अचाक्ली महँगियो भान्छा

अचाक्ली महँगियो भान्छा

काठमाडौं : कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ। तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। यसले गर्दा रोजगारी गुमाएका र कम ज्यालामा काम गर्ने वर्ग बढी मारमा परेका छन्।

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो दुई साता अवधिमा दैनिक उपभोग्य वस्तुको मूल्य निकै बढेको छ। ‘पछिल्लो डेढ वर्षमा सबैभन्दा बढी खानेतेलमा मूल्य बढेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘प्रतिलिटरमा १ सय रुपैयाँसम्म बढ्यो।’

संघका अनुसार तोरीको तेल दुई साताअघि प्रतिलिटर २ सय ४५ मा पाइन्थ्यो। अहिले २ सय ७५ देखि २ सय ८० रुपैयाँसम्म पर्छ। भटमासको तेल प्रतिलिटर १ सय ७५ देखि १ सय ८० रुपैयाँसम्म पथ्र्यो। यसको मूल्य बढेर २ सय २५ रुपैयाँ पुगेको छ। त्यस्तै २ सय १० देखि २ सय २० प्रतिलिटरमा पाइने सनफ्लावरको तेल २ सय ३५ देखि २ सय ४० पर्न थालेको छ। प्रत्येक जातको चामलको भाउ प्रतिबोरा ५० देखि १ सय रुपैयाँसम्म वृद्धि भएको संघले जनाएको छ। प्रतिकिलो १ सय २५ मा पाइने हरियो केराउको मूल्य १ सय ४० र सेतो केराउको मूल्य ८० रुपैयाँबाट १ सय रुपैयाँ पुगेको छ।

संघका अनुसार भारतमा चामल उत्पादनमा कमी र भारतले नै भियतनामबाट महँगोमा आयात गरेकाले नेपालमा पनि त्यसको प्रभाव परेको हो। नेपालमा चामल उत्पादन भए पनि अधिकांश उपभोक्ताले प्रयोग गर्ने भारतबाट आयातीत चामल हो।

उत्पादक र सरकारको मिलेमतोमा खानेतेलको मूल्य बढेको श्रेष्ठको दाबी छ। उनका अनुसार विश्वबजारमा कच्चा पदार्थको मूल्यवृद्धि, भाडा वृद्धि, कच्चा पदार्थ अभावलगायत समस्या कात्तिकमा नभए पनि उद्योगबाट कात्तिकमै उत्पादन भएको र हाल बजारमा आएको खानेतेलको मूल्य बढेको हो।

‘खुद्रा व्यापारीले पनि मौकाको फाइदा उठाउँदै तोकिएको मूल्यभन्दा बढी उपभोक्ताबाट असुल गरेका छन्’, श्रेष्ठले भने। यो विषयमा आफूले जानकारी दिए पनि सरकारी निकायले चासो नदेखाएको उनको गुनासो छ। बजारमा देखिएको मूल्यवृद्धि पछाडि व्यापारीको मनपरीलाई उपेक्षा गर्न सकिन्न। तर, यससँगै ग्लोबल मार्केटको प्रभावलाई पनि नकार्न मिल्दैन।

विश्वबजारकै प्रभाव
कोभिड १९ कारण विश्वभर कच्चा पदार्थको उपलब्धता न्यून छ। त्यसमाथि कच्चा पदार्थकै मूल्य बढेको छ। कन्टेनर भाडादर झण्डै ३ गुणाले वृद्धि भएको छ। महँगो भाडा तिर्दा पनि समयमा कन्टेनर नपाइने र कोलकाता बन्दरगाहबाट वीरगन्ज सुख्खा बन्दरगाहसम्मको ट्रान्जिट कष्ट (मूल्य) मा वृद्धिलगायत समस्या पनि देखापरेका छन्। यसको प्रभाव कुनै न कुनै रूपमा उपभोग्य वस्तुमा पर्ने र अन्ततः उपभोक्ता मारमा पर्छन्। 

अधिकांश उत्पादनमूलक उद्योग आयातित कच्चा पदार्थबाट चलेका छन्। एस टर्मिनल एन्ड लजिस्टिक कम्पनीका सञ्चालक अशोक टेमानीका अनुसार अन्तर्राष्ट्रिय बजारमा परेको असरका कारण नेपाली उत्पादनसँगै र भान्छा महँगो भएको हो। यस्ता कारणले दैनिक उपभोग्य वस्तुसहित, निर्माण सामग्री, प्लास्टिकका सामानलगायत सबैको लागत वृद्धि भएको टेमानी बताए। उद्योग वाणिज्य महासंघको पारवहन समितिका सभापतिसमेत रहेका टेमानीका अनुसार कोभिड–१९ को महामारीपछि केही खुकुलो भएको सामुद्रिक सिपिङ ट्रान्सपोर्ट क्षेत्रले असोज १५ देखि कन्टेनर ढुवानी खर्च झन्डै तीन गुणाले वृद्धि गरेको थियो। चीनबाट भारतको कोलकातासम्म २० फिटको कन्टेनरको ढुवानी खर्च ९ सयबाट वृद्धि भई २ हजार ८ सय डलर पुगेको उनले उल्लेख गरे।

पहिले चीनबाट एक कन्टेनर सामान कोलकाता बन्दरगाहसम्म आयात गर्दा १ लाख रुपैयाँ लाग्थ्यो। अहिले साढे ३ लाख रुपैयाँ तिर्दा पनि आयात गर्न सम्भव नभएको टेमानीले बताए।

अर्जेन्टिना, ब्राजिल र युक्रेनबाट कोलकातासम्मको भाडादर प्रतिटन ६५ बाट १२० डलर पुगेको छ। ‘कन्टेनर ढुवानी खर्च वृद्धि, जहाज र कन्टेनरको न्यून उपलब्धता र ग्लोबल मार्केटमा कच्चा पदार्थको अभाव र उच्च मूल्यका कारण लागत खर्च तीन गुणाभन्दा बढीले बढेको छ’, उनले भने, ‘यसको प्रत्यक्ष असर उत्पादन लागतदेखि उपभोक्ता मूल्यसम्म परेको हो।’

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि हुँदा तेलको मूल्य बढेको निम्बस होल्डिङका कार्यकारी निर्देशक डा. दिनेश गौतमको दाबी छ। निम्बसले तोरी,  सोयाबिन र सनफ्लावर तेल उत्पादन गरी बजारीकरण गर्दै आएको छ।

उनका अनुसार भदौदेखि कन्टेनरको भाडा दर र तेल उत्पादन हुने कच्चा पदार्थको मूल्य विस्तारै वृद्धि हुन थालेको छ। ‘तर असोजदेखि ग्लोबल्ली मार्केटमा मूल्य निकै बढ्यो’, गौतमले भने, ‘कन्टेनरको भाडा दर वृद्धि, कच्चा पदार्थको अभाव र महँगिएको कच्चा पदार्थका कारण उत्पादन लागत वृद्धि हुँदा खानेतेललगायतको मूल्य बढेर आएको हो।’ मूल्यवृद्धिमा उद्योगीको फट्याइँ नभएको उनको दाबी छ।

उनका अनुसार ३ महिनाअघि प्रतिटन ५ सय २० डलर पर्ने तोरीको भाउ ६ सय ७० डलर पुगेको छ। यस्तै, प्रतिटन १ हजार डलर पर्ने सनफ्लावर गेडाको मूल्य १ हजार २ सय डलर पुगेको छ। ‘यसबाहेक हालसम्म अधिकांश कन्टेनरको मुभमेन्ट चीन र अमेरिकाबीच मात्रै बढी हुनुले पनि हामीजस्ता कच्चा पदार्थ आयात गरी उत्पादन गर्ने उद्योगलाई नोक्सानी भएको छ,’ गौतमले भने, ‘तेल उत्पादन गर्न क्यानाडा, अस्ट्रेलिया, युक्रेन, ब्राजिललगायतबाट शतप्रतिशत कच्चा पदार्थ आयात गर्नुपर्छ। तर, अधिकांश जहाज र कन्टेनरको मुभमेन्ट चीन र अमेरिका रुटमा छ। यसले गर्दा हामीले समयमा जहाज र कन्टेनर पनि सदुपयोग गर्न पाएनौं। यसको प्रत्यक्ष मार उत्पादन र उपभोक्तासम्म परेको छ।’

गौतमका अनुसार तेल तयार पार्न प्रयोग हुने गेडामा १ रुपैयाँ बढ्दा उत्पादित तेलको मूल्यमा ३ रुपैयाँ बढ्छ। यसका साथै डिसेम्बरमा कोलकाता पोर्टमा कामदारको हडताल, भारतमै तोरीको गेडाको मूल्य अस्वाभाविक रूपमा वृद्धिलगायत कारण खानेतेलको मूल्य बढेको गौतमले बताए।

चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालका अनुसार कन्टेनरको भाडा वृद्धि, कोलकातादेखि वीरगन्जसम्मको ट्रान्जिट कस्ट २० प्रतिशतले वृद्धि, प्रत्येक कच्चा पदार्थको मूल्यमा करिब २० प्रतिशतसम्म मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक सागर मिश्रले उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिको विषयमा अध्ययन भइरहेको जानकारी दिए। मिश्रले खानेतेललगायत केही उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिको कारक तत्वमा ग्लोबल मार्केटमा देखिएको प्रभावलाई मानेका छन्। ‘तापनि उद्योगी र भन्सारबाट प्रज्ञापनपत्र मगाएर अध्ययन गर्दै छौं’, मिश्रले भने, ‘अहिलेसम्मको अध्ययन गर्दा ग्लोबल बजारमा कच्चा पदार्थको अभाव, कच्चा पदार्थको मूल्यवृद्धि, कन्टेनरको भाडा दर वृद्धिलगायतको समस्या भेटिएका छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.