नेपाल–चीन व्यापारमा अवरोध

नेपाल–चीन व्यापारमा अवरोध

काठमाडौं : २०७२ वैशाखको भूकम्पपछि पटक–पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रूपमा सञ्चालनमा आउन सकेका छैनन्। चीनले पछिल्लो समय अन्य मुलुकसँग अर्बौंको आयात–निर्यात व्यापार गरिरहे पनि नेपालको हकमा ‘शून्य कोभिड’को नीति अवलम्बन गरेको छ। त्यसको प्रत्यक्ष असर नेपाल–चीन व्यापारमा परेको छ भने करोडौं लगानी गरेका व्यवसायी बिचल्लीमा परेका छन्। 

नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल हिमालय सीमापार वाणिज्य संघलगायतले चीनले पछिल्लो समय द्विपक्षीय व्यापारमा नेपालसँग ‘अघोषित नाकाबन्दी’ लगाएको आरोप लगाएका छन्। यस्तो अवस्थाका कारण गार्मेन्ट, जुत्ताचप्पल, मोबाइल एसोसरिज, इलेक्ट्रोनिक्स सामान र उपकरण, विभिन्न प्रकारका कच्चापदार्थलगायत सामान चीनतिरै अड्केको व्यवसायीको भनाइ छ।

महासंघका अध्यक्ष नरेश कटुवालले १५ महिनादेखि चीनले कुनै न कुनै बहानामा तातोपानी र रसुवा नाकामार्फत हुने आयात–निर्यात व्यापारमा अवरोध पु¥याएको बताए। ‘हामीले यो अवरोधलाई अघोषित नाकाबन्दीका रूपमा बुझ्नुपर्छ’, अध्यक्ष कटुवालले भने, ‘चीनको नीतिका कारण हामी व्यवसायी सडकमा आइपुग्यौँ। करोडौं घाटा व्यहोरिसक्यौँ।’

विभिन्न दलका नेता, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग, परराष्ट्र मन्त्रालयलाई पटक–पटक ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएको व्यवसायीको गुनासो छ।

कटुवालका भूकम्पमा क्षतिग्रस्त बनेको मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि आंशिक रूपमा खोलिएको तातोपानी नाका विभिन्न बहानामा दर्जनौं पटक अवरुद्ध पारिएको छ। दैनिक सय कन्टेनर आउने उक्त नाका पुनः खुले पनि १० भन्दा बढी संख्यामा कन्टेनर नआएको व्यवसायीको भनाइ छ। तातोपानी नाका पटक–पटक अवरुद्ध भएका कारण व्यवसायीले वैकल्पिक मार्गका रूपमा केरुङ–रसुवागढी नाका प्रयोग गर्न थालेका हुन्।

‘तर, पछिल्लो समय केरुङ–रसुवागढी नाका पनि व्यवसायीका लागि अभिशाप नै बन्यो’, नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले भने, ‘नेपाली व्यवसायीको हकमा तातोपानी र रसुवा दुवै नाका अवरुद्ध पारियो।’

भूकम्पका कारण मितेरी पुल र भौतिक पूर्वाधार भत्केको भन्दै चीनले झन्डै ४ वर्षपछि ०७६ जेठ १५ गतेदेखि पुनर्निर्माणपश्चात् तातोपानी नाका खुला गरेको थियो। त्यसपछि पनि केही समय खुल्ने र केही समय बन्द भइराख्ने उक्त नाका कोभिड १९ को संक्रमणका नाममा अघिल्लो माघदेखि बन्द गरियो। त्यसपछि कात्तिक १५ गतेदेखि सामान्य रूपमा खुलाइएकामा मितेरी पुल मर्मतका नाममा जनवरी २१ देखि फेब्रुअरी ८ सम्म बन्द गरिएको छ।

कोभिड १९ को संक्रमणको बहानामा नेपाली कन्टेनर र व्यवसायीलाई चीनको खासा बजारसम्म जान पनि रोक लगाइएको छ। त्यसअघि नेपाली व्यवसायी र कन्टेनर सोझै खासासम्म जान पाउने व्यवस्था थियो। ‘तर, पछिल्लो समय सामान बोकेको चिनियाँ कन्टेनर तातोपानी बन्दरगाहसम्म आइपुग्छ’, पौडेलले भने, ‘नेपाली व्यवसायीले तातोपानी वन्दरगाहबाट अर्को कन्टेनरमा सामान लोड गरेर काठमाडौंसम्म आउनुपर्ने व्यवस्था बनाइयो।’

पौडेलका अनुसार तातोपानी नाकाबाट पहिले दैनिक ५० करोड मूल्यबराबरको सामान भित्रिन्थ्यो। तर, पछिल्लो समय दैनिक १० करोडको सामान भित्र्याउन पनि हम्मे परेको उनले सुनाए। ‘तातोपानीको विकल्प रसुवा नाका बने पनि त्यहाँबाट दैनिक २–३ करोडको मात्रै सामान भित्रिन्छ’, उनले भने, ‘चीनको यो नीतिका कारण हाम्रो व्यापार व्यवसाय पूर्णरूपमा धराशयी बन्यो।’

तातोपानीस्थित भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले मितेरी पुल मर्मत सम्भारका लागि उक्त नाका करिब २० दिनका लागि चीनले बन्द गरेको जानकारी दिए। मितेरी पुलमुनि बाढी र पहिरोका कारण कटान धेरै भएकाले मर्मत सम्भारका लागि नाका तत्कालका लागि बन्द गरिएको खत्रीले बताए।

चीनसँगको द्विपक्षीय व्यापारका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिक्क देखिएको छ। पटक–पटकको छलफलपछि पनि अवस्थामा सुधार नआएपछि विभागीय मन्त्री लेखराज भट्टले असन्तुष्टि व्यक्त गरेका छन्। मन्त्री भट्टले गत मंगलबार नेपाल इन्टरमोडल यातायात विकास समितिको २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै चीनको व्यवहारका कारण उक्त मुलुकसँगको व्यापारको विषयमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताएका थिए। छिमेकी मुलुक भएर पनि चीनले नेपालसँगको व्यापारमा गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको आरोप उनले लगाएका थिए।

मन्त्री भट्टले आइतबार अन्नपूर्ण पोस्ट्सँग चीनले कोभिडको समस्या देखाएर नेपालतर्फको द्विपक्षीय व्यापारमा अवरोध सिर्जना गरे पनि अन्य मुलुकसँग भने राम्रै आयात–निर्यात कारोबार गरिरहेको जानकारी दिए। ‘समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयका साथै हाम्रै मन्त्रालयको विभिन्न स्तरबाट पहल र छलफल भइरहेको छ’, मन्त्री भट्टले भने, ‘आशा गरौं निकट समयमै समस्या समाधान हुनेछ।’

रसुवागढी झनै महँगो
तातोपानी नाका लामो समय अवरुद्ध हुँदा व्यवसायीले रसुवागढी नाका रोजेका थिए। तर, उक्त नाका पनि फलदायी सावित नभएको व्यवसायीको भनाइ छ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीका अनुसार कोभिड १९ को संक्रमणअघि दैनिक करिब सय वटा कन्टेनर उक्त नाकाबाट आउँथे। तर, पछिल्लो समय दैनिक ५–६ वटा भित्र्याउन पनि समस्या छ। अहिले नयाँ सामान बोकेर कन्टेनर नआउने उनको भनाइ छ। गत वर्षकै सामान बोकेर बसेको करिब ४–५ सय कन्टेनरमध्ये ५–६ वटा आउने गरेको उनले सुनाए।

नेपाली व्यवसायी र कन्टेनरलाई केरुङसम्म जान दिइएको छैन। केरुङबाट सामानसहित हिँडेको कन्टेनर रसुवा नाकासम्म आइपुग्छ। त्यहाँबाट अर्को कन्टेनरमा सामान लोड गरी काठमाडौंसम्म भित्र्याउने गरिन्छ।

‘उता जान पनि दिएको छैन, नयाँ सामान पनि लिन दिएको छैन’, कार्कीले भने, ‘यसले गर्दा गत वर्ष खरिद गरेको र थन्केर बसेको थोत्रो सामान हामीले थोरथोरै परिमाणमा भित्र्याइरहेका छौं।’

केरुङ पोर्टबाट रसुवागढी नाकासम्म २६ किमि दूरीलाई करिब ६० हजार आरएमबी (१० लाख ८१ हजार रुपैयाँ) असुल गर्न थालिएपछि व्यवसायी झनै मारमा परेका छन्। कोभिडअघि केरुङबाट रसुवा नाकासम्मको भाडा दर १६ हजार आरएमबी (२ लाख ८८ हजार रूपैयाँ) थियो। उक्त दूरीमा भाडा दर ७ लाख ९३ हजार रुपैयाँ वृद्धि गर्दा लागत खर्च बढेर धान्नै नसक्ने अवस्था बनेको कार्कीले बताए।

---

निर्विवाद रूपमा आयात–निर्यात हुनुपर्छ 

प्रकाश दाहाल, सहसचिव, द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

सहसचिवस्तरीय द्विपक्षीय संयन्त्रको बैठक सेप्टेम्बर २८ मा सम्पन्न भयो। हामीले तातोपानी र रसुवा नाका निर्विवाद र सहज रूपमा सञ्चालन हुनुपर्ने विषयलाई बैठकमा मूल एजेन्डाका रूपमा उठाएका थियौं। त्यसपछि स्थानीयस्तरमा पनि पटक–पटक बैठक र छलफल भए। यसबाहेक चिनियाँ दूतावासमा पनि पत्राचार गरी ध्यानाकर्षण गराउने काम भएको छ। ल्हासास्थित महावाणिज्य दूतावासले पनि उताका व्यापारीसँग २–३ पटक बैठक बसेर छलफल गरेको छ।

महावाणिज्य दूतावासले फेब्रुअरी दोस्रो सातातिर उतातर्फको व्यापारिक मार्ग र बजारको विषयमा स्थलगत अध्ययन गर्ने भएको छ। तर, कोभिड १९ का कारण अनुमति भने पाएको अवस्था छैन। हामीले स्थलगत भ्रमण पनि गरेका छौं। अहिले तातोपानीको हकमा मितेरी पुल मर्मत गर्न फेब्रुअरी ८ सम्म बन्द गरिएको छ। हाम्रो अनुरोधमा उतापट्टि अध्ययन गर्दा तातोपानी नाकातर्फ चिनियाँ भूभागमा नेपाली ट्रक कन्टेनर आउन बाँकी छैन भनेर जवाफ आएको छ।

रसुवागढीको हकमा भने व्यवसायीसँग धेरै पटक कन्टेनर र ट्रक चीनको केरुङमा अलपत्र परेको विषयमा तथ्यांक माग गरेको छु। तर, हालसम्म प्राप्त भएको छैन। मालसामानसहितको कतिवटा कन्टेनर र ट्रक कहाँ कहाँ कुन अवस्थामा अलपत्र छन्, त्यो विषयमा विवरण माग गरेअनुसार हालसम्म तथ्यगत जानकारी आएको छैन।

हाम्रो महावाणिज्य दूतावासले पारिका व्यापारी र दुई यातायात व्यवसायीसँग कुराकानी गर्दा मोटामोटी ५०–६० वटा गाडी उता बाँकी छन् भनेर जवाफ आएको छ। तर, नेपाली व्यवसायीले करिब हजार संख्यामा सामानसहितको कन्टेनर उता रहेको जानकारी दिएका छन्। धेरै समयसम्म त्यहाँ रोकिएका कन्टेनर डाइभर्ट भएर विभिन्न रुट प्रयोग गरी भारत हुँदै नेपाल आएको जानकारी पनि प्राप्त भएको छ।

अहिले त एकतर्फी सामान चीनबाट मात्रै आइरहेको छ। हाम्रो भनाइचाहिँ उताबाट आयात हुँदा यताबाट निर्यात पनि हुनुप¥यो भन्ने हो। अब आयात–निर्यात दुवै निर्विवाद रूपमा खोल्नुपर्छ। उनीहरूचाहिँ जिरो कोभिड पोलिसी नीति लागू गरेको भन्छन्। कोभिडको भाइरस एक अर्कोमा नसर्ने समस्या समाधान भए पनि आयात–निर्यात सहज रूपमा खोल्छौं भनेर उनीहरू विभिन्न बैठक र छलफलमा भन्दै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.