कोरोना भाइरसविरुद्धको खोप अभियान उत्साहजनक

कोरोना भाइरसविरुद्धको खोप अभियान उत्साहजनक

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबार उत्साहजनक रूपमा सुरु भएको छ। पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। खोप लगाउने व्यक्तिमा कुनै स्वास्थ्य समस्या देखिएको छैन।

मन्त्रालयका अनुसार प्रदेश १ मा १हजार २ सय ५५, २ मा ७ सय २६, बागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा १ हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले खोप लगाएका हुन्। शुक्रराज ट्रपिकल तथा  सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले पहिलो खोप लगाए। खोप प्राप्त गर्ने पहिलो चिकित्सक बन्न पाएकामा गर्व महसुस भइरहेको निर्देशक डा. राजभण्डारीले बताए।

‘पहिलो खोप लगाउँदा गर्व महसुस भइरहेको छ। यो सुरक्षित खोप हो। बिनासंकोच निर्धक्क भएर खोप लगाउन अनुरोध गर्दछु’, उनले भने। खोप लगाइसकेपछि कोरोना भाइरस संक्रमण हुने सम्भावना न्यून हुने र यदि संक्रमण भइहाले पनि कडा लक्षण नदेखिने उनले बताए।

कोरोना संक्रमितको उपचार गर्ने पहिलो अस्पताल शुक्रराज ट्रपिकलमै कार्यरत ८० वर्षीय डा. नेत्रबहादुर अमात्यले पनि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाए। डा. राजभण्डारीका अनुसार अमात्य रेडियोलोजी विभागमा करारका कर्मचारी हुन्। ‘उहाँ सातामा दुईतीन दिन आएर एक्सरे हेर्नुहुन्छ’, डा. राजभण्डारीले भने, ‘अस्पतालमा रेडियोलजिस्टको दरबन्दी नभएकाले उहाँलाई करारमा राख्नुपरेको हो।’

अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले कोभिसिल्डको पहिलो मात्रा खोप लगाएको बताए। ‘कोभिडविरुद्ध वर्षदिनसम्म लगातार लडाइँ गरियो। खोप पर्खाइको घडी सकिएको छ’, डा. बाँस्तोलाले भने, ‘कोभिडसँगको लडाइँ अन्त्य गर्ने आशा र भरोसा नै खोप हो।’ शुक्रराजकै क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले महामारीविरुद्धको पहिलो ऐतिहासिक कदमको सुरुआत भएको बताए।

६४ जिल्लाका ९३ केन्द्रमा खोप कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ  । भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज (मात्रा) मुलुकभरका तीन सय खोप केन्द्रमार्फत बुधबार लगाउन सुरु गरिएको हो।
 
तीन महिनाभित्र सबैलाई निःशुल्क : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप आगामी तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई निःशुल्क उपलब्ध हुने बताएका छन्। भारतले अनुदानमा उपलब्ध गराएको खोपपछि विभिन्न मित्र राष्ट्र र संघसंस्थाबाट खोप खरिद गरिने जानकारी प्रधानमन्त्री ओलीले दिए।

ओलीले बुधबार खोप अभियान शुभारम्भ गर्दै अनुदानस्वरूप पाउने वा खरिद गरेरै भए पनि प्राथमिकताका आधारमा निःशुल्क उपलब्ध गराउने बताएका हुन्। ‘खोपमार्फत कोरोना भाइरसलाई पराजित गर्ने आकांक्षाले व्यावहारिक रूपमा मूर्तरूप लिएको छ’, ओलीले भने, ‘अनुदानका रूपमा खोप प्राप्त गरौं अथवा किन्न परोस्, नेपाली नागरिक वा नेपालमा बस्ने व्यक्तिले खोप प्राप्त गर्नेछन्। बिनाभेदभाव प्राथमिकता र संवदेनशीलताका आधारमा खोप उपलब्ध हुनेछ। तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्नेछौं। मेरो विचारमा तीन महिना लाग्न सक्छ।’ सरकारले ७२ प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ। 

ओलीले एक वर्ष अवधिमा कोरोना महामारीले कठिन बनाएको उल्लेख गरे। संक्रमण  अवधिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकको तदारुकता र सेवाभाव  प्रशंसनीय रहेको उनको भनाइ थियो। उनले स्थानीय तह र जनप्रतिनिधिले क्वारेन्टाइन र आइसोलेसन निर्माण गरेकोमा प्रशंसा गरे।

‘कोरोना संक्रमणको सकारात्मक पक्ष अमूल्य शिक्षा दिएको छ। संक्रमणको सामना कसरी गर्ने भन्नेतर्फ ध्यान दिन जरुरी छ’, उनले भने। उनले सरकारको पहिलो प्राथमिकता जनताको जीवन बचाउनु रहेको उल्लेख गरे । विश्वका अन्य मुलुकको तुलनामा नेपालीको प्रतिरोधि क्षमता उच्च रहेकाले मानवीय क्षति न्यून भएको उनको भनाइ थियो। ‘संक्रमितमध्ये ०.७ प्रतिशत मात्रै मृत्युदर रहेको छ। यसले हाम्रो प्रतिरोधि क्षमता उच्च छ भन्ने देखिन्छ’, उनले भने। संक्रमणबाट जीवन गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली दिँदै उनले शोकाकुल परिवारमा समवेदना  व्यक्त गरे। कोरोना संक्रमणबाट निको भएका व्यक्तिहरूलाई बधाई दिए।

उनले कोरोना महामारी विश्वव्यापी भएझैं यसविरुद्धका उपलब्धिहरू पनि विश्वव्यापी हुनुपर्ने बताए। ‘हरेक व्यक्ति खोपबाट वञ्चित नहुने स्थिति हुनुपर्छ’, उनले भने।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्था मिलाइने बताए। मन्त्री त्रिपाठीले खोप लगाएपछि पनि मास्क प्रयोग गर्न  र भौतिक दूरी कायम राख्न आह्वान गरे।

कोरोनाबाट थप ३ को मृत्यु
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बुधबारसम्म २ हजार २० जना पुगेको छ। बुधबार थप तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट गम्भीर १ सय ३९ जना आईसीयू र  २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८६  छ। १ सय २२ जना क्वारेन्टाइन र ३ हजार २ सय ५२ जना आइसोलेसनमा छन ्। पछिल्लो २४ घण्टामा २ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमध्ये महिला १ सय १४ र पुरुष१ सय ६९ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ।

संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ। जसमध्ये २ लाख ६५ हजार ६९ जना संक्रमणमुक्त भएका छन्। बुधबार २ सय ४६ जना संक्रमणमुक्त भएका छन्। २० लाख ५७ हजार ६९ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.