अलैंची ठगीमा संलग्न चार जना पक्राउ
इटहरी: इलाका प्रहरी कार्यालय इटहरीले अलैंची ठगीमा संलग्न चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
खोटाङका किसानहरुको १४० मन अलैंची ठगेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयले जानकारी दिएको छ । मुख्य योजनाकार भने फरार रहेको प्रहरीको भनाइ छ ।
कार्यालयका सूचना अधिकृत केशवकुमार कट्वालकाअनुसार गत पुस ५ गते खोटाङको साकेला गाउँपालिका २ बस्ने रन्जीत राईसहित किसानमाथि उनीहरुले ठगेका थिए । किसानहरुले बेच्नका लागि ल्याएको अलैंची उनीहरुले गोदामबाटै रातारात गायब पारिदिएको किसानहरुको गुनासो छ ।
प्रहरीले झापाको बिर्तामोड ४ बस्ने मात्रिका पोखरेल, दोलखा विगु ८ का दिपककुमार घिमिरे भनिने केशव दाहाल, भोजपुरको रामप्रसाद राई ६ घर भएका कमल थापा र इटहरी ७ बस्ने सरोज बोहोरालाई पक्राउ गरेको हो ।
गाउँको अलैंची लिएर आएका खोटाङका राईले दीपककुमार घिमिरेसँग सम्पर्क गरेका थिए । घिमिरेले इटहरी ५ स्थित शेषराज गुरुङको घरमा सटर भाडामा लिएर एक जनालाई अलैची काँटा गरी जिम्मा लिएका थिए ।
भोलिपल्ट पैसा जम्मा गरिदिने बताए पनि पैसा जम्मा नभएपछि गएर हेर्दा रातारात गोदाम खाली गरिएको पाइएको थियो । अलैची बुझेर लिएका व्यक्तिहरुको मोबाइल नम्बरसमेत बन्द भएको थियो । पीडितहरुले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकामध्ये मात्रिका पोखरेलले ठगी गर्ने मानिसहरु व्यवस्थापन गरेको, दीपक कुमार घिमिरेले पिडितहरुसँगै फोन सम्पर्क गरी अलैचीलाई गोदामसम्म ल्याउन, गोदाम खोज्न र अलैचीको हिसाब किताब राख्ने काम गरेका थिए ।
यस्तै कमल थापाले अलैची काँटा गर्ने र टिपोट राखेका थिए भने सरोज बोहोराले गोदामबाट अलैची ट्रकमा लोड गरी अलैची बेची घटनाको मुख्य योजनाकारलाई पैसा दिएका थिए । ती मुख्य योजनाकारको परिचय प्रहरीले खुलाएको छैन । फरार उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।
मात्रिका पोख्रेलको साथबाट राष्ट्रवादी केन्द्र नेपालको केन्द्रिय सदस्यको कार्ड र केशव दाहालको नामको पत्रकार परिचय पत्रसमेत बरामद भएको कार्यालयले जानकारी दिएको छ ।