‘समय–समय’का जनार्दन अर्थात् समष्टिगत शत्ति

‘समय–समय’का जनार्दन अर्थात् समष्टिगत शत्ति

‘राजनीतिमा लागेका व्यक्तिले जब काम पाउँदैन, त्यति बेला उसले वकालत गर्छ वा पत्रकारितातिर लाग्छ। मैले पत्रकारिता रोजें। यसमा कुनै विस्मात् छैन।’ यो पंक्ति तिनताका नाम चलेका एक स्तम्भकार तथा खारिएका राजनीतिकर्मी जनार्दन आचार्यका हुन्। 

त्यति बेला उनको स्तम्भ ‘समय–समय’ नपढी राजादेखि रंकसम्म कसैलाई सुख थिएन। साप्ताहिक रूपमा लेखिने त्यो स्तम्भ त्यति बेलाका सबैभन्दा चर्चित पत्रिका साप्ताहिक विमर्शमा प्रकाशित हुन्थे, जसको उनी आफू पनि एक हर्ताकर्ता नै थिए। तिनताका राजा र राजपरिवारका कुनै पनि सदस्यमाथि कानुनतः टीकाटिप्पणी गर्न पूर्णतः बन्देज लागेकाले उनीहरूबाट गैरवैधानिक रूपमा भएगरेका क्रियाकलापलाई सांकेतिक रूपमा उल्लेख गर्नु पर्दा भूमिगत गिरोह भन्ने चलन थियो। आचार्य र उहाँको समूह जसको नेतृत्व पत्रकार दाइ पदम ठकुराठीले गर्थे, मात्र लेख्न सक्ने हिम्मत राख्दथे। अरूहरूलाई त त्यति पनि लेखेबापत ६ महिनाको जेल अवश्यम्भावी थियो। त्यसैले पत्रकारिता गर्दा शब्द चयन र वाक्य गठनमा निकै सावधानी राख्नु पर्थ्यो।

अलिकति चिप्लियो कि ६ महिना जेल चलान ! त्यस्तो अवस्थामा जनार्दन आचार्यको वाक्यको गठन र शाब्दिक वाण अहिलेका जल्दाबल्दा लेखक खगेन्द्र संग्रौलाका लेखरचनासँग मिल्दोजुल्दो थिए। मेरो जीवनमा स्तम्भकार जनार्दनले किन यति ठूलो महत्त्व राख्छ भने पत्रकारिता उनकै सान्निध्यमा सिकेको हुँ। लेखरचना पनि लेख्न उनले नै सिकाएका हुन्। मेरो विद्रोही स्वभावको महत्तालाई उजागर गर्न सक्ने वातावरणको निर्माण उनले नै गरेका हुन्। 

२०४४ सालको दसैंको बेलाको त्यो क्षण याद गरिरह“दा दाजु जनार्दन आचार्यको व्यक्तित्व र लेखनशैलीले मेरो जीवनमा अमिट छाप पारेको छ। यद्यपि वैचारिक रूपमा हाम्रो सामीप्यता थिएन। त्यति बेला पनि निर्मल लामाले नेतृत्व गरेको भूमिगत रूपमा रहेका प्रतिबन्धित नेकपा (चौम)को सक्रिय सदस्य थिए। यो तथ्यको जानकारी हुँदाहुँदै उनको सदाशयता हेरेर लाग्थ्यो— जनार्दन आचार्य विशाल हृदयका व्यक्ति हुन्। जसले जोखिम मोलेर पनि प्रतिबन्धित नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई साप्ताहिक विमर्शमा लेख्न ठाउँ दिँदा रहेछन्।

दरबारको त्यो पक्ष र त्यसद्वारा पालितपोषित शरदचन्द्र शाहका गिरोहलाई ‘समय–समय’ स्तम्भले नांगेझार पारेपछि बौद्घिक क्षेत्र रमाउँथ्यो। वर्षौंदेखि शोषण, दमन र उत्पीडनमा परेका नेपाली बौद्घिक क्षेत्रका लागि दाजु जनार्दन आचार्यको ‘समय–समय’ स्तम्भ आशाको किरण भएर आउँथ्यो।

अत्यन्तै कष्टसाध्य र जोखिमपूर्ण जीवन बाँचिरहेका ती नेताहरूलाई लेखको पारिश्रमिक पनि दिन्थे। याद छ, मनमोहन अधिकारीको लेख सिंगो पेजमा प्रकाशित भएबापत ८ सय रुपैयाँ लिएर विराटनगरस्थित उनको घरमा पुर्‍याउन जाँदा उनकी श्रीमती नाङ्लोमा चामल निफनिरहेकी थिइन्। त्यति बेलाको ८ सय अहिले २० हजार बराबर हुन्थ्यो। सम्भवतः एउटा लेखको यत्तिको मोटो पारिश्रमिक दिने मिडिया हाउस अहिले पनि नेपालमा छैनन्।

२०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलनले जनमतसंग्रह गराउन बाध्य पारेपछि दुई दशकदेखि अविच्छिन्न रूपमा सत्ताको हर्ताकर्ता बनेका निर्दलीय पञ्चायती व्यवस्थामाथि प्रश्नवाचक चिह्न लाग्यो। त्यसैले राजा वीरेन्द्रले बहुदलीय व्यवस्था कि सुधारिएको पञ्चायती व्यवस्था (?) भन्ने दुईमध्ये एक विकल्प रोज्न जनमतसंग्रहको घोषणा गरे। सूर्यबहादुर थापाको नेतृत्वमा भएको जनमतसंग्रहको निर्वाचनमा सुधारिएको पञ्चायती व्यवस्थाले बाजी मार्‍यो र उनी फेरि प्रधानमन्त्री भए। सुधारिएको निर्दलीय पञ्चायत राजा महेन्द्रले प्रतिपादित गरेको निरंकुश व्यवस्थाभन्दा अलि खुकुलो भएकाले प्रतिबन्धित राजनीतिक दलहरूले चलखेल गर्न पाउँथे तर दरबारको एउटा पक्ष यसको सख्त विरोधमा थियो।

सुधारिएको पञ्चायती व्यवस्थाको प्रधानमन्त्री भएका सूर्यबहादुर थापाले त्यो अधिकार प्रयोग गर्न थालेपछि वर्र्षौंदेखि हैकम जमाएका दरबारको असहिष्णु पक्षले अविश्वास प्रस्ताव टेबुल गरेर थापालाई हटायो। तत्पश्चात् जनार्दन आचार्य, पदम ठकुराठी, हरिहर विरही, कमल जोशी सबै थापाकै पक्षधर भएकाले यिनीहरू दरबारको असहिष्णु पक्षबाट नराम्ररी प्रताडित भए। एक अर्थमा यिनीहरूको राजनीतिलाई अलग पार्न खोजियो। पञ्चर्‍यालीमा राजाको सवारी हुँदासमेत छिर्न नदिने परिस्थिति सिर्जना गरियो। जीवन बाँच्न पनि धौ–धौ पर्‍यो। सायद त्यसैले होला, बैकुण्ठ प्रधानको सम्पादनमा प्रकाशित भइरहेको साप्ताहिक मञ्चलाई यो समूहले हातमा लियो, जसको स्तम्भकार अहिलेका दिग्गज पत्रकार विजयकुमार थिए।

तर दरबारको जुन अनुदार पक्षलाई सूर्यबहादुर थापाले भूमिगत गिरोह नामकरण गरेका थिए, त्यो पक्षको जोडबलमा यिनीहरूको हातबाट साप्ताहिक मञ्च छिनियो। त्यसपछि देशका वरिष्ठ साहित्यकार÷व्यंग्यकार केशवराज पिँडाली सम्पादक रहेको साप्ताहिक विमर्श प्रकाशन गर्न थालियो। यसको स्तम्भ ‘समय–समय’ जनार्दन आचार्यले लेख्ने गर्थे। अन्तर्वार्ताकार हरिहर विरहीले योगी नरहरिनाथको अन्तर्वार्तामा सम्पादक पिँडालीसहित जेल जानु पर्‍यो। त्यसैले यो पत्रिकाको आफ्नै प्रकारको इतिहास बन्यो। नेपालको पत्रकारिताको इतिहासमा साप्ताहिक विमर्शले खेलेको भूमिकालाई संश्लेषण गर्ने हो भने वर्तमानले पनि कतिपय अर्थमा त्यसको छेउपुच्छर समाउन सक्दैन। साप्ताहिक विमर्श बन्द भएपछि यो समूहले बलदेव थापाको सम्पादनमा रहेको ‘नेपाली आवाज’ प्रकाशन गर्‍यो। 

अझै याद ताजै छ— जति बेला भूमिगत गिरोहको निर्देशनमा सम्पादक पदम ठकुराठीलाई टाउकोमा गोली हानेर जीवन र मृत्युको दोसाँधमा पुर्‍याइएको थियो; त्यति बेला विराटनगरको कोसी र भट्टराई पुस्तक पसलअगाडि जनसाधारणसँगै भूतपूर्व मन्त्रीहरू लाइनमा उभिएर पत्रिका किन्थे। उदेकलाग्दो कुरा के छ भने यो रेकर्डलाई आजका ठूला मिडिया हाउसले समेत भत्काउन सकेका छैनन्। त्यसमा दाजु जनार्दन आचार्यको ‘समय–समय’ स्तम्भले जुन बौद्धिकता प्रदान गरेको थियो, त्यसबाट राजा वीरेन्द्र पनि औधि प्रभावित थिए भन्ने कुरा यदाकदा सुनिन्थ्यो। भूमिगत गिरोहको सोच र त्यसले नेपाली राजनीतिलाई पार्न खोजेको दुष्प्रभावलाई दाजु जनार्दन आचार्यले जसरी र जुन शैलीमा भण्डाफोर गर्थे, त्यसले सांकेतिक रूपमा दरबारको त्यो असहिष्णु पक्षको मनस्थितिलाई खल्बल्याइदिन्थ्यो।

यसरी दरबारको त्यो पक्ष र त्यसद्वारा पालितपोषित शरदचन्द्र शाहका गिरोहलाई ‘समय–समय’ स्तम्भले नांगेझार पारेपछि बौद्धिक क्षेत्र रमाउँथ्यो। वर्षौंदेखि शोषण, दमन र उत्पीडनमा परेका नेपाली बौद्धिक क्षेत्रका लागि दाजु जनार्दन आचार्यको ‘समय–समय’ स्तम्भ आशाको किरण भएर आउँथ्यो। प्रतिबन्धित राजनीतिक दलका नेता तथा कार्यकर्ताका लागि त्यो स्तम्भ एउटा यस्तो संवादमूलक खुराक थियो; जो अहिले देशका धुरन्धर स्तम्भकारहरूले पनि प्रस्तुत गर्न सकेका छैनन्। किनकि त्यसमा ६ महिने शान्तिसुरक्षाको पासो झुन्डिएकै हुन्थ्यो। कतिखेर जनार्दनलाई जेलको हावा खुवाउँछन् भन्ने ठेगान थिएन। तर, वाक्य गठनमा माहिर उनको शाब्दिक जादुले पञ्चायतका पृष्ठपोषक बुझक्कडहरूका लागि दिल्ली दूरजस्तै कोसौं माइल टाढाको विषयवस्तु हुन्थ्यो।

विराटनगरका एउटा पढक्कर पञ्च, जो अहिले पनि छन्, तिनले जहिले पनि ‘समय–समय’ पढेर मलाई भन्थे, ‘रामरिझन सर, जनार्दन आचार्यको लेख पढ्नुभयो ?’ मुसुमुसु हाँसेर उनलाई जवाफ फर्काउँथें। किनकि उनको त्यो लेखले बौद्धिक तृप्तता मात्र होइन, त्यस्तै प्रकारको लेख लेख्न सक्छु कि सक्दिनँ भन्ने जिज्ञासाका साथ पढ्ने र अभ्यास गर्ने गर्थें। त्यस्तो त आजसम्म भइनँ तर आलेख कसरी लेख्ने भन्ने कुरा सिकाएर उहाँचाहिँ बित्नुभयो। 

विज्ञानको प्राध्यापक भएर पनि शिक्षणभन्दा लेखन मेरो पेसा बन्यो, जसको मूल जरो उनै हुन्। मेरा एक दर्जन पुस्तक, पुस्तिका र आधा दर्जन जति पत्रिकामा दाजु जनार्दनको अंश छ। यस अर्थमा कि कहिल्यै नेपाली भाषा नपढेको व्यक्तिलाई त्यो विधाको एउटा सिकारु बनाएर आज सदाका लागि टाढिनुभएको छ। जनार्दन अर्थात् जनताका रूपमा रहेको ईश्वर। नेपाली बृहत् शब्दकोषले यही अथ्र्याएको छ उनको नामको अर्थ। 

यसैगरी, मान्छेको रूपमा रहेको समष्टिगत शक्ति भन्ने पनि अर्थ जनार्दनको लगाइएको छ। ‘समय–समय’का उनै समष्टिगत शक्ति अर्थात् जनताका ईश्वरलाई सत्सत् नमन, प्रणाम र श्रद्धासुमन !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.