चार ताराको उदय
बन्दीगृह लैजाने क्रममा गंगालालले गणेशमानतर्फ फर्केर भने, ‘गणेशमान दाइ, मेरो रगतलाई नबिर्सनु होला !’ गंगालालको त्यो वाणी गणेशमानको मुटुमा नराम्रोसँग गढ्यो
इदं नमः ऋषिभ्यः पूर्वजेभ्य
–(ऋगःवेद)
त्रिपुरेश्वर चोकास्थित राजा त्रिभुवनको सालिकलाई घुमेर दायाँ त्रिपुरेश्वर कालिमाटीतर्फ सवारीको घुइँचो छिचोल्दै आफ्नो गाडी अगाडि बढाउँदै जाँदा मचलीमा पर्ने वीर अस्पतालको संक्रमण रोग उपचार एकाइ छिर्ने पातलो गल्लीलाई पनि स्वात्त पार गरेर जानुपर्ने हुन्छ। त्यस गल्लीबाट अर्को कुनै सवारी साधन त आइरहेको छैन भनी जोकोहीले स्वतः एकपटक बायाँतिर पुलुक्क हेर्ने गरेको हुन सक्छ। त्यसैबेला त्यहाँ बारले घेरेको एउटा सानो रूखको झल्को देख्ने छ। धेरै वर्ष भएको छैन, त्यस स्थानमा एउटा ठूलो रूख थियो; जसलाई काटेर सडक चौडा पारिएको थियो; जुन अहिलेको परिप्रेक्ष्यमा आवश्यक नै हो। त्यस चौतारीको अघिल्तिर बीचमा पण्डित शुक्रराज शास्त्रीको श्रद्धाञ्जलीमा एउटा सिङमर्मरको पाटी टाँसेको छ। हाल उक्त संक्रमण रोग उपचार गरिने अस्पतालको नाम उनैको नाममा समर्पित छ।
रूखबाट सर्पझैँ तुङ्रुङ्ङ लत्रिएर झरेको पासोको फन्दातिर लैजान्दै गर्दा पण्डित शुक्रराज शास्त्री गीताका श्लोकहरू विस्तारै वाचन गरिरहेका थिए। उनी अन्य धर्मग्रन्थहरूका साथसाथै गीतामा समेत पोख्त भएकाले उनले त्यस विडम्बनालाई भोग्नुपरेको थियो।
उनको गिरफ्तारीमा उनलाई स्थानीय वासिन्दामाझ गीताको त्यसमा पनि कर्मयोगमाथि व्याख्यान गरी कर्तव्य सर्वोपरिको मन्त्रण दिई राज्यविरुद्ध षड्यन्त्र गरेको आरोप लगाइएको थियो। पण्डितले गीताका धार्मिक उपदेश वाचन गरी तत्कालीन समाज र सामाजिक ढाँचामा विद्यमान जनता प्रभावविहीन पारिने शोषणपरक मान्यताबाट मुक्त गर्न स्थानीय वासिन्दामा जनचेतना जागृत गर्ने प्रयास गरेका थिए। उनले जनता स्वयं आफू र समाजप्रतिको जिम्मेवारीबारे दायित्वबोध गराउने प्रयत्न गरेका थिए। सामाजिक परिवर्तनको प्रयास भनेको अन्ततोगत्वा राजनीतिक परिवर्तन अर्थात् क्रान्ति हो; जुन जहानियाँ राणाशासनका लागि सर्वथा अमान्य थियो।
राजनीतिक छक्कापञ्जा, दाउपेच, षड्यन्त्र आदि भनेको सिंहासनका उत्तराधिकारी र दरबारिया भारदार मात्रको बपौती थियो। पण्डितले धर्मशास्त्रका उपदेशहरूको वाचन गरेर जनताको अन्तरात्मा जागृत गराई सीमित मानिसको दायराभित्र रहेको राजनीतिलाई जनतामाझ ल्याउने कोसिस गरेका थिए। एकाग्रतापूर्वक धर्मग्रन्थका श्लोकहरू वाचन गर्दै उनले पवित्र बागमतीको शीतल जलमा स्नान गरे। त्यसरी बलिदान हुनुपूर्व आफूलाई पवित्र तुल्याउने उनले अन्तिम कार्य गरेका थिए। सेतो धोती र रातो भोटो पहिरनमा सहज एवं ऐच्छिक रूपले मृत्युमालालाई आफ्नो घाँटीमा वरण गर्दै उनले बलिदानी दिए। त्यस प्रकार उक्त निस्तब्ध रात, नेपाली समाजको अन्धकारमय नवमण्डलमा अन्धकारबाट प्रकाशतर्फ लैजाने प्रथम ताराको उदय भयो। उक्त घटना सन् १९४१ जनवरी २३ को रातमा भएको थियो। ती विद्वोत्तम तथा साहसिक आत्माप्रति लाखलाख वन्दना !!!
गणेशमान सिंह अनेक लख काट्दै र जुनसुकै परिणाम भोग्न तयार रहेर प्रजापरिषद्का अन्य सदस्यसँगै उभिरहेका थिए। नेपालको प्रधानमन्त्री श्री ३ जुद्धशमशेरले उपस्थित गराइएका उच्च ओहोदाका अधिकृतमा उनले आफ्ना जेठा हजुरबुबा बडाकाजी रत्नमान सिंहलाई पनि देखे। उपस्थितहरूमा श्री ५ महाराजाधिराज त्रिभुवनलगायत बेलायती आवासीय प्रतिनिधि कर्नेल जेफ्री बेथम पनि थिए।
सन् १९३८ मार्चमा इन्डियन एक्सप्रेसले प्रस्तुत गरेको खबरलाई आधार बनाई शुक्रराज शास्त्री कलकत्ता जाँदा महात्मा गान्धीसँग भेटी नेपाली जनताको दुरवस्थाबारे जानकारी गराएर त्यस दुःखको भुमरीबाट उनीहरूलाई उद्धार गर्न गान्धीको समर्थन जुटाउने प्रयास गरेको अभियोग लगाइएको थियो। गान्धीले त्यसबेला भारतमा चर्किरहेको जनआन्दोलनको अगुवाइ गरिरहेको भए पनि शास्त्रीलाई भेटका निम्ति छोटो समय दिएका थिए। तर आफ्नै देशको मामिलामा व्यस्त हुनुपरेकाले उनले शास्त्रीलाई आफ्नो फरियाद लिएर नेपालकै शक्ति केन्द्रमा जानुपर्ने सुझाव दिए। गान्धीलाई प्रभावित तुल्याउन असमर्थ भएपछि उनले उक्त मामिला एक मध्यस्थकर्तामार्फत गान्धीका तत्कालीन एक प्रभावशाली शिष्य जवाहरलाल नेहरूसमक्ष पुर्याउन लगाए। त्यहाँ पनि निराश नै हुनुपर्यो। नेहरूले त भेटसम्म पनि दिएनन्। तर आफ्नो सचिवमार्फत नेपाल हिन्दु अधिराज्य भएको हुँदा यसप्रति भारतीय जनताले विशेष महत्त्व राख्ने गरेको र अझ विश्वकै एक मात्र हिन्दु राष्ट्र भएकाले भारतीय पनि यसमा गौरव गर्ने हुँदा त्यस्तो राष्ट्रको राजकाज मामिलामा भारतले खलल नपुर्याउनु नै उचित हुने सन्देश पठाए।
मृत्युदण्डको सजाय सुनेपछि दशरथ चन्दले छाती ठोक्दै ‘म कति भाग्यमानी रहेछु, मेरो बाजे र बाबु पनि राणाहरूसँग संघर्ष गर्दै अमर भए, अहिले मेरो पालो आयो’ भन्दै कड्के, ‘हामीले राणाहरूको अन्त्य देख्ने छैनौँ तर तिमीहरूले यिनीहरूको पतन अवश्य देख्ने छौ। यिनीहरू धेरै दिन टिक्ने छैनन्। सुरो हुनू। कसैले माफी नमाग्नू ! जसले त्यसो गर्ला उसलाई भावी सन्ततिले कदापि क्षमा गर्ने छैनन् !’
भारतीय नेताहरूको समर्थन जुटाउन असमर्थ भएकोमा दुःखी मन लिएर तर नेपाली जनतालाई नै जागृत गराउने दृढताका साथ शास्त्री नेपाल फर्केका थिए। नेपाल फर्केलगत्तै आफ्नो उद्देश्यपूर्तिका लागि उनले आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति नामक एक गुप्त संस्था स्थापना गरी गीता र अन्य धर्मग्रन्थहरूको प्रवचनमार्फत नागरिक सजकता अभियानको प्रयास गरेका थिए। उक्त गुप्त संस्था सन् १९३६ मा गठन गरिएको थियो। जसमा शास्त्री आपैंm अध्यक्ष र केदारमान व्यथित, गंगालाल श्रेष्ठ, शंकरप्रसाद नेपाल, मुरलीधर भट्टराई, राजलाल कलवार र आनन्दराम श्रेष्ठ सदस्य थिए।
प्रधानमन्त्री श्री ३ जुद्धशमशेरले राज्यविरुद्ध क्रान्ति छेड्न विदेशी समर्थनका लागि गुहार मागेर स्थानीय जनता उक्साउने, भड्काउनेजस्तो संंगीन अभियोग लगाइएको थियो। त्यसमा पनि प्रधानमन्त्रीले सरकारी नोकरीमा बहाली रहेको र सरकारी खर्चमा किताब छपाई निरीक्षणका लागि कलकत्तामा गएको वास्तविकतालाई जोड दिँदै, गान्धीसँग भेट गरेको कुरालाई प्रमुखताका साथ अगाडि सारेका थिए। उनले शास्त्रीलाई सम्पूर्ण विद्रोहीहरूको नेता भएको आरोप लगाउँदै कडाभन्दा कडा दण्ड दिनुपर्नेसमेत जिकिर गरेका थिए। जुद्धशमशेरले शास्त्रीका लागि ठाडै मृत्युदण्डको माग राखे। केहीबाहेक उपस्थित सबैले स्वरमा स्वर मिलाउँदै ‘मृत्युदण्ड ! मृत्युदण्ड !’ भनेर आफ्नो भाग्यविधाताले किटान गरेको मृत्युदण्डको समर्थनमा आवाज बुलन्द गरेका थिए।
***
डिसेम्बर १९३३ को बिहानीपख भारतको चम्पारन रामनगर रियासतमा रामराजा आफ्नो पुख्र्यौली जायजेथाको निरीक्षण गरिरहेका थिए। उनको शिविरतिर एउटा हात्ती लम्कँदै आइरहेको थियो। हात्तीको पिठ्युँमा घुँडासम्म प्यान्ट र युरोपेली टोप लगाएको व्यक्ति त्यहाँको भूभाग निरीक्षण गरिरहेको थियो। उनी त्यहाँको रजबाडाको दिवान दशरथ चन्द थिए। उनले त्यहाँ कालो वर्णको एक युवक र रामराजाको शिविरबाहिर उभिइरहेको एक वृद्धलाई देखे। हात्तीबाट ओर्लिएपछि वृद्ध टीकाप्रसादले आफ्नो र छोरा टंकप्रसादको परिचय दिँदै नोकरीको आशा राखे। नेपालमा नायब सुब्बा पदमा जागिरे टीकाप्रसादको नोकरी भरखरै खुस्केको थियो। टंकप्रसाद भने म्याट्रिकुलेसन जाँच दिने तयारीमा थिए। दशरथ चन्दको आश्वासन पाएपछि टीकाप्रसाद फर्किए भने टंकप्रसाद उनीसँगै बसे। भर्खरै बुवा नोकरीबाट बर्खास्त भएकाले होला टंकप्रसादले राणाशासनको विरोधमा मुख खोले। चन्दले पनि त्यसमा समर्थन जनाए। सन् १८८१ मा भएको राणाशासन हटाऊ असफल आन्दोलनलाई साथ दिएका कारण उनका हजुरबालाई राणाशासकले मारेको थियो। उनले भारतीय कलेजमा अध्ययन गरी त्यहींबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए। भारत बसाइमा महात्मा गान्धीले परिचालन गरेको ‘नमक छोड’ आन्दोलनमा सरिक भएका थिए।
केही महिनापछि काठमाडौंमा उनीहरूबीच फेरि भेट भयो। उनीहरू निरन्तरजसो संगठन गठनमा लागे। एक दिन डुलिरहेका बेला रानीपोखरीनिर एकजना राम्रो शरीरिक बनावट भएका व्यक्तिलाई देखे। उनी राजा त्रिभुवनका व्यायाम प्रशिक्षक धर्मभक्त माथेमा थिए। केही दिनपछि फेरि उनीहरूले धर्मभक्तलाई भेटे। परिचय आदानप्रदान गरे। चन्द र आचार्यले माथेमालाई पनि आफूहरूले गठन गर्न लागेको संगठनमा आबद्ध गर्ने निधो गरे।
भीमफेदी काठमाडौं उपत्यका भित्रिने महत्त्वपूर्ण द्वार थियो। जीविकोपार्जनका लागि टंकप्रसादले भारतबाट काठमाडौं आउने यात्रुलाई घोडा भाडामा दिने काम सुरु गरेका थिए। एक दिन कलकत्ताबाट धर्मभक्तलाई फर्कंदै गरेको देखे। भीमफेदीबाट काठमाडौं आउने क्रममा उनीहरूले राणाशासकका बारेमा कुराकानी भयो। त्यसक्रममा दुवैजनाले गुप्त संगठनमार्फत राणाविरोधी अभियान चलाउने सहमति पनि गरे। काठमाडौं आएपछि पनि दशरथ चन्द, आचार्य र धर्मभक्तबीच भेटघाट चलिरह्यो। संगठन खोल्न राजा त्रिभुवनको समर्थन जुटाउनुपर्ने सहमति भयो। राजासँग सम्पर्क बाँध्ने एक मात्र सूत्र धर्मभक्त भएकाले राजालाई सूचित गर्ने जिम्मा पनि उनैलाई सुम्पियो। आचार्य र दशरथ चन्द संगठनका लागि थप जनशक्ति जुटाउन लागे।
यो काममा राजाको सहमति जुटाउनु जति सजिलो थियो उति नै गाह्रो पनि। यसबारे महिनौंसम्म घच्घचाएपछि राजाले मञ्जुरी दिए।
सन् १९३६ मे महिनामा धर्मभक्तको निवास ओमबाहालमा युवा समूहको एक भेला भयो। त्यो भेलाले नेपालमा प्रथम राजनीतिक दलको गठन गर्यो। त्यस राजनीतिक दललाई उनीहरूले ‘नेपाल प्रजापरिषद्’ नाम दिएका थिए। त्यसको लक्ष्य राजाको वैधानिक नेतृत्वमा जनउत्तरदायी सरकारको स्थापना गर्नु थियो।
जनजागरण त्यसको प्रथम काम थियो। टंकप्रसाद, दशरथ चन्द, धर्मभक्त, रामहरि शर्मा र जीवराज शर्मा पाँचजनाको समूह बनाएर त्यो काम सुरु भयो। दशरथ चन्दले प्रचारका लागि सञ्चारमाध्यम अपनाउने निधो गरे। पटना गएर उनले पहिले सेवा सिंह र पछि सुशीलको छद्म नामबाट त्यहींको स्थानीय भाषाको जनता साप्ताहिक पत्रिकामार्फत राणाविरोधी लेखहरू प्रकाशित गर्न थाले। यस्तै कलकत्ताबाट प्रकशित हुने एड्भान्स अंग्रेजी पत्रिकामा पनि प्रजापरिषद्का बारेमा लेखहरू प्रकाशित हुन थाल्यो। नारायणबहादुर श्रेष्ठ भारतमा प्रकाशित पत्रपत्रिका लुकाइछिपाई नेपाल पठाउँथे। ती पत्रिकाहरू नेपालमा बडो उत्सुकताका साथ पढिन्थ्यो।
भारतीय पत्रिकामा राणाविरोधी लेखहरू छापिन थालेपछि प्रजापरिषद्प्रति राजा त्रिभुवनको भरोसा पनि बढ्न थालेको थियो। राजाले दिएको पाँच हजार रुपैयाँमध्येबाट साइक्लोस्टायल मेसिन किनेर पर्चा छाप्ने गरिएको थियो। राणाशासकलाई विक्षिप्त तुल्याउने र जनतालाई उत्साहित बनाउने पर्चाहरू त्यही मेसिनमा छाप्न थालियो।
***
कलकत्ताको विद्यासागर कलेजमा अध्ययनरत गणेशमान सिंहको धर्मभक्त र गंगालालसँग बिदा मनाउन आएका बेला पहिलोपटक भेट भएको थियो। डर र त्रास व्याप्त समयमा सिंहले तत्कालीन विश्व परिवेशमाथि गर्ने कुरा उनीहरूका लागि फरक र रोचक हुन्थ्यो। उनीहरूले गर्ने संवादको मूल विषय भारतमा महात्मा गान्धीले गरिरहेको संघर्ष, शुक्रराज शास्त्री र गान्धीबीच भएको भेटघाट एवं शास्त्रीको बन्दी जीवनको सेरोफेरोमा नै हुने गथ्र्याे। गंगालाल गर्वका साथ आफू सदस्य रहेको नागरिक अधिकार समितिले गरेका कामको वकालत गर्थे। शुक्रराज बन्दी बनेपछि गंगालालले वकालत गर्ने नागरिक अधिकार समिति निस्क्रिय भइसकेको थियो।
गणेशमान र गंगालालले प्रजापरिषद् नामक गुप्त संस्थाका बारेमा सुनेका थिए। उक्त संस्थाले सर्वसाधारणलाई अन्यायको विरोध गर्न आह्वान गर्दै राणाविरोधी केही हस्तलिखित पर्चा वितरण गरिसकेको थियो। गणेशमान र गंगालाल प्रत्येक शनिबार गृप्त संस्था खोज्न भौंतारिन्थे। लामो समय कसरत गर्दा पनि उनीहरूले प्रजापरिषद्का बारेमा भेउसम्म पनि पाउन सकेनन्। एक दिन धर्मभक्तले गणेशमान र गंगालाललाई लिएर स्वयम्भूनाथको डाँडामा गए। प्रजापरिषद् फेला पर्ने लालसामा रहेका उनीहरूलाई धर्मभक्तले निकै लामो समय नियाले। ‘अब तिमीहरू के गर्छौ ? प्रजापरिषद् फेला पर्यो त ? फेला परिहाले पनि तिमीहरू के गर्छौ ?’, स्वयम्भूका डाँडाबाट तल ओर्लिसकेपछि धर्मभक्तले सोधे। ‘हामी संस्थाको सदस्य बन्न चाहन्छौं। हाम्रो खोजी अर्को शनिबार पनि निरन्तर जारी नै रहने छ’, गणेशमानले भने। ‘हो, हाम्रो खोजी निरन्तर जारी नै रहने छ !’ गंगालालले पनि सही थापे।
धर्मभक्तले फेरि सोधे, ‘मैले तिमीहरूलाई प्रजापरिषद्मा लगें भने नि ?’ जवाफमा उनलाई तुरुन्त गिज्याउँदै दुवैजना खित्खिताए। ‘तिमीले हामीलाई प्रजापषिद्मा लाने ? ए गंगा ! सुन्यौ महाशय के भन्दै छ ? हामीलाई प्रजापरिषद्मा लाने रे ? त्यो दिन त ठूलै दिन हुनेछ हगि !’ गणेशमानले खिज्यायो। ‘हो र ?’ खित्खिताउँदै गंगालाल पनि गिज्याउन पछि परेनन्। ‘लगिदिए त हामी धेरै आभारी हुने थियौं !’ भन्दै गणेशमानले छाती फुलाएका थिए।
त्यस्तै ठट्टैठट्टाका बीचमा धर्मभक्तले आफ्नो पेटी गोजीको जिपर खोलेर एउटा कागजको टुक्रा झिके। उनले सहज भावमा रहस्य खोल्दै ‘म प्रजापरिषद्को संस्थापक सदस्य हुँ र अब निस्कने अर्को पर्चा यो नै हो’ भन्दै पर्चा उनीहरूलाई दिए। त्यसबाट अक्कमक्क परेर बोली बन्द भएका गणेशमानले धर्मभक्तका हातबाट उक्त पर्चाको टुक्रा लिए। बिजुली बत्ती निभाएको त्यस ठाउँमा गंगालालले सल्काएको सलाईको काँटी अघिल्तिर गणेशमानले उक्त कागतको टुक्रा जतनपूर्वक खोले। हडबडमा अधिकांश सलाईका काँटी बेढंगले जलाउँदै पर्चाका पाना पल्टाउँदै पढ्दा उनीहरूको टाउको आपसमा ठोकिन्थ्यो। आश्चर्य त्यो थियो कि उत्तेजना हुँदाहुँदै पनि उनीहरूले पर्चा जल्न दिएका थिएनन्। उनीहरूभन्दा केही गज पर धर्मभक्त उनीहरूको हरकत नियाल्दै पर्खिबसेका थिए। पढिसकेर उनीहरू विस्तारै धर्मभक्त नजिक आए, तर केही बोल्न सकेनन्। ‘प्रजापरिषद्मा भर्ना हुन चाहने जोकोहीले भगवान्का अगाडि किरिया खानुपर्छ’ धर्मभक्तले भने। ती दुई युवाले एकै स्वरमा ‘हामी जस्तोसुकै किरिया पनि खान तयार छौं’ भने।
त्यसपछि उनीहरू ‘शोभा भगवती’ मन्दिरतिर लागे। तीनैजनाले विष्णुमतीमा पञ्चस्नान गरी शुद्ध बनीवरी भवानीको अगाडि घुँडा टेक्न पुगेका थिए। आफ्नो दायाँतर्फ गंगालाल र बायाँतर्फ गणेशमानलाई साथमा राखी धर्मभक्तले भवानीको पाउमा आफूले ढोगे र उनीहरूलाई पनि ढोग्न लगाए। ‘अब म जे भन्छु तिमीहरू त्यही दोहोर्याउनू’ उनले भने। ‘आजदेखि र आउने दिनमा, म प्रजापरिषद्को शक्ति बढाउन आफ्नो जीवन अर्पण गर्नेछु र पक्राउ परेमा धोखा दिनुभन्दा मर्नेछु भनी सच्चा दिलले प्रतिज्ञा गर्छु। देवी भगवती मेरो यस प्रतिज्ञाकी साक्षी रहून् !’ दुवैले भवानी माँका सामुन्ने रही अक्षरशः किरिया खाए।
केही महिनादेखि लगातार धर्मभक्तले गोप्य राजनीतिक संगठनबारे राजा त्रिभुवनलाई पटकपटक जानकारी गरउँदै आएका थिए। उनको चित्त राख्न भए पनि राजाले प्रजापरिषद्का सदस्यहरूसँग भेट गर्न चाहेका थिए। एक दिन धर्मभक्तले आफ्ना साथीहरूको भेट गराए। ‘मैले तिम्रा साथीहरू सबैलाई हेरें, पछिल्तिर उभिएको कालो होचो एकजनाबाहेक अरू कोही पनि केही गर्न सक्नेजस्तो लागेन।’ धर्मभक्तले भने, ‘सरकार, उनी हाम्रो संस्थाको अध्यक्ष टंकप्रसाद हुन्’, तत्काल धर्मभक्तले परिचय दिए। ‘बाहुनजस्तो देखिन्छ नि’ राजाले सोधे। ‘हो सरकार, उपाध्याय बाहुन।’
धर्मभक्तले आफूले संगठनमा नयाँ भर्ना गरेका सदस्यहरूको प्रजापरिषद्का अन्य सदस्यहरूसँग परिचय गराए; जसमा टंकप्रसाद आचार्य, दशरथ चन्द, रामहरि शर्मा, पुष्करनाथ उप्रेती, गोविन्दप्रसाद उपाध्याय र बलबहादुर पाँडे थिए। संस्थापक सदस्यहरूले सावधानीपूर्वक सबैका बारेमा सूक्ष्म अध्ययन गरेपश्चात् जम्मा १९ जना सदस्य रहेको प्रजापरिषद् नामक गुप्त संस्थालाई पूर्णरूप दिइएको थियो।
***
सन् १९४० को मच्छेन्द्रनाथ जात्रामा पर्चाहरू पनि बर्साइएको थियो। जाँडको घुट्कोसँगै मुखभरि चिउरा र छोय्ला चपाइरहेका जात्रालुमध्ये कसैले ठूलो आवाजमा पढेको राणाविरोधी उक्त पर्चा आसपासका अन्य जात्रा भर्न आएका जात्रालुले पनि मजा लिँदै सुने। त्यो कुरा सुन्दा राणा प्रधानमन्त्री रिसले दाह्रा किट्थे। जुलाई २६, १९४० मा गोरखापत्रमा त्यसबारे सूचना दिने जोकोहीलाई वा पर्चा छर्नेहरूलाई पक्रन सहयोग गर्नेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने घोषणा जारी भयो। प्रहरीहरू सहरका गल्लीगल्लीमा दौडाह लगाउन थाले। नोभेम्बर १९४० प्रजापरिषद्का लागि दुर्भाग्यपूर्ण बन्यो। प्रजापरिषद्को एक कमजोर सदस्यलाई भेद ओकल्न लगाइयो र गुप्तचरहरूले एउटा प्रतिशोधी बाजले झम्टे झैँ गरी झम्टन थाले। प्रजापरिषद्का सम्पूर्ण सदस्यहरू शंकाको घेरामा परे। प्रजापरिषद्का सदस्य र सर्वसाधारण गरी दुई सयभन्दा बढी गिरफ्तार भए।
मलिन अनुहारका साथ काँप्दै र धरमराउँदै हरिकृष्ण श्रेष्ठ अन्य बन्दी राखिएको कक्षभित्र छिरे। उनलाई सोधपुछका लागि बाहिर लगिएको थियो र तर्साउने नियतले त्यस्तो दृश्य देखाएर फर्काइएको थियो। जुन दृश्य उनले जीवनभर बिर्सन सक्ने थिएनन्। उनलाई बाहिर लैजाँदा गंगालाललाई खामोमा बाँधेर भुइँतिर झुन्ड्याएर कोर्राले हिर्काइरहेका थिए। कोर्राको मार पर्नासाथ गंगालालको चीत्कार निस्कन्थ्यो। पीडाले तिल्मिलाएको चीत्कारसँगै अधिकते साबिती बयान दे भन्थे। दृढसंकल्पी गंगालालबाट कुनै जवाफ आएन। उनले मुख नखोलुञ्जेल उनको शरीरमा कोर्रा बर्सिरह्यो। गंगालाल पीडाले मरणासन्न भए। तर, उनले न साबिती बयान दिए न त कसैको नाम नै लिए।
‘हामीमध्ये कोही पनि टुट्ने छैनौं। उनीहरूले हाम्रा हातखुट्टा भाँच्न सक्लान् तर आत्मशक्ति कदापि दबाउन सक्दैनन् !’ दशरथ चन्दको कठोर आवाजले कोठाभित्रको निस्तब्धतालाई तोड्यो। त्यस कोठामा भएका सबै मानसिक तवरमा दृढ भए। दशरथचन्द त्यो समूहको आत्मबल बढाउन कटिबद्ध थिए। सरकारी अधिकारीबाट चरम यातना भोग्न बाध्य बन्दीहरूमध्ये धर्मभक्त र गंगालालको घरबाट अपराध पुष्टि हुने लिखत बरामद भएको थियो। प्राप्त प्रमाणका आधारमा उनीहरूमाथि कडा मुद्दा दायर हुनेमा उनीहरू विश्वस्त थिए। त्यहीबीचमा जुद्धशमशेरलाई राजा त्रिभुवनको प्रजापरिषद्सँग गोप्य साँठगाँठ रहेको छनक लागिसकेको थियो। राजालाई एक्कासि सिंहदरबारमा बोलाइयो र उपस्थित सम्पूर्ण भारदार र उच्च पदस्थ अधिकृतसामु हपारियो। प्रधानमन्त्रीले रिसको आवेगमा राजालाई देशनिकाला गरी गोर्खा धपाउने धम्की दिँदै गोर्खाको पुरानो दरबार तयार गर्न हुकुम दिए। बडाकाजी रत्नमान सिंह जुरुक्क उठे र प्रधानमन्त्रीको निर्णयविरुद्ध कुशलताका साथ वकालत गरे। प्रधानमन्त्रीले उनको सल्लाहलाई मनन गरे।
तर, त्यसको डेढ महिनापछि नै दोषी ठहर्याएकामध्ये शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई मृत्युदण्डको सजाय तोकियो। गणेशमान सिंह र हरिकृष्ण श्रेष्ठलगायत ११ जनालाई आजन्म कैदको सजाय सुनाइयो। अन्य १० जनालाई १० देखि १८ वर्षको कैद सजाय तोकियो। तीमध्ये केदारमान बेथित र धर्मरत्न यमीलाई १८ वर्ष, गणेशराज वन्त, मरीचमान नकर्मी र सिद्धिचरण श्रेष्ठलाई १२ वर्ष कैद तोकियो। टंकप्रसाद आचार्य र रामहरि शर्मालाई भने छुट्टै सजायको व्यवस्था गरियो। हिन्दुशास्त्रमा ब्राह्मणहरूको ज्यान लिन वर्जित गरिएकाले चारपाटे मोडेर सुँगुरको छालाले बेरेर सहर घुमाएर आजन्म काराबास पठाइयो। राजाका विषयमा रत्नमानको सुझावप्रति प्रधानमन्त्री सहमत भए पनि सबैसामु सच्याएको उनलाई पचेको थिएन। त्यसैले उनले बन्दीहरूलाई तोकिएको सजाय सुनाउन लगाए।
मृत्युदण्डको सजाय सुनेपछि दशरथ चन्दले छाती ठोक्दै ‘म कति भाग्यमानी रहेछु, मेरो बाजे र बाबु पनि राणाहरूसँग संघर्ष गर्दै अमर भए, अहिले मेरो पालो आयो’ भन्दै कड्के, ‘हामीले राणाहरूको अन्त्य देख्ने छैनौँ तर तिमीहरूले यिनीहरूको पतन अवश्य देख्ने छौ। यिनीहरू धेरै दिन टिक्ने छैनन्। सुरो हुनू। कसैले माफी नमाग्नू ! जसले त्यसो गर्ला उसलाई भावी सन्ततिले कदापि क्षमा गर्ने छैनन् !’
त्यसपछि उनले एक अधिकारीलाई बोलाएर भने, ‘मलाई नझुन्ड्याइयोस्। मेरो छाती गोली थाप्न तयार छ। नेवार भए पनि मेरा भाइ गंगालाल पनि त्यत्तिकै बहादुर छ। हामी दुवैलाई गोली हान्न तिम्रो मालिकलाई भनिदेऊ !’
धर्मभक्तले क्रान्तिप्रति आफू अटल रहेको बताए। ‘मेरो जन्म सार्थक रह्यो, मैले नश्वर शरीरलाई आफ्नो प्यारो मातृभूमिका लागि बलिदान गर्न पाएँ। मृत्युदण्डको सजाय मेरा लागि प्रसाद हो।’ त्यहाँबाट कैदखाना फर्काउने क्रममा धर्मभक्तले भने, ‘देश र देशवासीको भविष्यका लागि म आफ्नो जीवन आहुति दिन गइरहेको छु। देशमा प्रजातन्त्र ल्याउन तिमीहरूले रोजेको सद्बाटोबाट कदापि बिचलित नहुनू।’ त्यसपछि गणेशमानले उनलाई आश्वस्त गराउँदै भने, ‘देशमा प्रजातन्त्र ल्याउन जीवनको अन्तिम क्षणसम्म हामी लडिरहने छौं।’
मृत्युदण्ड दिइएका देशका सपूतहरूलाई बन्दीगृह लैजाने क्रममा गंगालालले गणेशमानतर्फ फर्केर भने, ‘गणेशमान दाइ, मेरो रगतलाई नबिर्सनु होला !’ गंगालालको त्यो वाणी गणेशमानको मुटुमा नराम्रोसँग गढ्यो। एक दिन एकाबिहानै सडकमा मानिसहरू हस्याङफस्याङ गरिरहेका थिए। चिसो बिहानीमा मानिसहरू दौडिरहेका थिए। ‘मानिस झुन्ड्याइयो !’ ‘शुक्रराज शास्त्रीलाई झुन्ड्याइयो !’ यो आवाजले धेरैलाई भाउन्न बनायो।
दशरथ चन्द र गंगालाललाई शोभा भगवती मन्दिरछेउ विष्णुमतीमा लगेर गोली ठोकियो, जहाँ गंगालाल र गणेशमानले प्रजापरिषद् खोज्ने क्रममा धर्मभक्तसँग किरिया खाएका थिए। धर्मभक्तलाई पशुपति जाने बाटोमा पर्ने सिफलको एउटा रूखमा झुन्ड्याइयो।
यिनै थिए, प्रथम चार। प्रणाम छ ती ऋषि, ती पूर्वज, प्रथम पथ प्रदर्शकहरूलाई !
(सिंहद्वारा अंग्रेजीमा लिखित ‘फरएभर इनकम्प्लिट द स्टोरी अफ नेपाल’ पुस्तकको चौथो संस्करणको प्रथम चार खण्डको शिवलाल श्रेष्ठले गरेको नेपाली अनुवाद।)