व्यक्तित्वको टकराव
ओली–दाहाल युद्धमा माधव नेपाल र झलनाथ खनालहरूको भूमिका विवाहका जन्तीसरह मात्र हो
प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको केन्द्रीय सरकार र प्रदेश तथा पालिका सरकारहरूको करिब तीनबर्से कार्यकाल विकास र सुशासनको दृष्टिले अपेक्षाअनुरूप उल्लेख्य एवं सफल देखिएनन्। यद्यपि मुद्दा अहिले केन्द्रीय सरकार र त्यसमाथि पनि पार्टी अध्यक्षसमेत रहेका ओलीबाट भएको प्रतिनिधिसभा विघटनका विषयमा केन्द्रित छ र नेपाली जनमत यही मुद्दाका पक्ष र विपक्षमा केन्द्रित छ। पालिका र प्रदेश सरकारहरूको मूल्यांकन तथा समीक्षा भएको छैन। ती कुरा नेकपा विवाद, विभाजन र प्रतिनिधिसभा विघटनको छायामा परेका छन्। तर पनि संघीय प्रणालीअन्तर्गत तीनै तहका सरकार (प्रदेश २ सरकार र केही अपवाद पालिका सरकारबाहेक) प्रायः सबैजसो नेकपाकै नेतृत्वका सरकार भएकाले तीनै तहका सरकारको सफलता र असफलताको जस वा अपजस नेकपाकै थाप्लोमा जान्छ जुन अति स्वाभाविक हो।
नागरिक तहबाट तीनै तहका कम्युनिस्ट सरकारहरूको निष्पक्ष एवं वस्तुगत समीक्षा र मूल्यांकन गर्दा तीन वर्षको यो अवधिमा नेकपाको नेतृत्वले सरकार सञ्चालनलाई खासै प्राथमिकता दिएको देखिँदैन। देशले संघीय प्रणाली अवलम्बन गरेको विल्कुल नयाँ र नौलो अवस्थामा सबै तहका सरकारहरूको कार्यशैली, कार्यक्षमता, कार्यक्रम र पार्टीका नीति र कार्यक्रमअनुरूप सरकार चलेनचलेको, कार्यसम्पादन, कार्य सफलता र सम्पन्नताका आधारमा समीक्षा तथा मूल्यांकन गरी सहयोग वा प्रोत्साहन जे गर्न उचित छ, सो गर्नुपर्ने थियो तर नेकपा नेतृत्वले यो पक्षमा कहिल्यै ध्यान दिएन। प्रदेश र पालिका सरकारहरू ‘आफ्नै हात जगन्नाथ’ को शैली, मानसिकता र प्रवृत्तिबाट सञ्चालित छन् भने केन्द्रीय सरकारले चार नेता अर्थात् अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका स्वार्थ, महŒवाकांक्षा, आग्रह र पूर्वाग्रहको चक्रव्युहमै समय, साधन र स्रोत तथा ऊर्जा अपव्यय भयो। अतः तीनवटै तहमा नेकपाका सरकार प्रभावहीन रही असफल हुनुमा पार्टीका शीर्षस्थ चार नेता र तिनमा पनि कार्यकारी अध्यक्ष दाहालको बाघचाल नीति, त्यसलाई नेता माधवकुमार नेपालको पुठ तथा तिनका गुट जिम्मेवार छन्। चार नेताको चरम महŒवाकांक्षा, एकअर्काप्रतिका आग्रह र पूर्वाग्रहका कारण सात दशक लामो कम्युनिस्ट आन्दोलन एकै झोक्कामा धराशायी मात्र भएको छैन; विश्वका साम्यवादी जमातले नयाँ आशा र उमंगका साथ नेपाललाई एक्काईसौं शताब्दीको स्वप्निल एवम् उदाउँदो नवसाम्यवादी राष्ट्रका रूपमा हेरिरहेकामा त्यो सुन्दर तर मूर्तताको नजिकको सपना पनि अन्ततः स्खलित हुन पुगेको छ।
यसरी कम्युनिस्ट पार्टीको कलह र विभाजनले विश्व कम्युनिस्ट आन्दोलनको भाग्य र भविष्यमा जति मात्रामा धक्का र क्षति पुग्न गएको छ; राष्ट्रिय राजनीति र विदेश नीतिमा पनि त्यत्तिकै अकल्पनीय असर परेको छ। कुनै ठूलो उथलपुथल वा परिवर्तनका लागि देश र जनताले आजको दुरुह परिस्थिति भोग्नुपरेको भए चित्त बुझाउने ठाउँ हुन्थ्यो, जसरी दसबर्से जनयुद्धका क्रममा भएका धनजनको क्षतिप्रति त्यसका सकारात्मक पक्ष हेरेर आम जनताले चित्त बुझाएका थिए र छन्। तर यहाँ त रूपमा नेकपाका चार नेताबीचको कलह र वैमनस्य देखिए पनि सारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विगत लामो कालखण्डदेखि कायम एकअर्काप्रतिको चरम घृणा, द्वेष, ईष्र्या, प्रतिशोध र पूर्वाग्रहलाई नै भिडन्तका मुख्य कारक र कारण मान्नु अतिशयोक्ति हुँदैन। नेपालको राजनीति आज जहाँ र जुन अवस्थामा आइपुगेको छ; यसको चुरोमा अध्यक्षद्वय ओली र दाहालबीच लामो समयदेखि विद्यमान मानसिक र राजनीतिक द्वन्द्व रहेको स्पष्ट छ। दुवै नेताले नेपालको एक नम्बरको राजनेता बन्ने सपना र महŒवाकांक्षा पालेका हुन्, छन्। र, आआफ्नो स्थान र भूमिकामा सफल हुँदै पनि आएका हुन्। तर दुवै नेताले आफूलाई आफ्नो औशत इतिहासभन्दा बढी उचाइ र आयतनको आकलन गर्दा आजको दुर्भाग्यपूर्ण अवस्था निम्तिएको हो।
कम्युनिस्ट पार्टीको कलह र विभाजनले विश्व कम्युनिस्ट आन्दोलनको भाग्य र भविष्यमा जति मात्रामा धक्का र क्षति पुग्न गएको छ; राष्ट्रिय राजनीति र विदेश नीतिमा पनि त्यत्तिकै अकल्पनीय असर परेको छ।
तत्कालीन नेकपा, एमाले र नेकपा (माओवादी) बीच एकता हुनुअघिको अवस्थासम्म एउटा सामान्य परिवारबाट राजनीतिमा आएर पनि देशको ठूलो, सुव्यवस्थित एवम् त्यो बेलासम्म अनुशासित पार्टीको लोकप्रिय अध्यक्षमा निर्वाचित हुन र पटकपटक प्रधानमन्त्री बन्नमा प्राप्त सफलताले नेता ओलीमा महŒवाकांक्षा र आत्मविश्वास प्रवाहित भएको हुनुपर्छ। यसलाई समय र परिस्थितिको तकाजा नै मान्नुपर्छ कि मधेस आन्दोलनका कारण भारतबाट भएको नाकाबन्दीविरुद्ध उभिनबाहेक अन्य विकल्प नभएकाले पञ्चायतकालीन प्रधानमन्त्री मरिचमान सिंहसरह नै तात्कालीन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओली सो नाकाबन्दीविरुद्ध सतीसाल झैं नडग्मगाई उभिनुभयो, जसलाई आम नेपाली जनताको न्यानो साथ, समर्थन र सहयोग रह्यो। उहाँ भारतीय नाकाबन्दीविरुद्ध जडवत् खडा मात्र हुनुभएन; अपितु भूपरिवेष्टित नेपालका निम्ति व्यापार र पारवहनका लागि विकल्पको ठेगानसमेत गर्नुभयो। भारतको विकल्पमा चीन खडा भयो सैद्धान्तिक रूपमा। चीनसँग व्यापार र पारवहन सम्झौता गरेर नेपाल भारतीय दबाब र निगाहको बन्दी नभएको सन्देश दिन सफल हुनुभयो। यसको लाभ उहाँको नेतृत्व र नाममा २०७४ सालको निर्वाचनमा नेकपा–एमालेलाई प्राप्त भयो देशको सबभन्दा ठूलो पार्र्टी बनेर। चाहे काकताली परेर होस् अथवा नेतृत्व क्षमता र पौरखकै कारणबाट होस्; नेपालको इतिहासको एउटा कालखण्डमा नेपालको स्वाभिमान र सबल एवम् सकारात्मक राष्ट्रिय भावनाको विकास गराउनमा आफ्नो योगदान अतुलनीय रहेको गर्वानुभूति उहाँलाई नहुने प्रश्नै छैन। ओलीका ठाउँमा अरू कोही हुन्थ्यो भने सायद त्योभन्दा बढी गर्वको अनुभूति गथ्र्यो होला। त्यस्तो अनुभूति जसले महत्ता र महŒवाकांक्षालाई सगरमाथासँग प्रतिस्पर्धा गराउँछ। उहाँको अर्को उल्लेखनीय विशेषता यो रह्यो कि उहाँले दसबर्से माओवादी जनयुद्धको औचित्य र आवश्यकतालाई कहिल्यै स्वीकार गर्नुभएन, न त तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष एवं जनमुक्ति सेना, नेपालका सर्वोच्च कमान्डर प्रचण्डलगायतका जनयुद्ध सञ्चालकलाई नै सक्कली कम्युनिस्ट मान्नुभयो। यस्तो मान्यता र मानसिकताका नेता ओलीमा सम्भवतः आफू दुईतिहाइनजिक बहुमतीय कम्युनिस्ट सरकारको प्रधानमन्त्री भएपश्चात् मनोविज्ञान र मनोदशा थप चुलिएको होस्।
यस्तै, नेता ओलीभन्दा दस बित्ता अघि बढेर आफ्नो क्षेत्र र मिसनमा इतिहास रच्नमा सर्वाधिक सफल नेता आफू एक मात्र रहेको महत्ताबोध पुष्पकमल दाहाल उर्फ प्रचण्डमा हुने नै भयो। राजनीतिक घोडामा सवार हुन थालेदेखि नै नेता दाहाल पार्र्टी नेतृत्वमा सदैव शीर्ष स्थानमा रहिआउनु भएको मात्र होइन; अपितु १० वर्ष लामो सशस्त्र जनयुद्धको नेतृत्व एवं सञ्चालन गरेर एकताका विश्वका शक्तिसहित ११६ राष्ट्रले ‘शान्ति क्षेत्र’ स्वीकारेको शान्ति र अहिंसाका प्रवर्तक भगवान् बुद्धको जन्मभूमि नेपाललाई ‘क्रान्ति क्षेत्र’ मा रूपान्तरण गरी नेपालको परम्परा, इतिहास, मूल्यमान्यता, धर्म र संस्कृतिलाई निषेध गराएर उहाँको नाममार्फत प्रस्तावित तथा प्रक्षेपित एजेन्डालाई नेपालको नयाँ परिचय र प्रणालीका रूपमा स्थापित गरी कार्यान्वयन गराउन सफल हुनुभएको गर्वानुभूति उहाँमा छ नै। उहाँलाई पृथ्वीनारायण शाहको इतिहास मेटाएर आफ्नो इतिहास रच्न सफल ‘नयाँ नेपालका निर्माता’ मान्नेहरू पनि नभएका होइनन्। सायद उहाँ स्वयंले पनि आफू पृथ्वीनारायण शाहको विकल्प बन्न र भौतिक तथा राजनीतिक रूपमा नेपाली राजतन्त्र समाप्त गर्न–गराउन सफल भएको गर्विलो अनुभूति पालिरहनु भएको होला। धर्मनिरपेक्षता र संघीयतासहितको नेपालको वर्तमान गणतान्त्रिक संविधान दसबर्से सशस्त्र जनयुद्धको उपलब्धि हो; जो पुष्पकमल दाहालका एजेन्डामा आधारित रहेको मानिन्छ। यति ठूलो इतिहास रचिसकेको विश्वासको जगमा खडा पुष्पकमल दाहालमा देशको नेतृत्वपंक्तिमा आफू एक नम्बरको राजनेता दरिने वा कहलिने महŒवाकांक्षा जागृत हुनु स्वाभाविकै हो। छापामार युद्धको ताकत र सही राजनीतिक रणनीतिका माध्यमबाट राजा, सेनादेखि संसद्वादी कित्ताका शक्ति तथा व्यक्ति एवम् भारतलगायतका अन्तर्राष्ट्रिय शक्तिलाई सफलतापूर्वक खेलाएको अनुभव र अनुभूतिले प्रचण्डमा निरन्तर ऊर्जा र हौसला प्रवाहित हुनु अनौठो होइन।
एमाले र माओवादी एकीकृत भएर बनेको नेपाल कम्युनिस्ट पार्टी जोसँग तीनवटै तहमा दुईतिहाइनजिकका सरकार छन्; त्यस्तो पार्टीको एक नम्बरको सर्वशक्तिमान अध्यक्ष तथा रूपमा कम्युनिस्ट देखिने र भनिने नेपाली कम्युनिस्ट सत्ताको प्राधिकार बन्ने उहाँको चरम महŒवाकांक्षाको राजमार्गमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओली गहिरो खाडलका रूपमा उपस्थित भइदिँदाको परिणाम हो। प्रतिनिधिसभा विघटन र नेकपाको राजनीतिक विभाजन भन्ने स्वतन्त्र विश्लेषक धेरै छन्। यथार्थमा ओली र दाहालबीचको पार्टी एकता कम्युनिस्ट आन्दोलनको विकास र थप सुदृढीकरणका लागि नभई सत्ता स्वार्थका लागि भएको थियो भन्ने तथ्य एकतासँगै दुई अध्यक्षबीचका अस्वाभाविक सम्बन्ध र व्यवहारले पुष्टि गरेका छन्।
यथार्थमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दसबर्से सशस्त्र जनयुद्धकालदेखिकै एकअर्काका विरोधी हुन्। ओलीले दाहाल नेतृत्वको जनयुद्धको आवश्यकता र औचित्यलाई सधैं लल्कार्दै आउनुभयो। अध्यक्ष दाहाललाई पनि वास्तविक कम्युनिस्ट नेताका रूपमा स्वीकार गर्नुभएन। दसबर्से सशस्त्र जनयुद्धको दौरान राजा, दरबारका भाइभारदार, सेना र प्रायः सबै दलका नेताहरूलाई कज्याउन र आफ्नो पक्षमा प्रयोग तथा उपयोग गर्न दाहाल सफल हुनुभयो तर ओली मात्र एकजना त्यस्तो नेता रहनुभयो; जसलाई दाहालले अलिकति पनि हल्लाउन र तरंगित तुल्याउन सक्नुभएन। अर्थात् ओली र दाहालको रसायन कहिल्यै मिलेन। राष्ट्रिय राजनीतिक भूमिकामा आएदेखि आजपर्यन्त एक खोरमा रहेका दुई रिसाहा बाघजस्ता छन् एकअर्काप्रति। फरक धातुका यी तत्व एउटै पार्टीको अध्यक्ष भएपछि एउटाको निषेधमा मात्र आफ्नो इतिहास र अस्तित्व देख्न थाले। ओलीमा नेकपा–एमालेजस्तो विशाल पार्टीको निर्वाचित अध्यक्ष भएको मनोविज्ञानले काम गरेको थियो र छ भने दाहाललाई संसार जितिआएको सन्दर्भमा ओलीको मातहतको जस्तो भान पर्ने गरी दोस्रो अध्यक्ष भएर काम गर्दा निकट अतीतले गिज्याउने पीडा र हीनताबोधले चिमोटेको हुनुपर्छ। यथार्थमा ओलीले दाहाललाई साइजमा राख्न खोजेका वा चाहेकै हुन्। र, दाहालले पनि ओलीलाई राजनीतिक रूपमा निषेध गरेर नेपालको एक्काइसौं शताब्दीको कम्युनिस्ट आन्दोलनको एक्लो र सर्वेसर्वा प्राधिकारी हुने उद्योग गरेकै हुन्। यसरी समकालीन नेपालको एक नम्बरको राजनेता कहलिएर देश सञ्चालन गर्ने महŒवाकांक्षा राखेर अघि बढेका दाहालको बाटोमा ओली तगारो भएपछि दुई नेताबीच निर्णायक टकराव हुने नै भयो। एकले अर्कालाई पछार्ने दौडमा प्रतिनिधिसभा विघटन गरेर ओलीले प्रधानमन्त्री पद जोगाउनुभएको हो, दाहालको चालबाजी र रणनीतिलाई मात दिन भ्याउनुभएको हो। ओलीले थोरैमात्र विलम्ब गरेका वा असावधानी बर्ताएको भए प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता गराएर दाहालले तत्कालै भ्याइदिनुहुने थियो। फलत : राजनीतिक मृत्युवरण गर्दै बालकोटतर्फको यात्रा तय गर्न नेता विवश हुनुहुने थियो। जहाँसम्म ओली–दाहाल युद्धमा माधव नेपाल र झलनाथ खनालहरूको भूमिका तथा प्रभावको प्रश्न छ; उहाँहरू अन्ततः यस प्रकरणमा विवाहका जन्तीसरह मात्र हो ।