भन्सारमै बैंकिङ सुविधा
नुवाकोट : सेवाग्राहीहरूको सुविधाका लागि रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमै बैंकिङ सेवा सञ्चालन गरिएको छ। त्रिदेशीय मार्गको रूपमा रहेको गल्छी–त्रिशूली–रसुवागढी सडकमार्गको किनारामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेमा बैंक अफ काठमाडौंको राजस्व संकलन काउन्टर स्थापना भएसँगै राजस्व बुझाउनेलाई निकै सुविधा पुगेको भन्सार कार्यालयले जनाएको छ।
रसुवागढी नाका काठमाडौंदेखि नजिकमा रहेको चीनतर्फको ठूलो नाका हो। चीनबाट हुने धेरैजसो आयात रसुवागढी नाकाबाट २०७२ मंसिरदेखि हुँदै आएको छ। रसुवा भन्सार कार्यालयबाट हुने व्यापार सहजीकरणका लागि कार्यालय हाताभित्रै बैंक अफ काठमाडौंको राजस्व संकलन काउन्टर स्थापना भएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार प्रमुख रामप्रसाद रेग्मीको भनाइ छ ।
रसुवा भन्सारमा दैनिक २५ लाखदेखि डेढ करोड रुपैयाँसम्म राजस्व संकलन भइरहेको छ। महामारीको रूपमा रहेको नोबेल कोरोना भाइरसको संक्रमणका कारण केरुङबाट सामान बोकेका गाडीको आयातमा कमी हुँदा राजस्व असुलीमा असर देखिएको रेग्मीको भनाइ छ। काठमाडौंदेखि १ सय ५२ किलोमिटर उत्तर भोटेकोसी नदी किनारामा रहेको रसुवागढी नाकामा सहज रूपमा आयात–निर्यात नहुँदा रसुवा भन्सारको राजस्व असुलीको लक्ष्य भेट्न समस्या भएको छ। चीनले हाल दैनिक आफ्ना पाँच वटा गाडीमा नेपालतर्फ सामान झारिदिने गरेको छ। चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन्। रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवाशुल्क, कृषि सुधार, अन्तःशुल्क, भ्याटलगायत शुल्कबापत भन्सार असुली गर्ने गर्छ। चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, जलविद्युत् आयोजनालगायतका सामग्रीहरू भित्रिने गरेको छ। केरुङ रसुवागढीबाट २४ किलोमिटर उत्तरपश्चिममा रहेको छ। नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ।