेसनमा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले नयाँ प्रजातिको भाइरस संक्रमितको स्वास्थ्यमा जटिलता नदेखिएको बताए। ‘पुरानो कोरोनाभन्दा नयाँ प्रजातिको कोरोना भाइरस छिटो सर्छ। घरपरिवारका सबै सदस्य एवं नजिक रहेका व्यक्तिमा सर्ने सम्भावना बढी हुन्छ’, निर्देशक डा. राजभण्डारीले भने, ‘नयाँ भेरियन्टको कोरोनाको संक्रमणदर ७० गुणा बढी छ।’

नयाँ प्रजातिको कोरोना संक्रमितमा सुरुवातमा रुघाखोकी बढी लाग्ने देखिएको छ। ज्वरो आउने, थकाइ लाग्ने, टाउको दुख्ने, नाक बन्द हुने र गन्ध थाहा नपाउनेलगायत लक्षण देखिने डा. राजभण्डारीले बताए। ‘दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता न्यून भएकाहरूलाई बढी असर गर्छ’, उनले भने।

नयाँ भाइरस संक्रमण देखिएसँगै बेलायतबाट हुने उडान र यात्रु आगमनलाई पुस पहिलो सातादेखि नेपालमा प्रतिबन्ध लगाइएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायत र बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन विभिन्न हवाई सेवालाई सर्कुलर गरेको थियो। त्यसअघि नै बेलायतबाट नेपाल भित्रिएकामध्ये केही व्यक्तिको स्वाब संकलन गरिएको थियो। मन्त्रालयले पुस पहिलो साता बेलायतबाट आएका नागरिकले अनिवार्य होटल क्वारेन्टाइनमा बस्न र प्रयोगशालामा स्वाब परीक्षण गर्न आग्रह गरेको थियो।

बेलायतमा असोजमा नयाँ भाइरस देखापरेको थियो। अहिले युरोप, अमेरिका र एसियाली मुलुकमा नयाँ भाइरस देखापरेको छ। यस भाइरसले संक्रमणको त्रास बढाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यसअघि आनुवंशिक संरचना अध्ययन गर्दा नेपालमा भेटिएको भाइरस भारत, बंगलादेश र साउदी अरबको भाइरससँग मिल्दोजुल्दो पाइएको थियो।

सरकारले बेलायतबाट एक महिनाअघि स्वदेश फर्किएका  व्यक्तिमा निगरानी बढाएको थियो। मन्त्रालयका वरिष्ठ भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले बेलायतबाट फर्किएका २ सय ३५ जनालाई निगरानीमा राखिएको जानकारी दिए। ‘हामीले त्यति बेला निगरानी गरेका थियौं। तीमध्ये तीन जनामा संक्रमण पुष्टि भएको हो’, डा. पाण्डेले भने।

मन्त्रालयले अझै सकेसम्म भीडभाडमा नजान, जानुपरे दुई मिटर दूरी कायम राख्न, बाहिर जाँदा अनिवार्य मास्क लगाउन, साबुनपानीले हात धुन र स्यानिटाइजर प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ। ‘जबसम्म यस रोगको नेपालमा भ्याक्सिन उपलब्ध हुँदैन त्यतिन्जेलसम्म हामीले सावधानी अपनाउनुपर्ने देखिन्छ’, मन्त्रालयले भनेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.