काठमाडौं उपत्यकामा थप १९८ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा ७३ महिला र १२५ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाका सहित ३३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ५ हजार ३० स्वाब परीक्षण गर्दा १२२ महिला र २१४ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा अहिलेसम्म २० लाख ३१ हजार ७५६ जनाको आरटी पीसीआर परीक्षण भएको छ। बिहीबार थप ५ हजार ३० स्वाब परीक्षण गरिएको थियो। योसहित कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ । जसमध्ये २ लाख ६२ हजार ८६८ जनाले कोरोना जितेका छन् । बिहीबार थप २६६ जना डिस्चार्ज भएका छन्। यो ९७.९ प्रतिशत हो।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ७९ पुगेको छ । बिहीबार थप ४ जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या ३ हजार ७९९ छ । यस्तै १७२ जना क्वारेन्टिनमा छन् भने ३ हजार ७९९ जना आइसोलेसनमा छन्।
यस्तै मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १५० जना आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।