भक्तपुर जिल्ला अदालतको नयाँ भवन : निर्माण सुरु भएको ४ महिनापछि शिलान्यास

भक्तपुर जिल्ला अदालतको नयाँ भवन : निर्माण सुरु भएको ४ महिनापछि शिलान्यास

भक्तपुर : निर्माण कार्य सुरु भएको करिब ४ महिनापछि बिहीबार बल्ल भक्तपुर जिल्ला अदालतको नयाँ भवनको शिलान्यास गरिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काले बिहीबार एक कार्यक्रमबीच भक्तपुर जिल्ला अदालतको आधुनिक भवनको शिलान्यास गरेकी हुन् ।

भवन निर्माण ठेक्का केसी–शर्मा–समानान्तर जेभीले हात पारेको हो । जसको ठेक्का रकम भ्याटसहित एक अर्ब ३६ करोड ६७ लाख ९० हजार ४ सय ८२ रुपैयाँ रहेको छ । गएको असोज ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले असोजकै १९ गतेदेखि अदालत भवन निर्माण सुरु गरेको थियो । सम्झौताअनुसार २ वर्ष अर्थात २०७९ साल असोज १५ गतेभित्र भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।

हालसम्म १३.५ प्रतिशत भौतिक निर्माण प्रगति भएको कन्सल्टेन्ट इञ्जिनियर प्रकाश ढुंगानाले जानकारी दिए ।

जसअनुसार भवनको जगको आधार ढलान सम्पन्न भइसकेको छ । भवनमा हुने ४ वटा लिफ्टमध्ये प्रमुख लिफ्टको लागि खनिएको खाल्डोमै न्यायाधीश खड्काले बिहीबार जग शिलान्यास गरेकी छन् ।

त्यस्तै घर तथा भवनको जग शिलान्यास गर्दा काँचो इँटाको प्रयोग गरिन्छ तर बिहीबार न्यायाधीश खड्काले जग शिलान्यास गर्दा पाकेको चाइनिज इँटाको प्रयोग भएको छ ।

उनले जग शिलान्याससँगै भवन निर्माणसम्बन्धी ताम्रपत्रसमेत अनावरण गरिन्। कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरुको मन्तव्य राख्ने व्यवस्था थिएन । जसअनुसार कन्सल्टेन्ट इञ्जिनियर ढुंगानाले भवनको प्राविधिक पक्षबारे जानकारी दिए । भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश गोपालप्रसाद बाँस्तोलाले धन्यवाद ज्ञापन गर्दै सम्झौताअनुसार २ वर्षमै अदालतले नयाँ भवन पाउने विश्वास व्यक्त गरे ।

उनले भक्तपुर दरबार क्षेत्रस्थित साँघुरो भवनबाट कठिन सेवा दिँदै आएका आफूहरुलाई बन्दै गरेको नयाँ भवनले उत्साहित बनाएको बताए ।

‘अहिले भक्तपुर दरबार क्षेत्रस्थित साँघुरो भवनबाट कठिन सेवा दिँदै आएका छौं’, मुख्य न्यायाधीश बाँस्तोलाले भने, ‘त्यसैले बन्दै गरेको नयाँ भवनले हामीलाई उत्साहित बनाएको छ । अबको दुई वर्षभित्रै नयाँ भवनबाट सेवा प्रवाह गर्न पाउने आशामा छौं ।’

उनले अहिलेसम्म भौतिक प्रगति लक्ष्यभन्दा बढी रहेको सुनाए । भक्तपुर नगरपालिकाले वडा नं. ९ मा सञ्चालन गरेको तुमचो दुगुरे चोखा जग्गा एकीकरण आयोजनाभित्रको ६ रोपनी १४ आना जग्गाभित्र जिल्ला अदालतको भवन निर्माण भइरहेको हो । उक्त भवनमा ४ वटा लिफ्ट र दुई वटा ¥यामको व्यवस्था हुनेछ । कूल सात तल्ला हुने भवनको सुरुको अन्डरग्राउन्ड दुई तलामा पार्किङको व्यवस्था हुनेछ । पहिलो तलामा सर्वसाधारण सेवाग्राहीको लागि ५० वटा कार र ८० वटा मोटरसाइकल तथा दोस्रो तलामा न्यायाधीश तथा कर्मचारीहरुको लागि १५ वटा कार र २४ वटा मोटरसाइकल पार्किङ गर्न सकिने कन्सल्टेन्ट इञ्जिनियर ढुंगानाले जानकारी दिए ।

‘भवनमा कूल २ सय ४२ वटा कोठा हुनेछन् । जसमा १४ वटा इजलास हुनेछन्’, उनले थपे, ‘७० जना क्षमताको तालिम कक्ष र २ सय ५० जना क्षमताका हलसमेत उक्त भवनभित्रै हुनेछ ।’

भवनसँगै २ सय जना क्षमताको क्यान्टिनसमेत बन्ने इञ्जिनियर ढुंगानाले बताए ।

भक्तपुर दरबार क्षेत्रस्थित पुरानो भवन साँघुरो भएपछि अदालतले तुमचो दुगुरे चोखा जग्गा एकीकरण आयोजनाभित्रको करिब ११ रोपनी क्षेत्रफलको दुई कित्ता जग्गा खरिद गरेको थियो ।

सोही जग्गामा अहिले पहिलो चरणमा जिल्ला अदालतको आधुनिक भवन निर्माण भइरहेको हो । पहिलो चरणमा अदालतको मुख्य भवन र दोस्रो चरणमा अदालतका न्यायाधीशलगायतको लागि क्वार्टर निर्माण हुने भक्तपुर अदालतले जनाएको छ ।


भक्तपुर जिल्ला अदालतको नयाँ भवनको जग शिलान्यासको ताम्रपत्र अनावरण गर्दै सर्वोच्चका न्यायाधीश मीरा खड्का । तस्बिर : ईश्वरकाजी खाइजू


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.