लेबननमा लकडाउन खुलाउन माग गर्दै रातभर प्रदर्शन, दर्जनौँ घाइते
त्रिपोली: लेबननमा लकडाउनको विरोध गर्दै ठूलो संख्यामा विशाल जनप्रदर्शन उठेको छ ।
प्रदर्शन रोक्न प्रहरीले बल प्रयोग गर्दा भएको झडपमा ४५ जना भन्दा धेरै घाइते भए । देशको उत्तरी भेगस्थित मंगलबार रातभर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । सरकारले लगाएको लकडाउनका कारण आर्थिक अवस्था झन् बिग्रँदैगएको भन्दै स्थानीयहरु प्रदर्शनमा उत्रिएका हुन् ।
तीमध्ये केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । राजधानी त्रिपोलीस्थित अस्पतालमा उनीहरुको उपचार भइरहेको स्थानीय मिडियाले जनाएका छन् । प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले सरकारी कार्यालयहरुमा ढुंगा प्रहार गर्नुका साथै मुख्य सडकका चोकमा अवरोध खडा गरिदिएका थिए।
सरकारले भने प्रदर्शनलाई रोक्न सेना प्रयोग गरेको छ । यसअघि सोमबार पनि रातभर प्रदर्शनमा ३० जना प्रदर्शनकारी घाइते भएका थिए ।
गत साता सरकारी अधिकारीहरुले २ साताका लागि लकडाउन लम्ब्याएपछि थप तनाब बढेको हो । लकडाउनले गर्दा सहरका विपन्न समुदाय र बेरोजगारी लगायत समस्या थप बढ्ने भन्दै प्रदर्शनकारीहरु थप आक्रोशित बनेका छन् । साना व्यवसायमा पनि लकडाउनले गम्भीर असर पर्ने भएकाले लकडाउन खुलाउनुपर्ने प्रदर्शनकारीहरुको माग छ ।
लेबननमा कोरोनाभाइरसका कारण २ लाख ८५ हजार भन्दा धरै संक्रमित छन् । २ हजार ४ सय ७० को मृत्यु भइसकेको छ ।