भारतले १० लाख डोज खोप दिने : दुई साताभित्रै अभियान

भारतले १० लाख डोज खोप दिने : दुई साताभित्रै अभियान

काठमाडौं : भारतले कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा १० लाख मात्रा (डोज) अनुदानस्वरूप उपलब्ध गराउने भएको छ। जसअनुसार पहिलो खेप हवाईजहाजबाट बिहीबार काठमाडौं ल्याइँदै छ।

‘सुरुमा अग्रपंक्तिमा रहेका योद्धाहरूलाई दिइनेछ। खोप बाँकी रह्यो भने जोखिममा रहेका अन्य जनसंख्यालाई उपलब्ध हुन्छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री हृदयेश त्रिपाठीले भने, ‘खोप लगाउने स्थिति यहीं थामिँदैन। बाँकी खोप खरिद प्रक्रिया अघि बढाएर पारदर्शी ढंगले उपलब्ध गराउँछौं।’

मन्त्री त्रिपाठीले पहिलो चरणमा चिकित्साकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति र सुरक्षाकर्मीलाई खोप लगाइने जानकारी दिए। खोप लगाउन आवश्यक तयारी पुगिसकेको उनले उल्लेख गरे।

उनले भारत सरकारले खोप उपलब्ध गराउनु मित्रताको अनुपम उदाहरण भएको बताए। आगामी दिनमा खोप खरिदमा पनि भारतको सहयोग महत्वपूर्ण हुने उनको भनाइ थियो। ‘पहिले फागुनसम्म खोप आउँछ भनेको थिएँ। तर, पहिलो खेप भोलि (बिहीबार) नै आउने भयो। मलाई पूरा विश्वास छ, मलाई कारबाही हुँदैन होला’, उनले ठट्यौली शैलीमा भने।

उनले कोरोनाविरुद्धको खोप स्वास्थ्य सामग्रीका रूपमा व्यावसायिकतामा मात्र सीमित नरहेको बताए। ‘सीमित देशका सीमित कम्पनीले मात्र उत्पादन गरिरहेकाले खोप राजनीतिक सामग्री भइसकेको छ’, उनले भने।

मन्त्रालयमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय राजदूत विनयमोहन क्वात्रा सहभागी थिए। राजदूत क्वात्राले कोरोना खोपले समुदायमा लाभ पुग्ने बताएका थिए।

खोप अभियान दुई साताभित्रै
स्वास्थ्य सेवा विभागले खोप उपलब्ध भएको दुई साताभित्रै मुलुकभर खोप अभियान सुरु गर्ने योजना बनाएकोे छ। सरकारले कुल जनसंख्याको ७२ प्रतिशतलाई निःशुल्क खोप उपलब्ध गराउने लक्ष्य लिएको छ। जसमध्ये पहिलो चरणमा ३ प्रतिशत अर्थात् ९ लाख ११ हजार, दोस्रो चरणमा ५१ लाख र तेस्रो चरणमा ४० देखि ५४ वर्षका २९ लाख जनालाई खोप दिइनेछ।

विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले खोप उपलब्ध भएपछि स्वास्थ्यकर्मीलाई यसबारे अभिमुखीकरण गराइने बताए। ‘हवाईजहाजबाट चिस्यान अनुकूल मिलाएर ल्याइएको खोप अवतरणपछि भण्डारण र वितरणको काममा पनि लाग्नुपर्छ’, शाखा प्रमुख डा. गौतमले अन्नपूर्ण पोस्ट्सँग भने, ‘सातै प्रदेशमा एकसाथ खोप लगाउने तयारी छ। खोप लगाउने कार्यको सुरुवात छिट्टै गर्छौं।’ खोप अभियान कहिले सुरु गर्ने भनेर मितिको टुंगो भने लागिनसकेको डा. गौतमले सुनाए।

मन्त्रिपरिषद्को कात्तिक २४ गते बसेको बैठकले आकस्मिक प्रयोगका लागि स्वीकृत भएको खोप खरिद गरी प्राथमिकताका आधारमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो।
सोहीअनुरुप औषधि व्यवस्था विभागले आपत्कालीन प्रयोगका लागि माघ २ गते ससर्त अनुमति दिएको खोप आयात गर्न लागिएको हो। यससँगै सेरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड र एस्ट्राजेनेकासँग मिलेर बनाएको कोभिसिल्ड नेपालमा प्रयोगको अनुमति पाउने पहिलो खोप बनेको छ। यही खोप लगाउने अभियान भारतले अगाडि बढाएको छ।
खोप शाखा प्रमुख डा. गौतमका अनुसार यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेडमा भण्डारण गर्न सकिन्छ। झन्डै २० प्रतिशत नागरिकका लागि कोभिसिल्ड भण्डारण गर्न सकिने पूर्वाधार रहेको उनले बताए।

मन्त्री त्रिपाठीले भारतले उपलब्ध गराउने खोप नेपालमा ढुवानी र भण्डारणका लागि उपयुक्त मानिएको बताए। ‘हाम्रा लागि उपयुक्त छ’, उनले भने। मुलुकभर ९ हजार खोप केन्द्र छन्। कोरोनाविरुद्धको खोप अस्पतालमा लगाउने व्यवस्था मिलाइएको डा. गौतमले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.