पानी नभएपछि बसाइँ

पानी नभएपछि बसाइँ

जोमसोम : हिमाली जिल्ला मुस्ताङका पाँच स्थानीय तहमा ९६ गाउँ छन्। सबैभन्दा विकट र पिछडिएको बस्ती हो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापा—५ को ‘ध्ये’। 

वर्षौंदेखि कृषि र पशुपालनमार्फत जीविकोपार्जन गर्ने यो गाउँमा जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिएको छ। यहाँ प्राकृतिक तथा पर्यावरणीय प्रभाव देखिन थालेको छ। सिँचाइ, खानेपानी, चरन क्षेत्र र असमान हिमपातले पछिल्लो समय ध्ये गाउँ संकटमा परेका हो। 

समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा अवस्थित ध्ये गाउँ गुरुङ समुदायको बस्ती हो। भौगोलिक रूपले अत्यन्तै विकट यो गाउँमा कुल २६ घरधुरीको बसोबास छ। तर, जलवायु परिवर्तनको प्रभावले यहाँका स्थानीय अन्यत्र पलायन हुने क्रम बढेको छ। आधाभन्दा बढी घर परिवारले पुरानो थातथलो छोडिसकेका छन्। अन्य पनि स्थानान्तरण हुने क्रममा छन्। 

ध्ये बासीले बर्सेनि एकबाली मात्र खेतीपाती गर्थे। सिँचाइ, खानेपानी,  चरन क्षेत्रको अभाव बढेपछि अन्यत्र सर्नुको विकल्प नभएको स्थानीय पासाङ गुरुङ बताउँछन्। ध्ये गाउँको पुरानो बस्तीमा विगतमा गहुँ, तोरी, आलु र तरकारीले खेती हुन्थ्यो। पानीको स्रोत सुक्दै गएपछि पुख्र्यौली कृषि व्यवसाय धरापमा परेको गुरुङले बताए। एकपछि अर्को परिवार यहाँबाट अन्यत्र सर्ने क्रम नरोकिएपछि यहाँका स्थानीय गाउँको अस्तित्व जोगाउन जुटेका छन्। 

ध्येवासीले करिब १२ किलोमिटर तल कालीगण्डकी किनाराको पूर्वतर्फको ध्ये—थाङ्जुङ/चाम्वले भन्ने स्थानमा बस्ती स्थान्तरण गरेको पूर्व गाउँ मुखिया कुन्साङ गुरुङले जानकारी दिए। उपल्लाो पुरानो ध्ये गाउँ र स्थानान्तरण भएको गाउँको उचाइ करिब एक हजार मिटर कम छ।

बस्ती स्थानान्तरणपछि स्थानीयले सार्वजनिक पर्तीजग्गा भोगचलन गरिपाउँ भनी साबिक जिल्ला समन्वय समिति तथा स्थानीय प्रशासनमा लिखित माग गरेका छन्। तर, सो मागबारे अझै  सम्बोधन नभएको गुरुङको गुनासो छ। उनका अनुसार ध्येबाट विस्थापित भई कालीगण्डकी किनारा छेउमा बसोबास गरेका १७ घरधुरीले खेर गएको बाँझो बगरे जग्गामा सामूहिक रूपमा स्याउ खेती सुरु गरेका छन्। 

कालीगण्डकी किनारको १ हजार २ सय ३ रोपनी र बस्ती स्थान्तरण भएको गाउँ नजिकको ५ सय ५५ रोपनी क्षेत्रफलमा उनीहरूले फलफूल र कृषि व्यवसाय सुरु गरेका हुन्। बस्ती स्थानान्तरण भएको स्थानमा स्याउ, उवा, फापर र जौलगायतका दुई बाली खेती गरिएको छ। ध्ये गाउँको मुलथलोमा अब ९ घरधुरी मात्र छन्। बगरे फाँटमा रहरलाग्दा स्याउका दाना फल्न थालेपछि विस्थापित परिवार उत्साहित बनेका छन्। गाउँमा प्रत्येक घरधुरीले पशुपालनसमेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.