शिशुले बाँच्न पाउनुपर्छ
मुलुकमा अझै पनि यस्ता बस्ती छन्, जहाँ बाटोमा हिँड्दै गर्दा बच्चा जन्मिन्छन्। स्वस्थ जन्मे पनि ती बच्चाले उचित स्याहार नपाएर बाटोमै मृत्युवरण गर्न बाध्य हुन्छन्। सग्लो जन्मेका बच्चा पर्याप्त हेरचाहको अभावमा मर्नुपर्ने अवस्था आउनु आधुनिक समाजमा कल्पना पनि गर्न नसकिने घटना हो। तर हिमाली जिल्लाका वस्तीमा यस्ता समस्या सामान्य लाग्छन्। सुरक्षित मातृत्व र शिशुको सुरक्षा तथा हेरचाहका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट करोडौं रुपैंयाँ लगानी भइरहेको छ। तर यी क्षेत्रका महिलाका लागि कुनै पनि कार्यक्रम प्रभावकारी बन्न सकेका छैनन्।
अकालमै बच्चाको निधन हुनुमा हिमाली जिल्लामा मुख्यगरी दुइटा समस्याले भूमिका खेलेको देखिन्छ। चिसो मौसममा हिउँ छल्न यहाँका गाउँले हरेक वर्ष दुईतीन दिनसम्म हिँडेर न्यायो गाउँतिर लाग्छन्। परिवारमा रहेका सम्पूर्ण सदस्यको साथमा गोठका भेंडा, च्यांग्रालगायतका पशुसमेत लिएर उनीहरू उच्च भेगबाट तल्लो वस्तीतिर झर्छन्। बीच बाटोमै बास बस्नुपर्दा धेरै महिलाले त्यहीं बच्चा जन्माउँछन्। चिसोबाट ज्यान धान्नसमेत मुस्किल परिरहेको बेलामा त्यतिखेर न नवजात शिशुले उचित स्याहार पाउँछ न त आमाले पर्याप्त पोषण तत्व पाउँछन्। यही समस्याका कारण धेरैजसो शिशु र कहिलेकाहीं आमाकै ज्यान जाने गरेको छ। आफ्नै गाउँमा सुरक्षित घर भइदिएको भए र घरभित्रै बस्न पाउने अवस्था हुने हो भने यी अबोध बच्चाले अनाहकमै ज्यान फाल्नुपर्ने थिएन। यस विषयमा सरोकारवालाको ध्यान गएको पाइँदैन। धेरै बच्चा पाउने चलनका कारण यी क्षेत्रका महिला तथा पुरुषले गर्भाधानका सुरक्षित उपायसमेत अपनाउन सकेका छैनन्। अकालमा ज्यान जानुको अर्को मुख्य समस्या यो पनि हो। विना योजना बच्चा जन्मने हुनाले कुन समयमा बच्चा जन्माउने र कुन मौसममा नजन्माउने भन्नेबारे यहाँका मानिसलाई सोच्ने फुर्सदै हुँदैन। पर्याप्त चेतनाको अभावमा यस्तो अवस्था आएको हो। हरेक वर्ष राज्यको लगानी बढिरहने तर लक्षित समुदायसम्म पुग्न नसक्नु दुःखद हो।
पोषणयुक्त, स्वस्थ र सन्तुलित खाना पाएर हुर्कन पाउनु हरेक बालबालिकाको अधिकार हो। उनीहरूको अधिकारको क्षेत्रमा दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रय गैरसरकारी संस्थाले पैरवी गरिरहेका छन्। बच्चा हुर्कनै नपाई जन्मेबित्तिकै मर्नुपर्ने अवस्थाले यी संस्थाको कार्यशैलीलाई गिज्याइरहेको छ। यो अवस्थाले बालबालिकाको क्षेत्रमा भएको लगानीको सही सदुपयोग हुन नसकेको प्रष्ट हुन्छ। यो कठिन अवस्थाको अन्त्य नभएसम्म स्वस्थ समाजको कल्पना गर्न सकिँदैन। पहिलो कुरा त सुरक्षित गर्भधान र बच्चा जन्माउन उपयुक्त समयको विषयमा यी क्षेत्रका महिला तथा पुरुषलाई पर्याप्त चेतना दिनु जरुरी छ। विनायोजना बच्चा जन्माउने परिपाटी अन्त्य गर्न
यस क्षेत्रमा क्रियाशील संस्थाबाट अभियान सञ्चालन गर्नु पनि त्यत्तिकै जरुरी छ। संस्कारको रूपमा धेरै बच्चा जन्माउने प्रचलनमा सुधार गर्न यी संस्थाको भूमिका प्रभावकारी बनाउनु आवश्यक छ।
महत्वपूर्ण पक्ष भनेको सुरक्षित गर्भाधानका लागि पर्याप्त सेवा सुविधासहित गाउँमै स्वास्थ्यचौकी स्थापना गर्न आवश्यक छ। गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण गर्न पाउने सुविधा गाउँमै पुर्याउन जरुरी छ। अस्पताल तथा स्वास्थ्य चौकीमा पर्याप्त उपकरण, जनशक्तिलगायत यो पक्षसँग सम्बन्धित सम्पूर्ण व्यवस्था गरिनुपर्छ। हरेक नागरिकलाई निःशुल्क प्रदान गरिनुपर्ने संविधानप्रदत्त आधारभूत स्वास्थ्य सेवाको अधिकारबाट बञ्चित गरिनुहुन्न। अप्ठ्यारोमा परेका नागरिकको अभिभावकको भूमिका राज्यले वहन गर्नुपर्छ।