'यति छिटो खोप पाउँला भनेर सोचेकै थिइनँ'

'यति छिटो खोप पाउँला भनेर सोचेकै थिइनँ'

धनगढी : सुदूरपश्चिमका नौ जिल्लामध्ये बाजुरा बाहेकका ८ जिल्लामा मंगलबारदेखि कोरोना विरुद्धको खोप सुरु भएको छ । बाजुरा टाढाको जिल्ला भएकाले खोप ढिला पुगेकाले बिहीबारदेखि मात्रै खोप सुरु हुने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

भारत सरकारले अनुदानमा दिएका १० लाख कोरोना विरुद्धका खोपमध्ये सोमबार बेलुकी मात्रै ३६ हजार डोज खोप धनगढी पुगेका थिए । काठमाडौंबाट एउटै रेफ्रिजरेटर भ्यानमा लुम्बिनी प्रदेश, प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशका लागि खोप पठाइएका थिए ।

बुटबल र नेपालगञ्जमा खोप झारेर रेफ्रिजरेटर भ्यान सोमबार बेलुकी ६ बजेमात्रै धनगढी पुगेको थियो । राती नै ९ जटा जिल्लाका लागि तीन टोली बनाएर सुदूरपश्चिम स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रले खोप पठाएको थियो । डोटी, अछाम र बाजुरा, डडेल्धुरा र बझाङ, बैतडी र दार्चुला गरी तीन वटा खोप टोलीहरु पठाइएको थियो । 

बाजुरामा बुधबार अपरान्ह मात्रै रेफ्रिजरेटर भ्यान पुग्ने भएकाले विहीबार देखि खोप सुरु हुने सुदूरपश्चिम स्वास्थ्य निर्देशनायका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए । बाजुरा बाहेक, कैलालीको टीकापुर र सेती प्रादेशीक अस्पताल, कञ्चनपुरको महाकाली अञ्चल अस्पताल, डडेल्धुराको डडेल्धुरा अस्पताल, बैतडी, दार्चुला, डोटी र अछामका जिल्ला अस्पतालमा हरुमा कोरोना विरुद्धको खोप सेवा बुधबार देखि नै सुरु भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कैलालीको सेती प्रादेशीक अस्पतालमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले खोप कार्यक्रमको सुरुवात गरे । भारतले अनुदानमा दिएको खोप बक्स हस्तान्तरण गर्दै उनले खोप कार्यक्रमको सुरुवात गरेका हुन । खोप कार्यक्रममा मुख्यमन्त्री भट्टले कोरोनाको खोप लगाएका व्यक्तिहरुले पहिलेको जस्तै सावधानी भने अपनाउन आग्रह गरे ।

'खोप लगाएका व्यक्तिहरुले पहिलेकोजस्तै मास्क, सेनेटाइजर, हातधुने र अरु सावधानीका उपायहरु अपनाउनु होला,' उनले भने । मुख्यमन्त्री भट्टले सुदूरपश्चिम सरकार पनि आफ्ना नागरिकका लागि निशुल्क कोरोना विरुद्धको खोप छिट्टै ल्याउने तयारीमा रहेको बताए ।

धनगढीको सेती प्रादेशीक अस्पतालमा कोरोना खोप लगाउँदै सुदूरपश्चिम स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थी । तस्बिर : शिवराज भट्ट

खोपका बारेमा विभिन्न नकारात्मक टिप्पणी भइरहेका बेला, सेती प्रादेशीक अस्पतालमा पहिलो खोप स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले लगाए । 'सरकारले आफ्ना नागरिकको स्वास्थ्यप्रति गम्भीर भएर यस्ता खोप कार्यक्रमहरु ल्याउने गर्छ, त्यसमा नागरिकहरुले कुनै शंका नमानी लगाउनुपर्छ, स्वास्थ्यकर्मीमा पनि दुविधा देखिएकाले मैले नै पहिलो खोप लगाएको हुँ,' उनले भने ।

उनले, विश्व स्वास्थ्य संगठनले प्रमाणिकरण गरेको फर्मुलामा खोपहरु आएकाले विना कुनै आशंका खोप लगाउन सबै स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । सरकारले, पहिलो चरणमा आएका अनुदानका खोपहरु कोरोना उपचारको अग्रपंतीमा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, स्वास्थ्य स्वयम सेविका, एम्बुलेन्स चालक, शववाहनका चालक र कर्मचारी, खोप कार्यक्रममा खटिएका सुरक्षाकर्मीलाई लगाउने निर्देशीका बनाएको छ ।

खोप लगाउँदा खुसी

नन्दी खडका धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ जगेडाकी स्वास्थ्य स्वयम सेविका हुन् । ४५ वर्षीय उनले गाउँमा बिरामी परेका हरेकका घरमा जानुपर्छ र उनीहरुलाई अस्पतालसम्म पठाउने काम गर्छिन्।

कोरोना महामारीका बेला पनि उनी गाउँमा क्वारेन्टाइन, आइसोलेसनमा खटिइन् । बुधबार कोरोना विरुद्धको खोप लगाउन उनी धनगढीको सेती अस्पताल पुगिन् । 'खोप लगाउन पाउँदा खुसी छु,' उनले भनिन् । ‘सरकारले यति छिटो खोप ल्याउँला भन्ने सोचेकै थिएन, तर हेर्दा हेर्दै कुनै औषधि नभएको रोगका लागि खोप पनि लगाउन पाइयो।'

उनले खोपले कोरोनाबाट जोगिने आशा गरिन् । 'खोप भनेको रोग लाग्न नदिनका लागि हो, त्यसैले खोप लगाए, 'उनले भनिन् ।  धनगढी उपमहानगरपालिका वडा नम्बर ८ की मीना राना पनि स्वास्थ्य स्वयम सेविका हुन् । उनको पनि नन्दीको जस्तै काम हो । अस्पताल आउन नमान्ने राना समुदाय उनको कार्यक्षेत्र हो । उनी भन्छिन, 'खोप लगाएपछि अब कोरोना लाग्दैन भनेर ढुक्क भएकी छु ।'

सुदूरपश्चिमका १६ हजार २९३ जनाका लागि ३६ हजार डोज कोरोनाको भ्याक्सिन आएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना उपचारको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वास्थ्य स्वयम सेविका, एम्बुलेन्स चालक, शववाहनका चालक र कर्मचारी, खोप कार्यक्रममा खटिएका सुरक्षाकर्मी गरी १६ हजार २९३ जनाको लिस्ट केन्द्रमा पठाए बमोजिम यत्तीका खोप आएका हुन ।

निर्देशनालयले दार्चुलाका लागि १२९१, बझाङक लागि १४०९, कञ्चनपुरका लागि २५ सय ९५, कैलालीका लागि ३७ सय ३७, बैतडीका लागि १९ सय ९६, अछामका लागि १८ सय ७१, बाजुराका लागि ८ सय ९०, डडेल्धुराका लागि ११ सय ३५ र डोटीका लागि १४ सय ५९ जनाका लागि पुग्ने खोप पठाईएको जनाएको छ ।

 धनगढीको सेती प्रादेशीक अस्पतालमा कोरोना भ्याक्सिनका लागि लाइन लागेका स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम सेविका। तस्बिर : शिवराज भट्ट 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.