म्यानमारमा खोप अभियान सुरु, स्वास्थ्य कर्मचारी र कामदारलाई पहिलो प्राथमिकता
नापित्व: म्यानमारले पनि कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु गरेको छ । यही बुधबारदेखि म्यानमारले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी, स्वयंसेवक तथा कामदारहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप विरतण गरेको हो ।
भारतले अनुदान दिएको अस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीको खोप नै म्यानमारले पनि सुरु गरेको हो । म्यानमार कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सफल देशहरुमध्ये एक मानिन्छ । जहाँ १ लाख ३८ हजार भन्दा धेरै संक्रमित छन् भने ३ हजार भन्दा केही बढीको कोभिडका कारण मृत्यु भएको छ ।
गत साता म्यानमारले भारतबाट १५ लाख डोज खोप पाएको थियो । जुन खोप भारतको पुनेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो । भारतले म्यानमारलाई उपलब्ध गराएको उक्त खोप नेपाल सहित आफ्ना अधिकांश छिमेकी देशलाई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको थियो ।
राजधानी नापित्वस्थित केही अस्पतालमा कोभिडका बिरामीहरुमाथि हेरचाहमा लापरवाही गरेको देखेपछि म्यानमारकी नेत्री आन सान सूकीले अझै पनि कोभिड विरुद्ध सुरक्षा दिनुपर्ने भन्दै चिन्ता व्यक्त गरेकी थिइन् । म्यानमारले यस वर्ष ५ करोड ४० लाख अर्थात् सबै जनतालाई नै कोभिड विरुद्धको खोप उपलब्ध गराउने लक्ष्य राखेको छ ।