अब ओलीले घुँडा टेक्नुको विकल्प छैन : झलनाथ
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ट नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले पार्टीलाई धोका दिएको आरोप लगाएका छन्। संसद विघटनविरुद्ध प्रचण्ड- नेपाल पक्षको शक्ति प्रदर्शनपछि आयोजित सभामा बोल्दै नेता खनालले यस्तो बताएका हुन्।
'केपी ओली विश्वासघाती रहेछन्। अब केपी ओली कमरेड रहेनन्। कमरेड रहनका लागि धेरै त्याग र तपस्या चाहिन्छ।' उनले प्रधानमन्त्री ओली पार्टीको भगौडा भएको भन्दै अरुलाई भगौडा नभन्न सुझाव दिए।
प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिगमनका विरुद्ध संघर्षको मैदानमा उत्रिनु परेको उनले बताए। देश, संविधान र सदनको रक्षा गर्नका निम्ति संघर्ष गर्नुपरेको भन्दै नेता खनालले ओलीले नसच्चिएसम्म नेकपाले सडक संघर्ष जारी राख्ने बताए।
'जबसम्म केपी ओलीले घुँडा टेक्दैनन्, जबसम्म संविधानको रक्षा हुँदैन। संविधानको रक्षा गर्नका लागि टाउकोमा कफन बाँधेर सडकमा हुन्छौं,' उनले बताए।
उनले नेकपा बलियो हुँदै गएकाले पार्टीभित्र गलत तत्वहरु पस्न नसक्ने दावी गरे। उनले पुस ५ गतेको घटना प्रधानमन्त्री ओलीको राजनीतिक कदम नभएर प्रतिगमन भएको स्पष्ट पारे।
'पुष ५ को घटना प्रधानमन्त्रीको राजनीतिक कदम नभएर प्रतिगमन हो। संविधान विरोध घटना हो। लोकतन्त्र विरोधी घटना हो,'उनले भने।
प्रचण्ड-नेपाल पक्षको नेकपा नै बलियो भएको भन्दै नेता खनालले प्रधानमन्त्री ओलीलाई सडकमा आएर हेर्न आग्रह गरे।
उनले संसद विघटन मुद्दामाथि सर्वोच्च अदालतले संविधानभन्दा बाहिर गएर फैसला नगर्ने विश्वास व्यक्त गरे। 'आजको सर्वोच्च अदालत हिजोका राजामहाराजले बनाएको अदालत होइन। ६२, ६३ को आन्दोलनले बनाएको हो। यसले संविधान बाहिर गएर फैलसा गर्न मिल्दैन।'