अख्तियारमा अछामका स्थानीय तहका २७ उजुरी दर्ता
अछाम: अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको कार्यालयमा स्थानीयतहबाट भएका कामको उजुरीको चाङ लाग्न थालेको छ । संघीयतापछि स्थानीय तहबाट भएका कामका बिषयमा अख्तियारमा उजुरीका गर्ने क्रम बढ्न थालेको हो ।
चालु आर्थिक वर्षमा अछामका स्थानीय तहका मात्रै २७ वटा उजुरी परेको अख्तियारले जनाएको छ । प्रदेश मातहतका कार्यालयका ४, संघ अन्तर्गतका १ र दश स्थानीय तहका गरी ३२ उजुरी दर्ता भएका सुचना अधिकारी हरिचन्द्र जोशीले जानकारी दिए ।
सबै भन्दा बढी ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाको ६/६ र सबै भन्दा कम चौरपाटी गाउँपालिकाको १ उजुरी परेको छ । त्यसैगरी मंगलसेन नगरपालिकाको ४, बान्नीगढी जयगढ गाउँपालिकाको ३, पंचदेवल बिनायक नगरपालिकाको २, रामारोशन गाउँपालिकाको र साँफेबगर नगरपालिकाको २ उजुरी सूचना अधिकारी हरिचन्द्र जोशीले जानकारी दिए ।
३२ उजुरी मध्ये १२ उजुरी मात्र फर्छ्यौट भएका छन् भने २० उजुरी फर्छ्यौट हुन बाँकी छन् । गत आर्थिक वर्ष ०७६/७७ मा ४० मध्ये १५ वटा मात्र फर्छ्यौट भएका छन् । गत वर्ष स्थानी यतहको ३४, प्रदेशको २ र संघको ४ वटा उजुरी परेको थियो । फर्छ्यौटमा ढिलासुस्ती हुदाँ उजुरीको चाङ लागेको छ ।
उपभोक्ता समितिमा आफ्नो मान्छे राख्ने, पुर्वाधारमा गुणस्तर काम नगरेको, किर्ते हस्ताक्षर गरे रकमको दुरुपयोग र अधिकारको दुरुयोग गरेका जस्ता प्रकृतिका उजुरी आउने गरेको जोशीले बताए । केही उजुरीहरु रिसिबीका कारण पनी आउने गरेको अनुसन्धानका क्रममा देखिएको अख्तियारले जनाएको छ । सुदुरपश्चीम प्रदेशका अछाम र बाजुरा सबै भन्दा कम उजुरी पर्ने जिल्ला रहेको अख्तियारले जनाएको छ । पछिल्लो समय यी दुई जिल्लाबाट पनी उजुरी गर्ने क्रम बढेको छ ।
चालु आर्थिक वर्षमा ०७७/७८ मा बाजुराका २३, डडेल्धुराका ३६, दार्चुलामा ४६, बैतडीका ४९, बझाङ्गका ५४,डोटीका ७३, कञ्चनपुरको ४१ र कैलालीका ७६ उजुरी परेका अख्तियारको तंथाकमा रहेको छ ।