जीवन नै संगीत, संगीत नै जीवन

जीवन नै संगीत, संगीत नै जीवन

अचेल उनी त्रिपुरेश्वर महादेव मन्दिर वरपर भेटिन्छन्। कहिले मन्दिरको छानो कुदिरहेका मूर्तिकारसँग छलफल गरिरहेका हुन्छन् त कहिले मन्दिर निर्माणका लागि आवश्यक काठ खोज्न जंगल–जंगल भौतारिइरहेका हुन्छन्। पेसाले संगीत शिक्षक हुन्, काठमाडौं विश्वविद्यालयका प्रा.डा. लोचन रिजाल। कुशल गायक, संगीतकार, गीतकार तथा वाद्यवादक पनि। सारंगीमा वर्षौं नेपाली धुन खोतलिरहे।

कहिले नेवारी धिमेबाजामा नेपालीपन मिसाउने कोसिसमा हुन्छन् त कहिले अर्केस्टाको तालमा जिन्दगी खोज्छन् उनी। कहिले क्लासिकल गितारको भोकलसँगै सहरबजार भौतारिन्छन्। उनलाई नेपाली संस्कृतिभित्र भएका अनेकौं संगीत पहिल्याउनु छ। नेपाली संगीतको पद्धति, लय र शैली निर्माणमा काम गर्नु छ। गीतका शब्दजस्तै कर्णप्रिय बोल्छन् उनी। संगीतको तालजस्तै जिन्दगी बाँच्छन्।

काठमाडौं विश्वविद्यालयको सहकार्यमा त्रिपुरेश्वर महादेव मन्दिरको पुनर्निर्माण भइरहेको छ। उसो त यो मन्दिरको ऐतिहासिक महत्त्व पनि छ। करिब २ सय वर्षअघि रानी ललित त्रिपुरासुन्दरीले श्रीमान् रणबहादुर शाहको सम्झनामा त्रिपुरेश्वर महादेव मन्दिरको स्थापना गरेकी थिइन्। यो अहिले पनि त्रिपुरेश्वर चोकनजिक छ, जुन शाहकालमा बनेको अन्तिम मल्लकालीन सम्पदा हो। यहाँ तान्त्रिक विधिद्वारा पूजापाठ हुने गर्छ। पशुपतिनाथ मन्दिरमा जस्तै यहाँ पनि भट्ट पुजारी हुने गर्छन्। पछिल्लो समय जीर्ण हँुदै गएको यो मन्दिर ७२ सालको भूकम्पपछि पूर्ण रूपमा ध्वस्त भयो।

सोही मन्दिर निर्माणमा लोचन रिजालको समूह खटिइरहेको छ। उनको सपना छ, हाम्रा संस्कृतिभित्र भएका संगीतलाई भावी पुस्तामा हस्तान्तरण गर्न एउटा प्लेटफर्म निर्माण होस्। संगीतमा जीवन अर्पण गर्नेहरू, साधना गर्नेहरूका लागि साधना स्थल बनोस्। यही ध्याउन्नमा लागेका रिजालको समूह त्रिपुरेश्वर मन्दिर परिसरमा काठमाडौं विश्वविद्यालयको संगीत विभाग स्थापनामा लागिपरेको छ।

नेपालको भौगोलिक परिवेश जस्तै नेपाली संस्कृति र संगीत पनि छरिएर रहेको बताउने रिजाल नेपालभित्र बसोबास भएका विभिन्न जात, धर्म, समुदायभित्रैका संगीतले मानिसको दिनचर्या, जीवनशैलीलाई जोडेर राख्ने विश्वास गर्छन्। उनी संगीतलाई महसुस गर्छन्। भन्छन्, ‘गीत गाउनु र वाद्यवादन बजाउनु मात्रै नेपाली संगीत होइन। संगीत अमूर्त चिज हो। यसलाई सुन्न, महसुस गर्न सकिन्छ तर देख्न सकिँदैन। मानिसको नजिकको साथी, मनसँग साक्षात्कार गर्ने निकै प्रभावकारी माध्यम हो, संगीत। संगीत विशुद्ध सिर्जनात्मक पक्ष हो।’

संगीतको शक्ति एउटा आवाज, भाषा वा बोली जस्तै हो। यसमा इमोसन र भावना हुन्छ। संगीतको स्केल, धुन, पद्घति, शैली निकै बेग्लै हुन्छ; जसलाई महसुस गर्न सकिन्छ, शब्दमा भन्न सकिँदैन। अद्भुत आनन्दमय हुन्छ सांगीतिक दुनियाँ।

आजसम्म नेपाललाई चिनाउने नेपाली संगीत भनेर छुट्टै पहिचान हुन नसकेको बताउने रिजाल भन्छन्, ‘हामीसँग हाम्रा संस्कृतिभित्र मिठासयुक्त संगीत छन्। यसको अध्ययन अनुसन्धान र व्यापक प्रयोग हुन पाएको छैन। नेपालको संगीतको विशेष पद्धति निर्माण हुन सकेको छैन। आफ्नै भाका, शैली र गायकी छ तर पद्धति छैन।’ नेपाली भाषामा बनेका गीत र संगीतलाई नेपाली संगीत भनेको पाइन्छ तर कुनै भाषाको गीत विशेषले नेपाली संगीतको मर्म बोक्न नसक्ने उनको दाबी छ। जसरी कोरियन संगीत, ज्याज म्युजिक, इन्डियन क्लासिकल संगीतलगायत विभिन्न देश र भाषाका अलग पद्धति छ। नेपाली संगीत भन्नासाथ बुझिने संगीत पद्धति निर्माण हुन आवश्यक छ।

भन्छन्, ‘भारतमा भातखण्डे र पलुस्कारजस्ता व्यक्तिहरूले शास्त्रीय संगीतको पद्धतिको विकास नगरेको भए बाजाहरूलाई स्टार्डडाइज नगरेको भए इन्डियन शास्त्रीय संगीतको पहिचान हुने थिएन। नेपालको पनि विभिन्न संस्कृतिभित्रको संगीतलाई कनेक्सन र हस्तान्तरण गर्न जरुरी छ।’ उनको सपना भनेकै अर्थपूर्ण काम गर्नु हो, जुन संगीतसँग जोडिन्छ। भन्छन्, साधना हो संगीत। मेरो सपना, विपना, रहर, अझ भनौं जिन्दगी हो संगीत। बाँच्ने आधार पनि संगीत नै हो।

एक दशकअघि एल्बम, गीत, कम्पोज, स्टेज कार्यक्रममा जमेका रिजालले उद्वेग, कोमा, मानिस, काँचो आवाज नामक एल्बम सार्वजनिक गरे। पछिल्लो समय संगीतको सागरलाई खोतल्ने क्रममा छन्। भन्छन्, संगीतरूपी महासागरबाट केही बँुद मात्रै नेपाली संगीतलाई दिन पाए पुग्छ। बौद्धिक प्लेटफर्ममा संगीतलाई कोर्ने अभियानमा छन्। आफूलाई म्युजिक आर्टिस्ट भन्न रुचाउने रिजालको जिन्दगीका धेरै समय संगीतकर्ममै बितेको छ। संगीतले उनलाई सोच्ने शैली दियो। फरक तरिकाले जिउन कला दियो। उनले जीवन बुझेकै संगीतको अध्ययनपछि मात्रै हो।

संगीतको शक्ति एउटा आवाज, भाषा वा बोली जस्तै हो। यसमा इमोसन र भावना हुन्छ। संगीतको स्केल, धुन, पद्धति, शैली निकै बेग्लै हुन्छ; जसलाई महसुस गर्न सकिन्छ, शब्दमा भन्न सकिँदैन। अद्भुत आनन्दमय हुन्छ, सांगीतिक दुनियाँ। उनको बुझाइ यस्तै छ। केही समयअघि संगीत बजाउने भनेको गायक संगीतकारको काम हो भन्ने धारणा उनको छ। संगीतको अध्ययनले सम्पदा र अनुसन्धानतर्फ आकर्षित भए। यसमा विभिन्न दृष्टिकोणबाट अध्ययन अनुसन्धान गर्नुपर्ने उनको बुझाइ छ।

धिमे बजाउने एउटा लय छ। हृदमिक प्याटन र नियम पनि। हरेक सांस्कृतिक संगीतको बेग्लै पद्धति छ। हरेक वाद्यवादनको महत्त्वपूर्ण प्याटन छ। सिस्टमबिना केही चल्दैन। नेपालका गन्धर्वले नेपालको इतिहासलगायत घटनाको मुचुल्का पनि गीत बनाएर गाउँदै हिँडे।  दुर्भाग्य भन्नुपर्छ, गन्धर्व गीतको ओरिजिनल पाटो पुराना पुस्तासँगै लोप हुने स्थितिमा छ। नेपाली संगीतको महत्त्वपूर्ण हिस्सा ओगटेका गन्धर्व भाका जोगाउन आवश्यक छ। रिजाल यस्तै सोचमा छन्।

अहिलेसम्म आयातीत संगीतलाई नै मिश्रण गरिरहेका छन् उनी। संगीतमा पनि विदेशी शैली र लय नै आयात गरिरहेकोमा उनी चिन्तित छन्। यदाकदा मौलिक काम नभएका भने हैनन् तर नेपाली मौलिक संगीत बनेकै छैन। हुन त धर्मराज थापा, कुमार बस्नेतलगायतले नेपाली लोक संगीतमा केही काम गर्न खोजेका हुन् तर पूरा हुन सकेको छैन।

सांगीतिक बौद्धिकताका आधारमा काम पाइने वातावरण नेपालमा नभएकोमा उनी दुःखी छन्। विश्वविद्यालयमा ज्ञान भरेर छाड्यो भने धेरै काम गर्न सकिन्छ भन्ने बुझेका उनी भावी पुस्तामा संगीत हस्तान्तरण गर्न प्रयासरत छन्। काठमाडौं विश्वविद्यालय र अमेरिकाको विश्वविद्यालयको संयुक्त अध्ययनमा ‘ट्रान्समिसन अफ म्युजिक इन नेपाल’ विषयमा पीएचडी गरेका उनको केस स्टडी ‘द गन्धर्व ट्रेडिसन’ थियो। 

मुलुकभरका १२५ जातजातिकै सांगीतिक सम्पदालाई उचित प्लेटफर्म दिन जरुरी देख्छन् उनी। नेपाली संगीतको भविष्य नौलो मात्रै होइन, सुनौलो पनि देखिरहेका उनी बजारमा आएका गीतहरूले नै नेपालको अहिलेको समयलाई बोक्ने गीत हुन भन्नेमा आशावादी छन्। भन्छन्, ‘श्याम नेपालीहरू अमेरिकाको हार्वर्ड युनिभर्सिटीमा नेपाली संगीत पढाएर विश्व बजारमा नेपाली संगीत सिकाउँदै छन्। यही क्षेत्रमा निकै लगनशील भएर काम गर्ने अनेकौं स्रष्टा छन्। संगीतमा जीवन अर्पण गरेकाहरू हरेक दिन केही न केही खोजिरहेका छन्। एक दिन हामीले खोजेको सांगीतिक पद्धति निर्माण हुनेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.