कर्मचारीमाथि हातपातपछि स्वर्गद्वारीमा कामकाज ठप्प
प्यूठान : स्वर्गद्धारी नगरपालिका भिंगृ प्यूठानमा कार्यरत प्रशासन तथा योजना अधिकृत पुरन चन्द्र आचार्यमाथी हातपात भएको भन्दै कामकाज ठप्प पारिएको छ बिहीबार बिहान कार्यालय समयभित्रै स्वर्गद्वारी नगरपालिका ७ का अध्यक्ष टेकबहादुर भट्टराई र वडा नम्बर ४ निवासी गणेशमान कालाथोकी (भिम)ले आफूमाथि हातपात गरेको अधिकृत आचार्यले विज्ञप्तीमार्फत जानकारी गराएका छन् । 'कार्यालयमा काम गरिरहेको बेला बोलाएर हातपात गरियो, आचार्यले भने,‘सानो काम छ भनी होटलमा बोलाएर गाली वेइजत र धम्की पनि दिए।'
कर्मचारी खटनपटनका विषयमा आफूले जिज्ञासा मात्र राखेको तर हातपात नगरेको कालाथोकीले प्रतिक्रिया दिएका छन् । 'दुईपटकसम्म टेबुल हानेको र पुरनचन्द्र जीको पिठ्यूमा हात राखेको हुँ, कालाथोकीले भने,'यो बाहेक अरु केही भएको होइन । यसलाई अतिरञ्जित गरियो ।’
कालाथोकी यसअघि नगरप्रमुख नेत्र बहादुर रोकायका सुरक्षा सल्लाहकारका रुपमा समेत नियूक्त थिए । माघ १ गतेदेखि लागुहुने गरी उनी सहित करार र अस्थायी कर्मचारीहरुको सेवाअवधि समाप्त भएको प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले बताएका छन् । तर, कालाथोकीले आफ्नो सेवा अवधि सकिएको बारेमा कुनै जानकारी नभएको बताएका छन् ।
सेवा ठप्प
कार्यरत ३३ जना कर्मचारीहरुले संयुक्त हस्ताक्षर गरी नगरपालिका र मातहतका कार्यालयहरुबाट प्रवाह गरिने सेवा ठप्प पारिएको जानकारी गराएका छन् । घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय , दोषीलाई कारबाही र कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा ठप्प पारेको उनीहरुले बताएका छन्।
घटनाको नेपाल निजामती कर्मचारी संगठन प्यूठानले पनि विरोध जनाएको छ । नगरपालिकामा यसअघि पनि पटक पटक झै-झगडा हुने गरेको थियो ।