कोरोनाको नयाँ रूप र असर

कोरोनाको नयाँ रूप र असर

एक सातामा विश्वभर ५० लाखभन्दा धेरै मानिस कोभिडबाट संक्रमित हुने गरेका छन्। तीमध्ये सबैभन्दा धेरै अमेरिकामा भएको तथ्यांक छ


नयाँ वर्षको सुरुवातसँगै विश्वका वैज्ञानिक र विभिन्न देशका प्रमुख कोभिडविरुद्धको खोप विकास भएकोमा खुसी देखिन्थे। ठूलो मात्रामा खोप वितरणको कामसमेत अघि बढिसकेको थियो।

कोभिडबाट अति प्रभावित देशमध्येको एक बेलायतका अधिकारीहरू सबैभन्दा तीव्र गतिमा खोप विकास गर्न सकेकोमा खुसी थिए। तर बेलायतमै खोप वितरणसँगै कोभिडको अर्को झट्काले झन् सकस निम्त्यायो। यो दोस्रो लहरको कोभिड पनि थिएन। विज्ञहरूले यसलाई कोरोना भाइरसको नयाँ स्वरूप भनेका छन्। जुन भाइरसले बेलायत मात्रै नभएर सिंगो विश्वलाई झन् अन्योल र चुनौती थपिदिएको छ।

सबैभन्दा तीव्र गतिमा फैलिने भनिएको कोरोनाको पछिल्लो स्वरूप बुधबारसम्म कम्तीमा ६० वटा देशमा फैलिइसकेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख नाघिसकेको छ।

विश्वव्यापी रूपमा यसले गहिरो चासो र चिन्ता थपिदिएको छ। विश्वभर खोप विस्तारको काम सकिसक्दा यसको संक्रमणलाई कसरी कम गर्ने भन्नेमा विभिन्न देशहरूबीच नै विवाद उत्पन्न भएको छ।

अघिल्लो साता मात्रै एक सातामै ९३ हजार नयाँ मृत्यु भए। सोही सात दिनको अवधिमा ४७ लाख नयाँ संक्रमित थपिए। बेलायतबाट फैलिएको संक्रमण मध्य डिसेम्बरमा पत्ता लाग्यो। जुन डब्लूएचओले यसअघि भनेको कोभिड– १९ को संक्रमणभन्दा ७० प्रतिशत बढी संक्रामक भएको बताइन्छ।

फाइजर र बायोएनटेकले भने आफूहरूको खोप बेलायतबाट फैलिएको उक्त नयाँ रूपको संक्रमणविरुद्ध पनि प्रभावकारी भएको दाबी गरेका छन्।

विशेषगरी अमेरिका र युरोपियन मुलुकहरूले गरेको खोप अभियानले कोरोना भाइरस संक्रमण कम हुने आशा गरिएको थियो। युरोपियन युनियनले गत मंगलबार भनेअनुसार उनीहरूले अगस्टको अन्त्यअघि नै ७० प्रतिशत वयष्कलाई खोप उपलब्ध गराउने लक्ष्य राखेका थिए।

ईयू प्रमुख उर्सुला बोन देर लेनका अनुसार उनीहरूले कोभिडविरुद्धको लडाइँमा लक्ष्य प्राप्त गर्ने सबालमा आगामी चार महिना महत्त्वपूर्ण निर्णयक विन्दु मानिएको थियो।

तर भारत, रूससहित ईयूका देशहरूले अहिले थप संघर्ष गर्नुपरेको छ। अमेरिका भने सबैभन्दा खराब तरिकाले कोभिडको असर भोग्ने देशमा परेको छ।

पछिल्लो समय देखिएको नयाँ रूपको कोरोना अमेरिका र चीनसहित ६० भन्दा धेरै देशमा फैलिसकेको छ। कोरोनाको नयाँ रूपबारे विज्ञहरू अनुसन्धानमै छन्। विभिन्न ठाउँमा फरक तरिकाले देखिँदा यसबारे अध्ययनमा कठिनाइ भएको छ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेन ह्वाइटमा बस्ने तयारी गरिरहँदा मात्रै चार लाख अमेरिकी नागरिकको मृत्यु भइसकेको थियो। तर बाइडेनले शपथ ग्रहण लिनुअघि नै भनेका थिए– बुधबार शपथ ग्रहणपछि यसको नियन्त्रणमा उनी कुनै कसर बाँकी राख्ने छैनन्।

विश्वभरका देशहरूले खोप वितरण गरिरहँदा विश्व स्वास्थ्य संगठनले भने नैतिक संकटले गर्दा विपन्न देशले खोप नपाउनेमा चिन्ता व्यक्त गरे।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानमले खोप विश्वभर सबै देशमा समान रूपमा वितरण हुन नसक्ने खतरा रहेको चेतावनी दिएका छन्। खोपमा सबैको समान पहुँच पु¥याउर्ने प्रतिबद्धता संकटमा परेको भन्दै उनले त्यसप्रति चिन्ता व्यक्त गरे।

डब्लूएचओका अनुसार ३९ मिलियन डोज खोप कम्तीमा ४९ वटा उच्च आय भएका देशले खरिदका लागि दर्ता गरिसकेका छन्। ‘र न्युन आय भएका देशहरूमा २५ डोज मात्रै पठाइने भएको छ। २५ लाख हैन, २५ हजार पनि हैन। २५ मात्रै !’ महानिर्देशक टेड्रोसले भने। यस्तै विपन्न देशहरूमा खोपको मूल्यका लागि महँगो जीवन चुकाउनुपर्ने टेड्रोसले टिप्पणी गरे।

धेरैजसो मानिस महामारीमा आवश्यक अन्य मेडिकल उपचार रोक्न बाध्य छन्। उपचारमा ढिलाइ गर्दा महामारीकै समयमा कोरोनाभन्दा पनि अन्य कारणबाट मृत्यु हुने क्रम बढ्दो भएको पाइएको छ। फेमिली फाउन्डेसन स्टडीको अनुसन्धानअनुसार २५ प्रतिशत अमेरिकीले गत महिनामा कोरोना भाइरस महामारीका कारण नै अन्य मेडिकल उपचारमा ढिलाइ गरेको तथ्यांक छ। यस्तै प्रारम्भिक चरणमा गरिएको सर्भेअनुसार अमेरिकामा ४१ प्रतिशत अमेरिकीले मेडिकल सेवा लिन ढिलाइ गरेका थिए। जब कि तीमध्ये १२ प्रतिशतले त आपत्कालीन उपचारको सेवा लिनसमेत आनाकानी गरे। विज्ञ तथा चिकित्सकहरूले भने आम नागरिक यसरी स्वास्थ्योपचारबाट वञ्चित हुनुपरेकोमा चिन्ता व्यक्त गरेका छन्।

यतिबेला विश्वभरका अनुसन्धाता कोरोनाको नयाँ रूपले गर्दा खोपलाई नै असर गर्ने हो कि भनेर खोजी गरिरहेका छन्। जबकि कोरोनाको नयाँ रूप पहिलोपटक बेलायतमा भन्दा अघि गत अक्टोबरमा नै दक्षिण अफ्रिकामा देखिएको थियो। ती स्वरूप मानिसमा नदेखिएर प्रयोगशालामा भेटिएको बताइन्छ। यसैले पनि नयाँ स्वरूपको खतरा मापन गर्न थप अनुसन्धान भइरहेका छन्।

बेलायतमा मार्चदेखि क्रमशः प्रतिबन्ध खुकुलो हुँदै जाने
यद्यपि बेलायतमा कोभिडको पछिल्लो असर झन् कडा रूपमा देखिएको छ। यसैले यहाँ लकडाउन लगाइएको छ। बेलायत सरकारले अहिले हरेक मिनेटमा २०० वटा कोभिड खोप दिइरहेको छ। वृद्धवृद्धा र उनीहरूको हेरचाहमा खटिएकाहरूले खोप लिइरहेका छन्।

यसरी यूकेले ४६ लाख मानिसलाई ५० लाखभन्दा बढी डोज खोप दिइरहेको जनाएको छ। कोभिड खोप वितरण भइरहँदा प्रधानमन्त्री बोरिस जोन्सनले भने नागरिकलाई घरमै बस्न आग्रह गरिरहेका छन्। बेलायतको अवस्था यस्तो भइसकेको छ कि यहाँ लगाइएको प्रतिबन्ध कहिले हट्छ भनेर सोध्दा प्रधानमन्त्री भन्छन्, ‘अहिले नै यसको जवाफ दिनु हतार हुनसक्छ।’

यद्यपि अधिकारीहरूका अनुसार महामारी प्रतिबन्ध मार्च महिनादेखि विस्तारै खुकुलो हुँदै जानेछ। बेलायतमा गत बुधबार सबैभन्दा धेरै ३८९०५ जना संक्रमित भेटिए। १८२० को मृत्यु भयो। बेलायत नै युरोपियनमध्ये सबैभन्दा बढी मृत्यु भएको देश हो; जहाँ ९३ हजारको मृत्यु भइसकेको छ।

चीनको सहयोग पाकिस्तानलाई
चीनले छिमेकी देश पाकिस्तानलाई खोपको पाँच लाख डोज मात्रा निःशुल्क दिने भएको छ। पाकिस्तानी परराष्ट्र मन्त्रालयले बिहीबार जनाएअनुसार चीनले उक्त अनुदान जनवरी ३१ सम्म उपलब्ध गराउनेछ।

जब कि पाकिस्तान सरकारले गत डिसेम्बरमा पाकिस्तानले १२ लाख सिनोफर्म खोपको डोज भिœयाउने घोषणा गरेको थियो। परराष्ट्रमन्त्री मुहम्मद कुरैसीले फेब्रुअरीदेखि मात्रै पाँच लाख खोप प्राप्त गरिसक्ने बताएका छन्।

जर्मनीमा सतर्कता
कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमध्ये एक हो जर्मनी। कोरोनाको नयाँ स्वरूप देखिएसँगै यहाँको सरकार गम्भीर बनेको छ। जर्मन चान्सलर एन्जेला मर्केलले हालै कोरोनाको नयाँ रूपको संक्रमणलाई अति गम्भीर रूपमा लिनुपर्ने बताएकी छन्।

भाइरसको परिवर्तित रूप नै खतरा भएको भन्दै मर्केलले यसै साताको सुरुमा गरिएको लकडाउनको निर्णयको औचित्य पुष्टि गर्न खोजिन्। दैनिक रूपमा मृतकको संख्या बढ्नुमा उनले चिन्ता व्यक्त गरिन्।

जर्मनीमा यसै साताको सुरुमा फेब्रुअरी १४ सम्मका लागि देशव्यापी लकडाउन घोषणा गरिएको थियो। मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने नियमलाई कडा रूपमा पालना गर्न पनि आग्रह गरिएको छ। यस्तै विभिन्न कम्पनीहरूले आफ्ना कामदारलाई मध्य मार्चसम्म फेरि घरबाटै काम गर्न लगाएका छन्।

जर्मनीमा बिहीबार मात्रै २० हजार तीन सय ९८ नयाँ संक्रमित थपिए भने एक हजार १३ जनाको मृत्यु भयो। यस्तै १० लाख ४८ हजारभन्दा धेरैलाई खोप उपलब्ध गराइसकेको सरकारले जनाएको छ। क्षति नियन्त्रण एजेन्सीका अनुसार खोप वितरण तीव्र रूपमा भइरहेको छ।

अमेरिकाको अवस्था विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित देश अमेरिका हो। यही जनवरी २० मा कार्यभार सम्हालेका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सबैभन्दा ठूलो चुनौतीमध्ये कोरोनाको खोप वितरण एक हो।

त्यसो त, बाइडेनले आफ्नो सयदिने कार्यभारमा पनि खोप वितरणको कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। बाइडेनले कोरोना संक्रमणलाई मत्थर पार्ने भन्दै सय दिनभित्र एक करोड खोप देशभर वितरण गर्ने कामलाई मुख्य प्राथमिकतामा राखेका छन्।

निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीबारे विवादित र कतिपय झूटो अभिव्यक्तिसमेत दिए। उनका गल्ती औंल्याउँदै बाइडेनले आफूले जनतालाई राहत दिने प्रतिबद्धता गरेका थिए। यसैले पनि बाइडेनको कार्यकाल सुरु भएसँगै केही परिवर्तन हुने अपेक्षा गरिएको छ।

अमेरिकामा अझै पनि संक्रमणको गति रोकिएको छैन। गत बुधबार मात्रै एक लाख ७८ हजार दुई सय ५५ नयाँ संक्रमित थपिएका थिए। यससँगै जम्मा दुई करोड ४४ लाख ३४ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन्। साथै बुधबार एकै दिन ४ हजार २ सय २९ जनाको मृत्यु भएको थियो भने हालसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ४ लाख ६ हजार नाघिसकेको छ।

तर हालसम्म ३ करोड ५९ लाख ९० हजार बढी खोपको डोज वितरण गरिएको छ।

फ्रान्समा ७५ वर्ष बढीका मानिसलाई खोप
फ्रान्सले ७५ वर्षमाथिका मानिससहित अरू जोखिममा रहेका व्यक्तिका लागि भन्दै खोप अभियान विस्तार गरेको छ। जब कि प्रारम्भिक चरणमा नर्सिङ होममा कार्यरत र मेडिकल कर्मचारीलाई लक्षित गरिएको थियो।

तर विडम्वना, एकै सातामा ७० हजारको मृत्यु हुने गरी देशव्यापी रूपमा कोरोनाको नयाँ रूप आएको छ। खोपको माग यति धेरै भयो कि अत्यधिक मागले गर्दा सरकारी वेबसाइट नै क््रयास भएको थियो। खोप उत्पादक कम्पनीहरूले भने अर्बौं खोप तयार पार्नुभन्दा पनि यसको प्रक्रियामा परिवर्तन आवश्यक भएको बताएका छन्।

पछिल्लो समय फ्रान्सले पनि प्रतिबन्ध लगाएको छ। खासगरी गैरयुरोपियन देशबाट फ्रान्स आउन रोक लगाएको छ। यात्रुहरूले फ्रान्स छिर्नुअघि नेगेटिभ पीसीआर रिपोर्ट पेस गर्नुपर्ने र संक्रमित भएमा एक साताको आइसोलेसनमा बस्नुपर्ने नियम लगाइएको छ।

गत शनिबारदेखि देशव्यापी रूपमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म कम्तीमा १५ दिनका लागि कफ्र्यु घोषणा गरिएको छ। जब कि केही अति प्रभावित क्षेत्रमा पहिल्यै कफ्र्यु जारी थियो।

यद्यपि ढिलो खोप वितरण गरेकोमा सरकार आलोचित बन्दै आएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ४ लाख २२ हजार मानिसलाई खोप दिइएको छ। १० लाख मानिसलाई खोप उपलब्ध गराउने र जनवरीको अन्त्यसम्म ५ सयदेखि ६ सय खोप केन्द्र तयार पार्ने लक्ष्य राखिएको पनि बताइएको छ।

कोरियाको तीव्र तयारी
दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले आफ्नो देशमा आगामी नोभेम्बरसम्म कोभिडविरुद्ध ‘हर्ड इम्युनिटी’ अर्थात् आमरूपमा प्रतिरक्षाको प्रणालीको काम सम्पन्न गर्नेमा विश्वास व्यक्त गरेका छन्। साथै खोप योजनालाई उनले धन्यवादसमेत दिएका छन्।

यहाँ खोप योजना सबैभन्दा तीव्र रूपमा लागू हुनेमा कोरियाली अधिकारीहरू बताउँछन्। साथै कोरियामा खोप यहींका नागरिक र कोरियामा रहेका विदेशीलाई समेत निःशुल्क उपलब्ध गराउने बताइएको छ। यस्तै यहाँ कोभिडको थप असर पुग्नुभन्दा पहिल्यै खोप अभियानलाई तीव्र बनाउन कोरिया सक्रिय बनेको बताइन्छ। कोरियामा कोभिडका संक्रमित झन्डै ७३ हजार हाराहारीमा छन्। एक हजार २ सयभन्दा धेरैको मृत्यु भइसकेको छ।

अस्ट्रेलियाको सीमा प्रतिबन्ध
अस्ट्रेलियाको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भनेअनुसार अस्ट्रेलियाले यस वर्ष अधिकांश सीमा स्थानमा प्रतिबन्ध लगाउने भएको छ। यस वर्ष अझै सीमा प्रतिबन्ध लगाउँदै जाने अधिकारीहरूले बताएका छन्। जब कि त्यस प्रतिबन्धले संक्रमण रोक्छ वा रोक्दैन भन्नेमा उनीहरू प्रस्ट छैनन्। अस्ट्रेलियाका स्वास्थ्य विभागका प्रोफेसर ब्रेन्डन मर्फीले भनेका छन् कि उनी यसबारे आगामी दुई वा तीन महिनापछि सम्मको आकलन गर्न सक्ने अवस्थामा छैनन्। किनकि विश्व छिटोछिटो परिवर्तन भइरहेको छ। 

यद्यपि अस्ट्रेलियाले कडा रूपमा सीमा प्रतिबन्ध लगाएकाले संक्रमणलाई अत्यधिक रूपमा फैलन नदिन सफल भएको बताइन्छ। साढे दुई करोड जनता भएको अस्ट्रेलियामा २८ हजारजनालाई संक्रमण भएको छ भने ९०० बढीको मृत्यु भएको छ।

हङकङमा तीव्र संक्रमण
हङकङमा एक महिनामै कोरोना संक्रमण तीव्र रूपमा फैलियो। गत आइतबार मात्रै १०७ जना नयाँ संक्रमित थपिए। जबकि यो २०१९ को डिसेम्बरयताकै सबैभन्दा ठूलो संख्या हो। स्वास्थ्य संरक्षण केन्द्रका अनुसार १०२ केस स्थानीयस्तरमा फैलिएको थियो र तीमध्ये केही जटिल किसिमका थिए। यसरी कोभिड नियन्त्रणमा रहेको हङकङमा पनि पछिल्लो समय संक्रमण बढ्न थालेको छ।

भारतमा संक्रमण फेरि फैलिँदै
भारतको अवस्था पनि जटिल बन्दै गएको छ। राजधानी नयाँदिल्लीका शिक्षकहरूसमेत कोभिड फ्रन्टलाइनमा पठाइँदैछन्। तीमध्ये केहीलाई त तालिम, पीपीई र शुल्कसमेत नदिईकन फ्रन्टलाइनमा पठाउने तयारी भएको छ।

हरेक बिहान दिल्लीका हजारौं स्कुल शिक्षकहरू गत मार्चमा संक्रमण फैलिएपछि नै फ्रन्टलाइनमा सक्रिय हुन थालेका हुन्। घरघरमा गएर राहत वितरण गर्नु र सर्वेक्षण गर्नु जटिल काम भएको भन्दै आलोचना पनि हुन थालेको छ। भारतको शिक्षक संगठनका अनुसार २०२० मा कम्तीमा २८ हजार शिक्षक यसरी खटाइए। तर यसरी खटिएका शिक्षकमध्ये ३५ जनाको कोभिडबाट मृत्युसमेत भयो। अरू सयौं शिक्षक संक्रमित भए। फिल्डमा नजाने शिक्षकलाई चेतावनीसमेत दिइयो।

विश्वव्यापी रूपमा कोरोना
जोन हकिन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वभर संक्रमित संख्या कम्तीमा ९ करोड ५० लाख ३७ हजार ६ सय पुगिसकेको छ। यस्तै कोरोनाबाट कम्तीमा २० लाख ३० हजार ६ सयभन्दा धेरैको मृत्यु भइसकेको छ।

एक सातामा मात्रै विश्वभर ५० लाखभन्दा धेरै मानिस कोभिडबाट संक्रमित हुने गरेका छन्। तीमध्ये सबैभन्दा धेरै अमेरिकामा भएको तथ्यांक छ। अमेरिकामा मात्रै २ करोड ३९ लाख ३२ हजारभन्दा धेरै संक्रमित भए। ३ लाख ९७ हजार ५ सयभन्दा धेरैको मृत्यु भयो। भारत, ब्राजिल र रूस यसपछि धेरै प्रभावित देशमध्ये पर्छन्।

के हो कोरोनाको नयाँ रूप ?
कोरोनाको नयाँ रूपबारे विज्ञहरू अझै अनुसन्धानमै छन्। विभिन्न ठाउँमा फरक तरिकाले देखिने गर्दा यसबारे अध्ययनमा पनि कठिनाइ भएको बताइन्छ। मुख्य कुरा त यसको परिवर्तित रूपले गर्दा यसको असर अझै केही समय रहनसक्ने आकलन गरिएको छ। कहिलेकाहीं यसका नयाँ रूप देखा पर्छन् र हराउने पनि गर्छन्। कहिले नयाँ रूप देखिरहन्छन्। कोभिड– १९ कोरोना भाइरसको एक प्रकार हो। अर्थात् भाइरसको एक विशाल समूह।

बेलायतमा हाल देखिएको नयाँ रूपलाई ‘बी १.१.७’ नाम दिइएको छ। जसको संक्रमण असामान्य रूपमा अहिले फैलिएको छ। यो रूप अन्य रूपभन्दा तीव्र र सजिलै फैलिँदै गरेको बताइन्छ। यद्यपि यसले गम्भीर असर गर्छ वा मृत्युनजिक नै लैजान्छ भन्नेबारे यकिन छैन। यो रूप सन् २०२० को सेप्टेम्बरमा पहिलोपटक र अहिले लन्डन र दक्षिणपूर्वी इङल्यान्डमा व्यापक रूपमा देखिएको छ। 

पछिल्लो समय अमेरिका र चीनसहित ६० भन्दा धेरै देशमा फैलिसकेको छ। 

यस्तै दक्षिण अफ्रिकामा पनि कोरोनाको नयाँ रूप गत अक्टोबरमा अस्वाभाविक रूपमा देखिएको थियो। यसको नाम ‘१.३५१’ नाम दिइएको छ। यस्तै ब्राजिलमा पनि ‘पी १’ नामको अर्को रूप देखियो। तर वैज्ञानिकहरू यिनै नयाँ रूपबारे अनुसन्धान गरिरहेका छन्।
(एजेन्सीहरूको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.