‘गे’–यात्रा

‘गे’–यात्रा

यात्रामा अनेकौँ मोड आउँथे, जान्थे। तर, यो कुहिनेटोमा स्टेरिङ मोड्नै लाग्दा एकाएक मन भुक्न लाग्थ्यो। बडेमानको ट्राफिक बोर्डमा लेखिएको एचओएलएमएस। होल्म्स। एल साइलेन्ट अर्थात् जनरल होम्स ड्राइभ। अंग्रेज कैदी कामर्जी भाषा। अजी स्ल्याङ। ‘फक मी डेड’।

इङ्लिसम्यान म्याथ्यु फ्लिन्डर्सको ‘अस्ट्रेलिया’। क्याप्टेन जेम्स कुकको ‘न्यु साउथ वेल्स’। इन्टर मोडल ट्रान्सपोर्ट र कन्टेनर टर्मिनल। कार्गो जहाज। फुल्ली स्वचालित ग्रैन्ट्री क्रेनदेखि छत्तीसचक्के ट्रकका दृश्य मस्तिष्कले खिच्दै थिए। सुरुमा उसलाई दायाँतर्फ देखिएका झाडीदार बुट्यानको कारण बोटनी नामकरण गरेजस्तो लागेको थियो तर ‘बोटनी बे’को ठूलो बोर्ड देख्नेबित्तिकै ‘पोर्ट बोटनी’ कहलिइनुको राजचाल पायो। सिड्नीको मुटु ‘पोर्ट बोटनी’।

नदीकिनारमा जन्मिएका मेसोपोटामिया, इजिप्सियन, चिनियाँ एल्लो रिभर र सिन्धु घाँटीका सभ्यताभन्दा हजारौं गुणा द्रुत गतिमा झ्यागिँदै गरेको अर्को सभ्यता। एक सुनामीले च्यातिने मानव विकास। आदिवासीलाई लुटेर समुद्री डाँकुले डिजाइन गरेको आधुनिक सभ्य र भव्य सहर। तर किन भविष्यको इतिहासमा बिलाएर जान सक्ने अर्को मानव कल्टिभेसनलाई समुद्रले आफ्नो सुविधाजनक गोद झुलामा झुलाउँदै हुर्काइरहेको थियो ? उसले उल्टोपाल्टो सबै कोण केलाउन खोज्यो। प्राकृतिक लीलालाई गहिरिएर हेर्‍यो। मन्द बतासले समुद्र किनारमा छचल्क्याएको छालबाहेक कुनै उत्तर भेटेन।

अन्तर्वार्ता थियो तर मनमा यस्तै अनेकौँ बकम्फुसे कुरा दौडिरहेका थिए। यस बखत उसलाई सफलता र असफलता दुवैले पछ्याइरहेको थियो। केही पलमै एकलाई आत्मसात् गर्नुपर्ने बाध्यता हुन आउँथ्यो। कि त ऊ खुसीको पोखरीमा पौडन्थ्यो वा दुःखको दलदलमा। परिणाम जे होस्, अन्त्यमा कर्मको कर्ता ऊ नै हुनेमा पूर्ण जानकार थियो।

बाई–फोबिया बोकेको हाम्रो समाजले ए–सेक्सुअल, बाई–क्युरियस, बाई–सेक्सुअल, बाई–जेन्डर, पान सेक्सुअल जस्ता भोक्याबुलरीको शिक्षा कहाँ बाँड्न चाहन्छ त ? स्टेरियोटाइप्ड सोसाइटी ! मान्छे अघाउँछ प्रिय पार्थ। पुरुषमन, स्त्रीमनदेखि लगभग भरिन लाग्यो। 

एक्कासि पछिल्तिरबाट हर्न मार्दै हुइँकिएर आएको कार राइट लेनमा समानान्तर दूरी बनाएर कुद्न लाग्यो। कारको झ्याल खुल्यो र ऊतर्फ फर्किएर ड्राइभर बर्बराउन थाल्यो। बगर अफ ब्लडी एसियन। मन एक्कासि अन्तर्वार्ताबाट हाम्फाल्दै सडकमा आइपुग्यो। फोकटको हेपाइ। बेताल फाउमा आएको गाली। ऊभित्र सुतिरहेको गोर्खेपनलाई एकाएक जगाइदियो। मस्तिष्क शून्य भयो। आफ्नो कारलाई लगेर त्यो गोरे अहंकारीको कारमा तत्क्षण जोताइदियो। तत्पश्चात् खैरेको कार तीन फन्का घुम्दै बाटोपारिको झाडीमा पल्टियो। उसको गाडी अघिल्तिरबाट आइरहेको ट्रकमा ठोक्किन पुग्यो। डरलाग्दो बीभत्स दुर्घटना !

भीष्मपितामहलाई छेडेका अर्जुनका वाणसरि टुक्रिएका सिसा यत्रतत्र उसको शरीरमा गाडिन लागे। पीडाले शरीरलाई घेर्न लाग्यो। तैपनि हृदयमा अनौठो सन्तुष्टि भरियो। आत्मघातीप्रति घृणा भरिएको मन उनीहरूको सम्मानमा फक्रन लाग्यो। अन्तिम पटक अफगानी, सिरियाली, इराकी तथा अन्य सम्पूर्ण आत्मघातीलाई पुष्पबर्सातसहितको गौरवशाली सेल्युट ठोक्दै आँखा चिम्लँदो भयो। चौतर्फी आइरहेका इमरजेन्सी वाहनका कर्कस आवाजहरू यत्रतत्र गुञ्जायमान हुन लागे। उता ऊ भने बिस्तारै मौन शून्यतातर्फ लम्कन लाग्यो। सन्नाटा...। कोसीको किनार, माईको बगर वा सामुद्रिक तट। छुट्याउन सकेन तर एक भद्र आकृति ऊतर्फ आउँदै गरेको देख्यो।

अर्धनारीश्वर। नियालेर हेर्‍यो। यो स्वरूप अर्धनारीश्वरको नभएर अर्धपुरुष–अर्धपुरुषले बनेको पूर्ण पुरुषाकृति थियो। द्विभाषित मुखाकृतिको एक पाटो रौंले भरिएको म्यास्कुलिन चेहरा र अर्को पाटो सुन्दरताले भरिएको फेमिनिन पुरुष। अति आकर्षक। पञ्चहाते रोमान्टिक एन्ड्रोजिनी। एक हातमा छेडिएको स्त्री शिर झुन्ड्याएर शालीन मुद्रामा उभिएका ‘गे’ देवको विराट् रूप। 

धन्य देव धन्य। आऊ, मेरो पार्थ। ‘गे’ देवले सामान्य रूप धारण गर्दै उसको हातलाई च्याप्प समाउनुभयो। कहाँ देव ? ऊ प्रश्नसँगै निःसंकोच हिँड्न लाग्यो। रात्रिकालीन झिलिमिली थियो। ठाउँ चैं ठ्याक्कै ठम्याउन सकेको थिएन। अदनान मोहम्मद। हाउ आर यु मेइट ? उसले मुट्ठी पारेको हात अदनानसँग ठोकायो। उता अदनानले ‘गे’ देवलाई चिनेन वा चिन्न चाहेन। अदनान ‘गे’ देवतर्फ फर्किएर मात्र मुस्कुरायो। त्यसपछि ऊतर्फ हेर्दै बोल्यो।

‘डी फ्याक्टो रिलेसनसिप माइग्रेन्ट भिजामा।’ यति भन्नासाथ देशी केटो भीडमा कता चिप्लियो, चिप्लियो। आकाशतर्फ फालिएको रङ उडेसरि अदनान मोहम्मद ठाउँको ठाउँ बिलायो। देव, उसले के भनेको ? किन तिमी अदनानको बारेमा उत्सुक बन्यौ, वत्स ? उसको यस्ता वचन सुनेर ‘गे’ देवको अनुहार आनन्द भरिएर आयो। विजय ध्वजासहितको तेजिलो आभा वृत्त बन्दै शिरमण्डलामा घुम्न लाग्यो। खुसी हुँदै गेवता बोल्न लाग्नुभयो।

ल सुन मेरो प्रिय। अदनान मोहम्मद एकाध वर्ष पहिला धार्मिक अतिवादी लादिएको देश बंगलाबाट यहाँ आइपुगेको थियो। सामाजिक अवस्था जस्तो भए पनि केटो लायकदार र होनहार थियो। स्कुलमा राम्रो छात्रमा गनिन्थ्यो। अदनानलाई ‘वाह, कस्तो ठिटो’ नभन्ने मानिस भेटिँदैन थिए। थोरै मस्तीखोर अनि धेरै जेन्टलम्यान।

मस्तीखोरीले उसलाई बिनाअनुशासित देशी युवा ग्याङको सदस्यता दिलाउन पुग्यो। हुँदाहुँदै ऊ समस्त देशी युवा तालमै हुर्कन लाग्यो। आवारापन उसको पर्यायवाची बन्न थालेको थियो। विपरीत लिंगप्रतिको आक्रामकता। यौनिक हमलाको मामिलामा ऊ युद्धमा अपांग बनेको सैनिक झैं लरखराउन लाग्थ्यो। भनौं, सामूहिक हुल्लडबाजहरूले लड्की छेडछाडी गर्दा अदनान रिभर्स दौडन्थ्यो। केही न केही बहानामा जहिल्यै तर्कने गथ्र्यो।

एक दिन यही भिन्नपन अर्थात् ‘डी फ्याक्टो सेम रिलेसनसिप भिजा’ले उसलाई यहाँ ल्याइपुर्‍यायो। ऊ मेरो भक्ति गर्न लाग्यो। सप्ताहान्तमा पार्टी र ड्रग उसको जीवन हिस्सा बन्न पुग्यो। एकातर्फ ‘गे’ समुदायमा ऊ ‘भर्सटायल’ कहलिन लाग्यो। अर्कोतर्फ ऊ हजरत मुहम्मद र मुस्लिम समुदायसँग लुक्न थाल्यो। भाग्न थाल्यो। लुक्दै भाग्दै केही वर्ष यही पथमा यात्रा गरिरह्यो।

तत्पश्चात् के भयो भगवान् ? पश्चिमी नागरिकता पाएसँगै उसले आत्मसमर्पण गरिदियो। अन्ततः मेरा तस्बिरहरू च्यात्दै मेरै मूर्तिमा तुक्र्याइदियो। अनि बंगला गएर एक सुशील कन्यासँग दाम्पत्य जीवनमा बाँधियो। गेदेवको अनुहार मैन पग्लिएसरि पग्लन लाग्यो। देव ! देव ! ऊ कराउन लाग्यो। ही इज अलाइभ। माउथ टु माउथ कृत्रिम श्वाससहित सी पीआर दिँदै गरेको प्यारामेडिक चिच्यायो। ऊ होशमा आयो। ओठमा ओठ जोडिएको अवस्थामा प्यारामेडिकको बलिष्ठ बाहुबलमा उसका आँखा खुल्न पुगे। उसले त्यही आरामदायी अँगालोमा आनन्दको लामो श्वास लिँदै पुनः आँखा चिम्लियो।

देव। एकै क्षण। कृपया, पर्खनुहोस्। उसको भक्ति र वन्दनाले यस पटक काम गरेन। गेवता फटाफट हिँड्न लाग्नुभयो। उहाँ एक पटक पनि फर्कनुभएन। हेर्दाहेर्दै विशाल भीडमा मिसिनुभयो। मार्डी ग्रा परेड। अक्सफोर्ड र क्राउन स्ट्रिटको संगम। ‘त्रिवेणीघाट ऋषिकेश’ होस् वा ‘होली ल्यान्ड हेब्रोन’ होस्। अथवा ‘हज को लागिमक्का’ समतुल्य एलजिबिटी समुदायको पवित्र स्थान, ‘मार्डी ग्रा परेड सिड्नी’। काइल जैमिसन। हाउजगोइङ मेइट। आफ्टर लङ टाइम। उसले मुट्ठी पारेको हात काइलसँग ठोकायो। आर यु टप ओर बटम ? काइलको प्रश्न उसले बुझेन। ऊ अकमकिएको देखेर पुनः काइल बोल्यो, ‘ह्वाई यु आर हियर माइट ? आर यु गिभर अर रिसिभर ?’ उसले पटक्कै बुझेन।

यस्तैमा उसका आँखा भीडबाट उनीहरूतर्फ आउँदै गर्नुभएका उही गेवतामा पर्न गयो। समदेवमा दोस्रो पटक ऊसामु प्रकट हुनुभयो। तर, त्यो आगमनसँगै जादुगरको टोपीबाट हराएको परेवाझैं काइल अदनान शैलीमै हरायो। काइलको प्रश्नले उसको मथिंगल हल्लाइरहेको थियो। तिनै प्रश्नले टिलपिलाएका नयन आफ्ना देवतर्फ तेस्र्याउन लाग्यो। यी सम्पूर्ण घटनाका साक्षी, भूत र भविष्यका ज्ञाता त्रिकालदर्शी आज्ञा गर्न लाग्नुभयो, ‘हे प्रिय। ल सुन।’

क्रिस्चियन हज गर्न मक्का गएको कहिल्यै सुनेका छौ ? उसले छैन भन्दै टाउको हल्लायो। मुस्लिम कहिल्यै मकर नुहाउन गएको देखेका छौ ? यस पटक पनि उसले पुरानै शैलीमा टाउको हल्लायो। हिन्दु पूजा गर्न चर्च पसेको देखेका छौ ? उसको उत्तर दोहोरिँदै गयो। समदेव प्रश्नका जत्थाद्वारा परिस्थितिजन्य उपस्थिति कारण खोतल्दै ऊ यहाँसम्म आइपुगेको अवस्था उसैलाई जानकार गराउन खोज्दै हुनुहुन्थ्यो।

उहाँ पुनः मुस्काउँदै बोल्नुभयो, ‘तिमी कसरी यो पवित्र स्थानमा आइपुग्यौ ? अज्ञानताले नै किन नहोस् मन्दिरमा पस्ने मानिसमा कहीँ न कहीँ भक्तिको बीज हुन्छ।’ काइलले तिमीलाई म्याचो हौ कि पेडरैस्ट एन्जल पुरुष भनी सोधेको हो। म भाले हो देव। प्रकृतिले मलाई पुरुष भनेर चिन्छ। कस्तो पुलिंग शिष्य ? उहाँ मुस्कुराउँदै बोल्नुभयो। ऊ डराएर काम्न थाल्यो। आई कान्ट बी फ्यागट ? यो हुनै सक्दैन, देव। कृपया यो सब असत्य हो भनिदिनुहोस्।

बाइ–फोबिया बोकेको हाम्रो समाजले ए–सेक्सुअल, बाई–क्युरियस, बाई–सेक्सुअल, बाई–जेन्डर, पान सेक्सुअल जस्ता भोक्याबुलरीको शिक्षाकहाँ बाँड्न चाहन्छ त ? स्टेरियोटाइप्ड सोसाइटी ! मान्छे अघाउँछ प्रिय पार्थ। पुरुषमन, स्त्रीमनदेखि लगभग भरिन लाग्यो। स्त्रीहृदय पुरुषको छलकपटदेखि वाक्क बनिसक्यो। फेरि मानव जातिले आकर्षणको नयाँ गन्तव्य खोजेर के नै गल्ती गर्‍यो र ? म स्वयं घुम्न दार्जिलिङ दुई पटकसम्म जाऊँला। ल तिमी नै भन तेस्रो पटक म दार्जिलिङको सट्टा कालिम्पोङ किन नजाने ?

विज्ञानले समेत सत्यतथ्य जाँचका लागि परीक्षण गर भन्छ। फेरि परीक्षणपूर्व नै समाजलाई निष्कर्ष निकाल्ने अधिकार कसले दियो ? वृक्षसँग विवाह गरी सुत्न चाहन्छु। छिमेकीलाई केको चियोचर्चो ? प्रियवर, यी सब अज्ञानता हुन्। यहाँ ज्ञानलाई रटाइन्छ, घोटाइन्छ र परिवर्तनीय समयलाई एकल सत्यमा बाँध्ने असफल दुस्साहस गरिन्छ।

सत्य, सत्य हो जुन एक छ। अविनाशी ईश्वर मात्र 
सुरुआत र अन्त हो। नश्वरता निरन्तर संसार बोकेर बगिरहन्छ। युगहरू परिवर्तन हुन्छन्। यसरी प्रवाह हुँदै समाज ‘गे’ र ‘लेस्वियन’ वादको पथमा यात्रा गर्ने निस्केको छ। हेर्दै जाऊ, यसैगरी समाज बहँदै बहँदै निकट भविष्यमै ‘ऐ’ र ‘पे’ जस्ता नयाँ सेक्सुआलिटीको अवस्थामा प्रवेश गर्ने सम्भावना छ।

‘ऐ’ र ‘पे’ ? देव। कहिल्यै सुनेको छैन। बिस्तारै ‘गे’ देवको अनुहार सूर्यझैं चहकिलो हुँदै ब्ल्याक होलभित्र छिर्न लाग्यो। उहाँ डुब्न लागेको सुरजझैं उहाँको उपस्थिति मधुरो हुन लाग्यो। ‘गे’ देव। समदेव। पर्खनुहोस् मेरा गेवता। उसले हजारै अनुनय टक्य्रायो। उसका आँखाबाट अश्रु वर्षा हुन लाग्यो। बिस्तारै खुल्न लागेका उसका कर्णमा समाचारको एक लाइन गुञ्जियो। ‘ऐनिमल लभर्स एन्ड प्लान्ट लभर्स आर नि स्ट्राइक’।

डक्टर..., डक्टर... ! नर्स चिच्याइ। बिस्तारै उसका आँखा खुले। पीडाले दुखेको शरीरको यत्रतत्र पट्टी लागेको थियो। उसका आँखा झुन्डिरहेको स्लाइनको बोटलमा गयो, जुन जीवन बन्दै तप्लक तप्लक चुहिरहेको थियो। ड्यानियल प्रिन्स। दोस्रो पटक उसको नजर मेल नर्सको नेम ब्याजमा पुग्यो। उसका आँखा ड्यानियलको आँखामा मिल्न पुगे। ऊ हडबडाउन लाग्यो।

डन्ट वरी। यु आर नी सेफ हेन्ड। ड्यानियलले उसको निधार छाम्दै सोध्यो। हाऊ आर यु फिलिङ नाउ ? शक्ति क्षीण बन्दै गएको शरीर उठाएर ड्यानियल आई एम ओके म्यान भन्न खोज्यो तर बोली फुटेन। पन्ध्रौं सेन्चुरीको अन्त्यमा सेक्सपियरले विष पिलाएर मारेको रोमियोले एक्काइसौं शताब्दीमा पुनर्जन्म पाएर अचानक आफ्नी प्रेमिका जुलियनलाई भेटाए जसरी हेर्न लाग्यो।

आइ नो, यु आर मेट्रो सेक्सुअल बुचम्यान। ड्यानियल इसारामै बोल्यो। आई डन्ट नो, लिटल कन्फ्युज म्यान। ड्यानियलले मौन रूपमा रिसिभर भएको घोषणा गर्‍यो। 

जीवनभर स्त्रीवत्सल प्रेम गर्ने वाचासहित स्याहारसुसारमा जुट्न लाग्यो। यता उसको हृदय प्रेम ऊर्जाले भरिन लाग्यो। आफूभित्र बचेखुचेको सम्पूर्ण शक्ति एकीकृत गर्‍यो। घोर्ले नाति काखमा खेलाउने रहर बोकेर दिनहुँ फोन गर्ने आमासँग माफी माग्यो। अतृप्त स्त्री योनीको खाडलमा छटपटाइरहेकी श्रीमतीसँग जोडेको सात जन्मे सम्बन्धलाई टुंग्याउँदै ड्यानियललाई आफ्नो छेवैमा निमन्त्रित गर्‍यो। 

‘एस आएम म्याचो म्यागट’, म तिम्रो ख्याल राख्नेछु ड्यानियल। अझै नजिक आऊ। उसको आमन्त्रणलाई स्वीकारेको ड्यानियललाई बिस्तारै चुम्न लाग्यो। दुवैका ओठहरू जोडिए। आत्मिक मिलनको आनन्दमा दुवैले आँखा चिम्लिए। अन्तमा, तिनै ‘गे’ देवलाई स्मरण गरी तिनै गेवतालाई साक्षी राख्दै ड्यानियलसँग जन्मजन्म साथ निभाउने वाचासहित ‘गे’ यात्रामा निस्कियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.