विदेश छाडेर ढुंगाखानीमा भविष्य खोज्दै युवा

विदेश छाडेर ढुंगाखानीमा भविष्य खोज्दै युवा

बागलुङ : गल्कोटका नगरपालिका–६ भुजुङका ४० बर्से खगेन्द्र श्रीस ८ वर्ष साउदी अरबमा काम गरेर फर्किए । गाउँ फर्किए पनि केही समय विदेश मोहले उनको मन फेरि तान्यो । २ वर्षअघि जापान जान भिसा अप्लाइ पनि गरे । तर, अधिकांश गलकोटे युवाको गन्तव्य बनेको जापान जाने उनको प्रयास असफल भयो । ‘८ वर्ष साउदीमा काम गरेर स्वदेश फर्किएँ तर फेरि विदेश नै जान मन लाग्यो,’ उनले भने, ‘भिसा लागेन।’ उनी केही समय निराश पनि भए । अहिले भने उनी ढुंगाखानीमा व्यस्त मात्र छैनन्, गाउँलेलाई रोजगारीसमेत दिन सफल भएका छन् ।

‘निराश भएर गुनासो गर्दै बस्ने कि नयाँ विकल्प र व्यवसाय रोज्ने भन्नेमा धेरै सोचें,’ उनले भने, ‘अन्ततः आफ्नै बाउबाजेको गर्दै आएको पुर्ख्यौली काम ढुंगा खानीलाई व्यवस्थित र व्यावसायिक बनाउने निर्णय गरें ।’ त्यही निर्णयले आफ्नो जीवनमा सफलता र सन्तुष्टीको बाटोमा अघि बढाएको अनुभूति भएको उनी प्रसन्नतापूर्वक बताउँछन् । उनले नै पहिलो पटक ०५७ सालमा भुजुङमा स्लेट काट्ने उपकरण र सीप भित्र्याएर ढुंगाखानी सञ्चालनमा ल्याएका थिए । खानीबाट मासिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म कमाइ हुने गरेको उनी बताउँछन् । उनले ढुंगाखानीमा १० जना गाउँलेले रोजगारी पाएका छन् ।  गाउँमै स्लेटको व्यापार राम्रो भएकाले बाहिर बजार खोज्नु नपरेको बताए ।

साउदीमै ८ वर्ष काम गरेर घर फर्किएका तुलबहादुर परियारले पनि परिवारसँगै बसेर गर्ने ढुंगाखानीको कामले पारिवारिक सन्तुष्टी दिएको बताए । ‘आफ्नै देशमा, आफ्नै गाउँमा काम गर्न पाउँदा खुसी छु,’ उनले भने। बाउबाजेले गर्दै आएको कामलाई नै निरन्तरता दिँदै आफ्नै गाउँठाउँमा जीवनयापन गर्न पाउँदा आनन्दको अनुभूति भएको उनको भनाइ छ । 

मजदुरले स्लेटको एउटा ‘कटपिस टायल’ काटेको ३ रुपैयाँ पाउँछन् । एक जनाले दिनमा ४/५ सयसम्म स्लेटको टायल काट्छन् । धेरै ढुंगा उत्खनन् हुँदा महिनाकै ३५/४० हजारसम्म कमाउँछन् । घर छाउन, जमिनमा बिछ्याउन, घरको भित्तामा प्रयोग हुने स्लेट टायलको अहिले नेपालभरि नै माग धेरै छ । तर, कालोपत्रे सडक नबन्दा र उद्योगसम्बन्धी कानुनी जटिलताका कारण बाहिर पठाउन नपाएको गुनासो श्रीसको छ ।

स्लेटका टायलकै कारण यतिबेला 'स्टोन भिलेज'का रूपमा समेत भुजुङ चिनिन थालेको छ । स्टोन भिलेजकै नामबाट यहाँको होमस्टेको पनि नामकरण गरिएको छ । ‘अब ढुंगाखानी दर्ता गर्ने तयारीमा छौं, हामीले नगरपालिकासँग सडकको सहज पहुँच, उद्योगका लागि बिजुली उपलब्ध गराइदिनुस् भनेर अनुरोध गरेका छौं’, श्रीसले भने, ‘यति भएपछि खानी दर्ता गरेर कर तिर्छौं भनेर भनेका छौं ।’

महिलाले खानीबाट स्लेट गाउँसम्म बोकेर ल्याउँछन् । ३६ बर्सकी कुमारी श्रीसले घरको काम सकेर फूर्सदका बेला स्लेट बोक्दा पनि परिवारको जीविकोपार्जनमा धेरै भरथेग भएको बताइन् । ‘एउटा कटपिस ढुंगाको २ रुपैयाँ पाइन्छ । एक खेपमा १ सय ५० वटासम्म बोक्न सक्छौं’, उनले मुहार उज्यालो पार्दै भनिन्, ‘गाउँमा ढुंगाखानी भएकाले फूर्सदमा ढुंगा बोकेर घरखर्च चलाउन पाउँदा खुसी छु ।’ पुरुषले ढुंगा निकाल्छन्, स्लेट काट्छन्, तर महिलाले ढुंगा बोकेर सडकसम्म ल्याउँछन् र स्लेट ओसार्छन् ।

 

एक दिनमै ५ सय वटासम्म स्लेट तयार गरेको खानीमा कार्यरत भविन्द्र श्रीस बताउँछन् । ढुंगा पर्याप्त परिमाणमा निस्किए महिनाको ३०/४० हजार कमाइ हुने उनको भनाइ छ । ‘हाम्रा बाउबाजेले नेपालमा सम्पत्ति चिन्यो या जान्यो भने जेबाट पनि पैसा कमाउन सकिन्छ, ढुङ्गा, माटो, पानी जे बेचे पनि पैसा आउँछ भन्थे,’ उनले भने, ‘त्यो साँचो रहेछ भन्ने अहिले प्रमाणित भएको छ ।’

व्यावसायिक रूपमा स्लेट उत्खनन् हुन थालेको भने केही वर्ष मात्र भएको छ । अहिले 'स्टोन भिलेज'को रुपमा चिनिन थालेको भुजुङको परम्परागत पेशा र आम्दानी नै ढुंगाखानीमा जोडिएको थियो । पहिले पनि ढुंगा बेचेरै गाउँलेले जीविका चलाउँथे । पहिले छाना छाउने ढुंगा मात्र निकाल्ने गरिएको थियो । प्रविधिको विकाससँगै पछिल्लो समय टायलको विकल्पमा स्लेट उपयोग हुन थालेपछि व्यावसायिक तवरमै यहाँ तयार पारिने स्लेट टायलको व्यापारिक सम्भावना धेरै छ । तर, तीन तहका सरकारले ढुंगाखानी व्यवस्थित गर्नुपर्ने माग स्थानीयको छ ।

गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीले नगरपालिकाभित्रका सबै ढुंगाखानी व्यवस्थित गर्न पहल भइरहेको जानकारी दिए । ‘यहाँ ढुंगाखानीको राम्रो सम्भावना र अवसर रहेको हामीलाई जानकारी छ, तर कानुनी दायरामा ल्याउन सकेका छैनौं । यसबाट नगरपालिकाले कर पनि संकलन गर्न सकिरहेको छैन,’ भण्डारीले भने, ‘ऐन, नियम र मापदण्डभित्र रहेर ढुंगाखानी सञ्चालन गर्ने र व्यवस्थित गर्न सके स्थानीय व्यवसायीलाई सहज र सरकारलाई कर आउने भएकाले हामी त्यस्तो वातावरण बनाउन लागिपरेका छौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.