ज्याकलिनको हलिउड डेब्यु
मुम्बई : केही बलिउड सेलिब्रिटीले आफ्नो दमदार अभिनयमार्फत हलिउडमा पनि परिचय बनाएका छन्। यसैबीच बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस पनि हलिउडको यत्रा गर्न तयार भएकी छन्। हालै ज्याकलिनले आफ्नो पहिलो हलिउड प्रोजेक्ट साइन गरेकी छन्।
ज्याकलिनले यो फिल्मको नाम ‘विमेन स्टोरिज’ बताएकी छन्। यो एन्थोलोजी फिचर फिल्म हुने बताइएको छ। यसलाई ६ भागमा तयार गरिनेछ। ज्याकलिनलाई लीना यादवद्वारा निर्मित सेगमेन्टमा देखिनेछ। यसलाई ‘सेयरिङ अ राइड’ शीर्षक दिइएको छ। यसमा ज्याकलिनको साथमा ट्रान्सजेन्डर मोडल अञ्जली लामा पनि देखिनेछिन्। लीनाले यसअघि ‘पार्च्ड’, ‘शब्द’, ‘तीन पत्ती’, ‘राजमा चावल’लगायतका फिल्म निर्देशन गरिसकेकी छन्।
लेर्वोलिनो इन्टरटेनमेन्ट र वी डु इट टुगेदर प्रोडक्सन कम्पनीले बनाउन लागेको फिल्ममा सोले तोग्नाजीले पनि अभिनय गर्नेछन्। लुसिया पुएन्जो र क्याथरिन हार्डविकले महिलामाथि आधारित यो फिल्म पर्दामा उतार्न निर्देशकका रूपमा एकआपसमा हात मिलाएका छन्। यसमा विभिन्न क्षेत्रका महिलाको कथा उतारिनेछ। ज्याकलिन तत्काल अक्षय कुमारसँग ‘बच्चन पाण्डे’मा देखिँदै छिन्।