खेर गयो चौंरीको दूध
नुवाकोट : बजार नपाएपछि रसुवामा चौरीको दूध खेर गएको छ। दुग्ध विकास संस्थानले खरिद गर्दै आएकोमा विविध कारणले नलिएपछि किसान मर्कामा परेका छन्। नौकुण्ड गाउँपालिका वडा नं १ का बुराना थोक्रा तामाङले दूध बिक्री नभएपछि खेर गइरहेको गुनासो गरे। उनले सरकारले तत्काल आफूजस्ता चौंरीपालक किसानको समस्या समाधान गरिनुपर्ने माग गरे। उनका अनुसार २०७७ साल भदौदेखि दुग्ध विकास संस्थानले दूध नलिएका कारण समस्या भएको हो। त्यहाँ ६ सय ६० वटा दुधालु चौंरीगाई छन्।
चौंरीको दूध खेर गएपछि किसान निकै मर्कामा परेका छन्। त्यहाँका किसानले २० देखि ४० वटासम्म चौंरीगाई पालेका छन्। स्थानीय किसानले दैनिक ८ सय लिटरसम्म दूध उत्पादन गरेका छन्। किसान हाल दूध बेच्न नपाएर समस्यामा परेको तमाङले बताए। दूधबाट दुर्खा, चिज, पनिर, खुवालगायत परिकार बनाउन पाए खेर नजाने नौकुण्ड गाउँपालिका–१, सिमबन्दीका दावासिदार तामाङको भनाइ छ। उनले १५ वटा चौरी पालेका छन्। उनको परिवार विगत २० वर्षदेखि यही पेसामा संलग्न छ। प्रत्येक वर्ष वैशाखदेखि असोज मसान्तसम्म चिज उत्पादन केन्द्रलाई दूध बिक्री गर्दै आएका थिए।
यस वर्ष भने डेढ महिना पनि दूध बिक्री गर्न नपाएपछि समस्या भयो, चिज उत्पादन केन्द्रले दूध नलिएपछि समस्या भएको चौरीपालक किसानको भनाइ छ। विश्वव्यापी फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण अन्य काम पाइने अवस्था छैन। ‘गएको केन्द्रले दूध लिन छोड्यो’, किसानले अगाडि भनिन्, ‘अब दूध बिक्री नभएपछि के गरी परिवार पाल्नु, जीविका चलाउन समस्या भयो।’ पहिले कृषकले दूध बिक्री नहुँदा घिउ र छुर्पी बनाएर बिक्री गर्थे। तर, त्यसको पनि अहिले बजार छैन।
‘अब छुर्पी र घिउ बनाउनुको विकल्प छैन’, किसान दावासिदार तामाङले भने, ‘तर यसको पनि अहिले बजार छैन।’ उनीहरूले दैनिक तीन घण्टाको बाटो हिँडेर केन्द्रमा दूध ल्याइरहेका हुन्छन्। उनीहरूसँग आउने अन्य सात जना कृषकले पनि यसपटक दूध बिक्री गर्न पाएका छैनन्। किसान बिहान खाजा खाएर केन्द्र आउँछन् र खाना खान घरमा नै पुग्छन्।
केन्द्रमा दूध लिएर आउनेमा धुन्चे, सिमबन्दी, दोक्लाङ, साङयुल, यार्साका बढी छन्। सिमबन्दीका नानाम लामा थोक्राले ऋण काढेर चौरी थप्दै गएका थिए। ‘साधारण लेखपढ पनि छैन, बच्चैबाट गोठमा बसियो’, उनले भने, ‘आफूले यही पेशा जानेकाले ऋण काढेर भए पनि चौरी थप्दै गएँ तर यसपटक केन्द्रले दूध नलिँदा समस्या भयो।’ अहिले उनको गोठमा १७ वटा चौंरी छ। ‘पहिले दसैं नआई भात खान पाइने थिएन’, उनले विगत सम्झँदै भने, ‘अहिले त चौरी पालेरै परिवार धानेको छु।’ भूकम्पको समयमा समेत दूध बिक्री भएको बताउँदै उनले यो पटक कोरोनाले कृषकको गाँस खोसेको बताए। ‘केन्द्रले दूध लेला भनेर ऋण काढेर चौरी थपेँ। तर, यसपटक केन्द्रले कृषकको दुःखलाई बुझ्न सकेन।’
चौरीपालक रुपसाङ तामाङले अगाडि भने, ‘पहिले जस्तै भात खान दसैं कुर्ने दिन आउला जस्तो छ।’ पछिल्लो समय कोभिडका कारण दूध बिक्री गर्न नपाउँदा उनमा चिन्ता छाएको छ। ‘व्यापार गरौं भने हिसाब जान्दैन’, उनले भने, ‘यस्तो अवस्थामा के पो गर्ने।’ सो स्थानका कृषकले १० देखि ४० वटासम्म चौरीगाई पाल्छन्। खर्कमा घाँस विस्तारै घट्दै गएको छ। दूध बोकेर आउनका लागि बाटो पनि राम्रो छैन। हालसम्म चौंरीपालक कृषक घटेका भने छैनन्।