सर्लाही बस दुर्घटना : दुई जनाको मृत्यु, पाँच गम्भीर (अपडेट)
मलंगवा : सर्लाहीको हरिवन नगरपालिका-४ मा बिहीबार बिहान बस पल्टिँदा दुई जनाको मृत्यु भएको छ। दाङबाट पूर्वको काकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो। दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका ५ की ३६ वर्षीया राजकुमारी चौधरी र सोह स्थानकी २३ वर्षीया निर्मला चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए। राजकुमारीको घटना स्थलमै मृत्यु भएको हो। निर्मलालाई उपचारका लागि बीरगंज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको उनले बताए।
गम्भीर घाइते हुनेहरुमा बस चालक रुपन्देही बुटवलका ३५ वर्षीय अर्जुन ज्ञावली, बस सहचालक रुपन्देही लुम्बिनीका २३ वर्षीय किशोर सुवेदी, दाङ राप्तीका २३ वर्षीया रीता चौधरी, महोत्तरीका ३५ वर्षीय बसन्तकुमार ठाकुर र बाराकी ३० वर्षीया सरिता चौधरी रहेका छन्। उनीहरुलाई वीरगंजको न्युरो अस्पतालतर्फ उपचारका लागि पठाइएको छ। बसमा ३० जना यात्रु सवार थिए।