शिक्षकको तलब गायब
विराटनगर : विराटनगर–१३ मा सञ्चालित ताजुल इस्लाम नमुना आधारभूत विद्यालय (मदरसा) का शिक्षकशिक्षिकाले दुई वर्षदेखि तलब पाएका छैनन्। तलब नपाएपछि उनीहरूलाई घर खर्च चलाउन समस्या भएको छ।
सो मदरसाकी शिक्षिका गायत्री ठाकुरले भनिन्, ‘दुई वर्ष भयो तलब पाएको छैन। तलब नपाउँदा कोठा भाडा तिर्न र खानै समस्या भएको छ।’ शारीरिक रूपमा अशक्त ठाकुर तलव पाउने वातावरण बनाउन आग्रह गर्दै पटकपटक विराटनगर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय धाएकी छिन्। तर, गुनासो कतैबाट सम्बोधन भएको छैन।
निम्न माध्यमिक तहको दरबन्दीको खबर पाएर अध्यापन गर्न आएकी मोरङको बूढीगंगा गाउँपालिका–७ की यादवले नियुक्ति भने निजी स्रोतको पाइन्। चार वर्षमा उनले ९० हजार रुपैयाँ मात्र पाएकी छन्। मदरसामा विवाद बढेपछि सो विद्यालयका १२ जना शिक्षकशिक्षिकाले दुई वर्षदेखि तलब पाएका छैनन्। व्यवस्थापन समितिबाट बर्खास्त गरिएका अध्यक्ष हैदर अलीले अनुदान रकम बैंक खाताबाट हिनामिना गरेपछि शिक्षकहरूको बिचल्ली भएको हो।
गत वर्षको मंसिरमा भएको अभिभावकको भेलाले हैदरलाई व्यवस्थापन समिति अध्यक्ष चयन गरेका थिए। विद्यालयको कुनै बैठकमा सहभागी नभएपछि शिक्षा नियमावलीअनुसार अभिभावकले उनलाई माघ २८ गते अध्यक्षबाट बर्खास्त गरेका थिए। हैदरले दोहोरो नागरिकता भएका मोरङको इस्लामपुरका शिक्षक जावेदलाई प्रधानाध्यापक बनाएर रकम हिनामिना गरेका वर्तमान प्रअ मौलहाना समसुल हकले बताए।
हक सो मदरसा स्थापनाकालदेखिका प्रअ हुन्। हैदर र जावेदले रकम हिनामिना गरेको पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारीको रोहवरमा रकम फिर्ता गर्ने सहमति भएको थियो। तर, रकम अझै फिर्ता नहुँदा आफूहरू आर्थिक समस्या परेको शिक्षक बताउँछन्। शिक्षा निर्देशनालय धनकुटाले पठाएको ४ लाख ९३ हजार ५ सयसहित मदरसाको नाममा रहेको करिब नौ लाख रुपैयाँ बैंकबाट हिनामिना भएको प्रअ हकले बताए।