‘खोप खरिद प्रक्रिया अघि बढ्यो’

‘खोप खरिद प्रक्रिया अघि बढ्यो’

हरि शर्मा। परासी, दिनेश गौतम। काठमाडौं

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो चरणको खोप अभियान सञ्चालन गर्न सरकारले खरिद प्रक्रिया अघि बढाएको बताएका छन्।

‘भारतसँग कुरा नगरी जसरी एकै पटक अनुदानमा खोप आयो। त्यसैगरी खरिद प्रक्रियाबाट पनि कसैलाई नभनी आउँछ। त्यसका लागि सरकारले आधार खडा गरेर प्रक्रिया अघि बढाइसकेको छ’, पश्चिम नवलपरासीको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा सञ्चालित खोप अभियानको निरीक्षण गर्न परासी पुगेका मन्त्री त्रिपाठीले शुक्रबार पत्रकारसँग भने। पत्रकारले खोप खरिद प्रक्रिया कहिले सुरु हुन्छ भनी मन्त्रीसमक्ष जिज्ञासा राखेका थिए।

मन्त्री त्रिपाठीले खोप व्यावसायिक, प्रशासनिक र कूटनीतिक ढंगले कसैले कसैलाई नदिने बताए। त्यसका लागि राजनीतिक प्रयत्न चाहिने र सरकार त्यसमा लागिपरेको उनको भनाइ थियो।

उनले दोस्रो चरणको अभियानमा ५५ वर्षदेखि माथिको उमेरसमूहका व्यक्तिलाई खोप लगाइने जानकारी दिए। उनका अनुसार कोरोना भाइरसबाट सबैभन्दा बढी यही उमेरसमूह प्रभावित देखिएको छ। त्यसपछि क्रमशः अरू उमेरसमूहमा लगाइने उनले बताए।

उनले अभियान निरन्तर चलिरहने जानकारी दिए। जिल्ला अस्पतालमा केन्द्रित अभियान दोस्रो चरणमा १६ हजार बढी खोप केन्द्रबाट सञ्चालन गरिने उनको भनाइ थियो।

उनले ७२ प्रतिशत जनसंख्या खोप योग्य रहेको र अहिले आएको खोप करिब ३ प्रतिशतलाई पुग्ने उल्लेख गरे। अरू २० प्रतिशत जनसंख्यालाई पुग्ने गरी कोभ्याक्सले दिने प्रतिबद्धता गरेको उनले सुनाए।  

यसैबीच, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खरिदलगायत प्रक्रियाको जिम्मेवारी स्वास्थ्य सेवा विभागलाई दिइएको जानकारी दिएका छन्। सस्तोमा चाहिए जति दिन सक्ने, गुणस्तरीय खोप नै पहिलो प्राथमिकतामा रहेको प्रवक्ता डा. गौतमको भनाइ छ।

विभाग स्रोतका अनुसार खोपमा जीटुजी (सरकार–सरकार) र खोप उत्पादक कम्पनीसँग सीधै खरिद गर्नेबारे छलफल भइरहेको छ। तर, प्रवक्ता डा. गौतमले भने, ‘कोरोनाविरुद्धको खोप सरकारले नभई सम्बन्धित मुलुकको कम्पनीले उत्पादन गर्ने भएकाले सीधै खरिद गर्ने पनि हुन सक्छ।’ विभाग स्रोतले जीटुजी पनि प्राथमिकतामा रहेको र उच्च तहबाट पहल भइरहेको बतायो। त्यस्तै सार्वजनिक खरिद प्रक्रियामा जाने विकल्प पनि छ।

भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोजबाट खोप अभियान अघि बढाइएको छ। यसले ४ लाख ३० हजार व्यक्तिलाई  पुग्ने  अनुमान मन्त्रालयले गरेको छ। सार्कमा खोप लगाउनेमा भारतपछि नेपाल दोस्रो मुलुक भएको छ।

प्रधानमन्त्रीको प्रतिबद्धता व्यक्त हुनुका पछाडि केही आधार रहेको विभागका अधिकारी बताउँछन्। ‘केही आधार भएरै प्रधानमन्त्रीज्यू बोल्नुभएको होला। उच्च तहमा राजनीतिक एवं कूटनीतिक पहल भइरहेको छ’, स्रोतले भन्यो।

खोप खरिद गर्न ४८ अर्ब रकम लाग्ने अनुमान गरिएको छ। २ देखि ८ डिग्री सेन्टिग्रेटमा भण्डारण गर्न सकिने खोप भए उपयुक्त हुने खोप शाखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.