भक्तपुरमा पनि दिइयो कोभिड १९ विरुद्धको खोप
भक्तपुर : कोरोना भाइरस (कोभिड १९) विरूद्धको खोप भक्तपुरमा पनि बुधबारदेखि दिन सुररु भएको छ ।
भक्तपुरमा कोरोना हब अस्पताल मानिएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले कोभिड १९ को खोप लगाएर यसको सुरु गरेकी हुन् ।
यहाँ स्वास्थ्यकर्मी, सफाइ मजदुर, स्वास्थ्य स्वयम् सेविका महिला, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको लागि भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नि:शुल्क खोप दिइने व्यवस्था गरिएको छ ।
भक्तपुरमा करिब चार हजार जनालाई सरकारले नि:शुल्क खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
उनका अनुसार दुई अस्पतालमा दैनिक ८-८ सयलाई खोप दिने व्यवस्था गरिएको छ ।
'भक्तपुरमा करिब ४ हजार जनालाई खोप दिने लक्ष्य रहेको छ', प्रमुख मिजारले भने, 'तर सूचना व्यवस्थापन युनिटमा करिब ३ हजार ७ सयले आफ्नो नाम दर्ता गरेका छन् ।'
खोप दिन भक्तपुरका ३० जना स्वास्थकर्मीलाई तालिम दिइएको थियो । ती जनशक्ति नै अहिले दुई अस्पतालमा खटिएका छन् ।
प्रमुख मिजारले एकसय जनालाई खोप दिएपछि खोप दिने कार्यमा खटिएका चार जनाको समूह परिवर्तन गर्ने व्यवस्था गरिएको बताए ।
खोपसँसँगै परामर्श दिने व्यवस्था गरिएको छ । खोप लगाउँदा कसैलाई 'साइड इफेक्ट' देखिए तत्काल उपचारको लागि चिकित्सकसहितको टोली तयारी अवस्थामा राखिएको भक्तपुर अस्पतालकी मेसु डा. गौतमले जानकारी दिइन् ।