सम्पादकहरुसँग छलफल गर्दै प्रचण्ड-नेपाल समूह
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले देशको पछिल्लो राजनीतिक अवस्थाबारे सम्पादकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ। अन्तरक्रिया कार्यक्रम दरबारमार्गस्थित होटल याक एण्ड यतीमा जारी रहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।
छलफलमा अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड', माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्मालगायतका नेताहरु सहभागी छन् । प्रतिनिधिसभा विघटनपछिको राजनीतिक अवस्था, संसद विघटनविरुद्ध पार्टीले चालेको कदम र सम्पादकहरुको भूमिकाबारे छलफल गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। एक पक्षको नेतृत्व प्रचण्डले गरेका छन् भने अर्को पक्षको नेतृत्व प्रधानमन्त्री केपी ओलीले लिएका छन्। प्रधानमन्त्री ओलीले संविधानविपरित प्रतिनिधिसभा भंग भरेको भन्दै प्रचण्ड-नेपाल समूह आन्दोलित छ।
संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट परेका छन्। अदालतको संवैधानिक इजलासमा आइतबारदेखि रिटमाथि बहस सुरु भएको छ।