बनाउँदै गरेको घरबाट खसेका कामदारको मृत्यु
भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिका ६ स्थित कुन्डोलमा बनाउँदै गरेको घरबाट खसेर घाइते भएका एक कामदारको गए राति मृत्यु भएको छ।
स्थानीय ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेका काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ घर भई हाल कुण्डोलमै बस्ने ४० वर्षीय प्रेम मगरको मृत्यु भएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बिहीबार काम गर्दागर्दै मगर अचानक घरको ३ तलामाथिबाट लड्न पुगेका थिए। घरबाट खसेर गम्भीर घाइते भएका उनलाई सहकर्मी कामदारसमेतको सहयोगमा तत्कालै उपचारको लागि मध्यपुर अस्पताल लगिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
मध्यपुर अस्पतालमै उपचारको क्रममा गए राति उनको मृत्यु भएको उपरीक्षक गिरीले बताए। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
१