उषाको सिउँदोमा इन्द्रधनुष

उषाको सिउँदोमा इन्द्रधनुष

असोजको आधाउधी। दसैंको फूलपाती आउन आठ दिन मात्रै बाँकी छ। साइबेरियन चराजस्तै प्लेटफर्ममा परदेशीको भीड देखिन्छ। जति दुःखी छन् परदेशी आफन्तबाट टाढिएकोमा, त्यति नै खुसी पनि छन् दसैं नजिकिएकोमा।

२७ सेप्टेम्बर २०१९। साँझ ९ बजेको थियो। कृष्ण अविरल र म एनजीपी प्लेटफर्ममा गुवाहाटी एक्सप्रेसको प्रतीक्षामा थियौं। एसवान को ३४ र ३५ नम्बरका हाम्रा स्लिपर रंगियासम्मका लागि थिए। पर्सिपल्ट असममा अनुपम चिन्तन मञ्चले पहिलो वार्षिकोत्सवमा पुस्तक विमोचन र अभिनन्दन गर्दै थियो। ‘सर, चढ्नुभयो ?’, मदन थापाले सोध्नुभएथ्यो। झ्यालबाट बाहिर हेरें। जूनसँग पोखिएका शीतका थोपाहरूले धर्तीका पीडा, वेदना र दुःखका आँसुका थोपाहरूसँग साइनो गाँसिरहेका थिए। रातको मौनतामा सिट्ठी मार्दै रेल दौडिरह्यो, रातभरि नै।

‘मदन सर, गुड मर्निङ’, मोबाइल सेटबाटै अभिवादन गरें। ‘मर्निङ सर, अघि निदाउनुभएको रहेछ। रंगिया आइपुग्न लाग्यो है’, उहाँले फर्काएको उत्तरसँगै रेलको गति कम हुँदै गयो। बिहानको बादल उघ्रिएर कलिलो घामले चियाउन आँटेको दृश्य असाध्यै रमाइलो देखियो। प्लेटफर्मको होर्डिङ बोर्डले रंगियाको संकेत गर्‍यो। रेललाई बिदा गर्दा बिहानको ६ बजेको थियो। हामीसँग लगभग दुई घण्टा समय छ। रंगियालाई करिब एक घण्टा नियाल्यौं। अबचाहिँ टिकट खुल्ने बेला भयो। लाग्यौं टिकटघरतिर।

‘हमलोगोको तेजपुर जाना हे’, मैले भनें। ‘आज तेजपुरका ट्रेन नही हे।’ टिकटघरबाट एक जनाले भने। ‘क्यूँ ?’ मैले सोधेँ। ‘आज सन्डे हे न।’ अब हाम्रा लागि एउटै विकल्प रह्यो, बसको यात्रा। बाटो र जीवनबीच घनिष्ठ सम्बन्ध रहेछ। जीवनले बाटो खोज्दो रहेछ र बाटोले जीवनलाई सुन्दरताको पाटोतिर डोर्‍याउँदो रहेछ। जति हिँड्यो त्यति तन्किँदो रहेछ बाटो। मिसन विश्वनाथ चारआलीसम्म। ६० किलोमिटरको दूरी पार गर्दा दिनको एक बज्यो। मदन सर गाडी लिएर बस स्टेसनमा पर्खिरहनुभएको रहेछ।

चारआलीको सुन्दरतालाई कुहिराको घुम्टोले आफूभित्र लुकाउन खोजे पनि गोलिया गाउँको मनमुटु छाम्न भ्यायौं। अनेकौं किंवदन्ती र केही यथार्थमा हुर्केको गाउँ सांस्कृतिक रूपले पनि समृद्घ रहेछ। घर पुग्दा जून टहटह लागिरहेको थियो। आँगनवरिपरि फूलिरहेका फूलले रंगीचंगी बर्को उठाएर हामीसँग आँखा जुधाइरहेका थिए।

चारआलीको सुन्दरतालाई कुहिराको घुम्टोले आफूभित्र लुकाउन खोजे पनि गोलिया गाउँको मनमुटु छाम्न भ्यायौं। अनेकौं किंवदन्ती र केही यथार्थमा हुर्केको गाउँ सांस्कृतिक रूपले पनि समृद्घ  रहेछ। असमको चारआली टेकेर समन्वय साधक हरि गजुरेलको तपस्या स्थल नटेकी फर्किए असम आएको के सार्थकता होला र ! हरि सरको घर पुग्दा जून टहटह लागिरहेको थियो। आँगनवरिपरि फूलिरहेका फूलले रंगीचंगी बर्को उठाएर हामीसँग आँखा जुधाइरहेका थिए। भाषासाहित्यका क्षेत्रमा हरि सरसँग भएगरेका सन्लाप जीवन्त भए।

कार्यक्रम निर्धारित समयमै भयो। ‘सार, चा लिनुस्न।’ स्टेजमा मेरोपछाडिबाट आवाज आयो। ‘खै खै, फोटो उठाउनु पर्‍यो’, दीपक गजुरेल स्टेजअगाडि उभिएर भन्दै हुनुहुन्थ्यो। सार, चा आदि शब्द सुन्दा अनौठो लागिरह्यो। हामी सर भन्छौं, यता सार। हामी चिया भन्छौं, यता चा। हामी फोटो खिच्नु भन्छौं, यता फोटो उठाउनु। हामी काँचो सुपारी भन्छौं, यता तामुल। हामी रूख भन्छौं, यता गछ। हामी आसाम भन्छौँ, यता असम अझ अखम। यता अंग्रेजी शब्दको ‘अ’ उच्चारण हुने पहिलो अक्षर ‘आ’ र ‘स’चाहिँ ‘ख’ उच्चारण हुँदो रहेछ। हामी फस्ट भन्छौं, यता फास्ट।

हामीलाई मदन सर, अर्जुन निरौला सर र कृष्णनील कार्कीले छोड्नुभएकै थिएन। अथवा हामीले छोडेनौं। ३० तारिक बिहान पानी पर्दै छ, स्यारस्यार। घाम कस्ता छन् देखिएकै छैनन्। धुम्म छ आकाश, गुम्म छ विश्वनाथ। स्वीकार्य छैन सायद उसलाई हाम्रो आगमन। उषा पहाडबाट ब्रह्मपुत्र नदीमा डुंगाबाटै जाल हानिरहेका माझीहरूको दृृश्य नियाल्दै किनारैकिनार खुब हिँड्यौं हामी। जे होस्, खण्ड–खण्ड छ हाम्रो यात्रा। आफ्नै जीवनजस्तै। हाम्रो हिँडाइ एकसरो छैन। हामी घरि कतै सुस्ताउँदै, घरि कतै अल्झिँदै हिँडिरहेका छौं।

गमिरीमा राम सर प्रतीक्षा गरिरहनुभएको थियो। 

असमेली भाषा, साहित्य र जनजीवन हेर्न हिँडेका हामीसँग परीक्षा लिँदै थियो बसले। खाल्डाखुल्डी बाटोमा बस नाचिरह्यो। ऊसँगै हामी पनि उफ्रिरह्यौं। नाच्ने र उफ्रने 

क्रममा ४० किलोमिटर दूरी पार गरिएछ। गमिरी चोकमा धानका गाँजहरू संसार हेर्ने चाहनाले हुर्किरहेथे हलहली। 

सोचें, नेपालमा जस्तो गाउँको मायामा रम्न नसक्नेहरू परदेशी भूमिमा जीवन बिताइरहेका युवा यहाँका होलान् कि नहोलान् ? तिनीहरूको सम्झनामा गाउँघरका आफन्त पिरोलिइरहेका होलान् कि नहोलान् ?

घामले पश्चिमतिर पुछपाछ गर्न थालेको थियो, राम दाहालको घर पुग्दा। अक्टोबर १। अबको यात्रा उत्तर लखिमपुर हुँदै गोगामुखसम्म थियो। मिसामारीबाट ट्रेन समात्दा लाग्यो, मानिसभन्दा गतिशील रेलहरू। एउटै पट्रीमा बारम्बार हिँडेर कहिल्यै नथाक्ने। जीवनको गति पनि रेलजस्तै नथाक्ने भइदिए कस्तो हुन्थ्यो ? मिसामारीबाट हेलेम, गोहापुर, तातीबाहार, उत्तर लखिमपुर हुँदै गोगामुख पुग्यौं। 

अझ सुवनश्री नदी पार गरेर बजार मास्तिरसम्म पुग्यौं। सुवनश्री बजार जहाँ मेरै पुर्खाको एउटा हाँगो हुर्किरहेकै छ। म पहिलो पटक पुगेको थिएँ। पदम भाइ हामीलाई लिन प्लेटफर्मसम्म आए। प्लेटफर्मबाट सुवनश्री बजारतर्फ पसारिएको कालोपत्रे सडकमा टुमटुममा कुदिरहेका थियौं। बजारै मास्तिरको घरमा पुग्दा दिनको २ बजेको थियो। पानी थामिँदै थामिएन। रातभर पानी परिरह्यो।

बिहान ७ बजेको छ। अझै पानी परिरहेकै छ। दिउँसो २ बजेतिर पानी थामियो। अविरल वर्षाले जलाम्य बनाइसकेको रहेछ। सुवनश्री नदीका बुच्के छपडीहरू आत्तिइरहेका थिए। कालो बादल शिरमाथि बाक्लिरहेको छ। खोलापारि चराहरू उड्दै बस्दै भुइँमा चर्दै छन्। एक हुल पानीहाँस काँ–काँ गर्दै आकाश नाप्दै उडिरहेका थिए। त्यहीँबाट इन्द्रधनुष उषाको सिउँदो रंग्याउन उठिरहेको थियो। सुवनश्रीको जीवनभोगाइ, लवाइखुवाइ, शारीरिक बनोट, कान्तिहीन अनुहार पत्तै नपाई बैंस सकिएको जस्तो लाग्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.