बैंकमा पनि कोटामा काम

बैंकमा पनि कोटामा काम

गोरखा : राष्ट्रिय वाणिज्य बैंकको गोरखा शाखामा सुन धितो राखेर कर्जा लिन गएका १० जना सोमबार बिहान भित्र पस्नै नपाई फर्किए । अनेक बिन्तीभाउ गर्दा उनीहरूलाई सुरक्षागार्डले भने, ‘क्यासियर सापले कसैलाई भित्र नपठाऊ भन्नुभएको छ । तपाईंहरू भित्र गए मैले गाली खान्छु ।’

धेरै चिन्ता गर्नेलाई उनी थप जवाफ दिइरहेका थिए, ‘क्यासियर सापको सरुवापत्र आएको छ । त्यसैले उहाँले काम गर्न छाड्नुभयो । अब पछि आउनू ।’

क्यासियर विराटकिशोर श्रेष्ठले माघ १ गतेदेखि काम गर्न छाडेका बैंकले जनाएको छ । ‘बरबुझारथको प्रक्रिया चलिरहेकाले अहिले कर्जा प्रवाह रोकिएको हो’, शाखा प्रबन्धक कपिल कार्कीले भने ।

त्यसो त सोमबार मात्र होइन, सुन धितो राखेर कर्जा लिन जानुभयो र तपाईं लाइनको ११ औं नम्बरमा पर्नुभयो भने अरू बेला पनि गार्डले रोक्छ । जति बिन्तीभाउ गर्नुस्, गार्डको एउटै जवाफ हुन्छ, ‘क्यासियर सापले १० जनाभन्दा एक जना पनि भित्र नपठा भन्नुभएको छ ।’ पठाए आफूलाई कराउने उनले बताए ।

क्यासियर श्रेष्ठको आदेशअनुसार १० जनाले मात्र प्रवेश पाउँदा टाढा–टाढाबाट आएका सेवाग्राही बाहिरको बाहिरै पर्ने गरेका छन् । ‘नजिकैबाट आएकालाई त फेरि भोलिपल्ट पनि आउँदा केही फरक नपर्ला । तर, टाढाबाट आउनेहरू त्यति कामका लागि होटलका बस्नुपर्ने हुन्छ’, दिनहूँ उनीहरूको समस्या देखिरहेका स्थानीय आत्माराम श्रेष्ठले भने, ‘चिनेजानेकाहरूले चाहिँ टेलिफोन गरेर सोर्सफोर्स लगाएर जसरी पनि काम पट्याउँछन् । टाढाबाट आउने सर्वसाधारणले सास्ती पाएका छन् ।’ साधारण कामका लागि क्यासियर श्रेष्ठका कारण आफूले बारम्बार सास्ती पाएको उनले बताए ।  

शाखा प्रबन्धक कार्कीले भने कोटा प्रणाली नलगाइएको प्रतिक्रिया दिएका छन् । ‘बिहान ७ देखि पौने ९ बजेसम्म आउनेको काम गर्ने गरेका छौं’, कार्कीले भने, ‘दिउँसो नभ्याउने भएर सुन कर्जाको काम बिहान गर्ने गरिएको हो । बिहान १० जनाभन्दा धेरै भ्याउँदा पनि भ्याइँदैन ।’
बैंकले सेवाग्राहीको कोटा तोक्न नपाइने राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रदेश कार्यालयका प्रमुख प्रमोद अधिकारीले बताए । ‘सकेसम्म सेवा दिने हो, बैंकले सेवाग्राहीको कोटा तोक्नु हुँदैन’, उनले भने, ‘त्यहाँ के भएको रहेछ, म कुरा गर्छु ।’

यसअघि जिल्ला प्रशासन कार्यालयले कोटामा काम गर्दा सेवाग्राहीलाई परेको असरबारे अन्नपूर्ण पोस्ट्मा समाचार प्रकाशन भएको थियो । त्यसलगत्तै प्रमुख जिल्ला अधिकारीले कोटा प्रणाली सच्याएर कार्यालय समयमा सकेजति काम गर्न सुरु गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.