भारतीय र चिनियाँ सैनिकबीच सीमाक्षेत्रमा फेरि झडप
नयाँदिल्ली: सिक्कीमको उत्तरी भेगस्थित भारत र चीनको विवादित सीमाक्षेत्रमा दुई देशका सेनाहरुबीच भीडन्त भएको बताइएको छ।
दुबै तर्फका केही सैनिक घाइते भएको पनि बुझिएको छ । भारतीय मिडियाले जनाए अनुसार उक्त तनाब तीन दिनअघि भएको थियो । तर चिनियाँ सेनाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । भारतीय सेनाले भने चिनियाँ सैनिक पछाडि हटेको र स्थानीय सैन्य कमाण्डरहरुले विवाद सुल्झाएको बताएको छ ।
गत वर्ष जुनमा पनि लद्दाख क्षेत्रमा भएको भीडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनले भने आफ्नोतर्फ कुनै क्षति भएको विवरण सार्वजनिक गरेन ।
'लाइन अफ एक्चुअल कन्ट्रोल' क्षेत्रमा यी देशका सैनिकहरु धक्कामुक्की र शारीरिक भीडन्त गरे पनि गोली, बम, बारुद लगायत विस्फोटक पदार्थको प्रयोग गर्न नपाउने सम्झौता छ ।